निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयका युवाहरूले सडक पुरेर बन्द गराए

नेपालभ्युज

निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयका युवाहरूले सडक पुरेर बन्द गराए

इलाम। इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयका युवाले उक्त सडक पुरेर बन्द गरेका हुन्।

सडक खनेपछि आन्दोलित युवाहरूले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। व्यक्तिगत प्रयोजनका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।

सूर्योदय नगरपालिका–७ को कन्याममा केही दिनअघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केही जमिनसमेत अतिक्रमण भएको थियो। अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले गत माघ ११ गते नगर प्रमुख रणबहादुर राईको ध्यानाकर्षण गराएको स्थानीयवासी युवराज बस्नेतले बताए।

कन्याम चिया बगानका व्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ५० युवाले जेसिबी प्रयोग गरे सडक बन्द गराएका हुन्। कन्याम चिया बगानका व्यवस्थापक सुब्बाले आफूहरूलाई कुनै जानकारी नदिई सडक निर्माण गरिएकाले सडक बन्द गरिएको बताए।

सडक खन्न थालेपछि एक पटक आफूहरूले बार लगाएर रोक्दा पनि राति जेसिभी प्रयोग गरेर सडक निर्माण गरेको उनको भनाइ छ। सडकको १५ मिटर कटाउदासमेत करिब १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवा शरण फागोको भनाइ छ। उनीहरूले सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाउँदै आएका छन्।

यता वडा नं ६ का वडाध्यक्ष शिवकुमार बस्नेत व्यक्तिको जमिनमा जाने बाटो स्वयम् जग्गा धनीले खनेकाले आफनो कुनै संलग्नता नरहेको बताउँदै आएका छन्। सानो सडक रहेकाले तत्लो गुप्ती गाउँ जाने सडकसमेत आवश्यक भएकाले बढाइएको बताइएको छ। स्थानीयवासीले सबै बगानको जमिन मिचिएका संरचना हटाउनुपर्ने माग गर्न थालेका छन्।

विसं २०५७ मा अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान भारतको सङ्घाई समूहलाई भाडामा दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved