चन्दा संकलन गरेर १८ किमी सडक निर्माण

चन्दा संकलन गरेर १८ किमी सडक निर्माण

म्याग्दी। अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने वैकल्पिक सडक निर्माण भएको छ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठूलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो। यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवतजावतमा सुविधा पुगेको छ।

यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार-खिबाङ-शिख-चित्रे हुँदै घोडेपानी सडक थियो। हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले एक करोड रुपैयाँभन्दा बढी चन्दा संकलन गरेर करीब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिए।

“महभीरदेखि घराम्दी-प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दूरीको सडक पोखरेबगर भन्दा करीब तीस मिनेट छिटो पनि छ,” उनले भने “वैकल्पिक सडकबाट घोडेपानी आवतजावत हुन थालेको छ। धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवर्द्धन सहयोग पुगेको छ।”

घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी-जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पुर्‍याइएको सडक गत बर्ष थप रु पाँच लाख खर्चेर प्याराभारानी ताल पुर्‍याइएको उनले जानकारी दिए।

यसैगरी गाउँपालिकाको रु १२ लाख र प्रदेश सरकारको आठ लाख रुपैयाँ अनुदानमा टिकोटबाट मथेनी हुँदै ठूलाखर्क जोड्ने करीब पाँच किमी सडक निर्माण भएको छ। डिभिजन वन कार्यालयको २० लाख रुपैयाँ सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन/तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ।

घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुबिधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताए। “जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ,” उनले भने “करीब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ।”

गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ। यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ। समुन्द्री सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved