भेरीमा उपचाररत एक संक्रमितको मृत्यु

नेपालभ्युज

भेरीमा उपचाररत एक संक्रमितको मृत्यु
सांकेतिक तस्वीर

बाँके। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बिरामीको आज बिहान मृत्यु भएको छ।

बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताए। उनकाअनुसार गत २३ पुसमा भेरी अस्पतालमा पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरी उनको उपचार हुँदै आएको थियो। उनको आज बिहान मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४७ जना पुगेको छ।

बाँकेमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ। कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गएको २९ पुसदेखि बाँकेका विद्यालय बन्द छन्।

लक्षित समूहका बालबालिकालाई खोप लगाउन आज र भोलि दुई दिन विद्यालय खोलिएको छ। अधिकांश विद्यालयलाई खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार जिल्लाका आठवटै स्थानीय तहमा भोलिसम्म कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने कार्यक्रम छ। करीब २४० वटा विद्यालयलाई केन्द्र बनाएर ६९ हजार बालबालिकालाई खोप लगाइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved