मधेश प्रदेशका चार जिल्लाका ३२ हजारलाई घर–घरमै कोरोनाविरुद्ध खोप

नेपालभ्युज

मधेश प्रदेशका चार जिल्लाका ३२ हजारलाई घर–घरमै कोरोनाविरुद्ध खोप

जनकपुरधाम। मधेश प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्ध खोप लगाइने भएको छ। कोरोना भाइरसविरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेश प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको जनकपुरमा उद्घाटन गरिएको हो।

आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रूपमा फरक क्षमता भएका करिब ३२ हजारलाई कोरोनाविरुद्ध पहिलो खोप लगाउने कार्यक्रमको मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर यादवले उद्घाटन गरे।

नेपाल सरकारले आगामी चैतसम्ममा शतप्रतिशत नागरिकलाई कोरोनाविरुद्ध खोप लगाइसक्ने लक्ष्य लिएअनुसार स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपांगता भएका, शारीरिक रूपमा अशक्त र फरक क्षमता भएका नागरिकलाई घरघरमै पुगेर सहज रूपमा खोप लगाउने व्यवस्था गर्न लागिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयहरू, स्थानीय तहहरू र प्रदेश सरकारसँग समन्वय गर्दै आगामी चार महिनाभित्रमा चार जिल्लाका आठ हजारका दरले ३२ हजार जनालाई खोप लगाइसक्ने संस्थाले लक्ष्य लिएको छ।

यस खोप अभियानका क्रममा कोरोनाबारे जनचेतनामूलक सन्देश प्रवाह गर्नाका साथै कोरोनाविरुद्ध खोप लगाउन छुटेका अन्य नागरिकहरूलाई खोप लगाउन प्रेरित गर्ने आड्रा नेपालका निर्देशक डा घनश्याम भट्टले बताए।

यस संस्थाको समन्वयमा चार जिल्लालाई चारवटा मोबाइल गाडीको व्यवस्था गरी घुम्ती खोप सेवा सञ्चालन गरिएको छ। हरेक एक जिल्लामा एक गाडीको व्यवस्था गरिएको संस्थाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved