स्वास्थ्यकर्मी नै कोभिड महामारीमा परेपछि अस्पतालहरूले यसरी दिँदैछन् सेवा

संक्रमण पुष्टि भएको  सात दिनपछि स्वास्थ्यकर्मी पुन: सेवामा फर्किने गरेका छन्।

स्वास्थ्यकर्मी नै कोभिड महामारीमा परेपछि अस्पतालहरूले यसरी दिँदैछन् सेवा

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड इमर्जेन्सी वार्डको छेउमै सेतो कोट र नीलो सुट लगाएका कर्मचारीहरू पीसीआर गर्न लामवद्ध थिए। केहीका अनुहार खिन्न देखिन्थे, केही खिन्नता मेटाउन एकअर्कासँग अन्तर्क्रिया गरिरहेका थिए।

पीसीआरको लाइनमा स्वास्थ्यकर्मी र सहयोगी पनि देखिन्थे। अस्पतालका कर्मचारीमै संक्रमण देखिएपछि सेवा प्रभावित भएको थियो।

वीरकाे अवस्था पनि त्याेभन्दा फरक थिएन । सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पतालका रूपमा तोकेको छ। वीरमा पीसीआर गर्न लामबद्ध आममान्छेसँगै मिसिएर बसेका स्वास्थ्यकर्मीमध्ये कोही लाइनमै भुइँमा बसिरहेका देखिन्थे ।

त्रिवि शिक्षण अस्पताल र वीरको यस्तो अवस्था होइन, काठमाडौँ उपत्यकाका अधिकांश सरकारी कोभिड अस्पतालको दृश्य योभन्दा फरक छैन ।

कोभिडको तेस्रो लहरका कारण अधिकांश अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित छन् । निको हुनेबित्तिकै सेवामा फर्किरहेका स्वास्थ्यकर्मीले सेवा दिएर पनि भ्याएका छैनन् । डाक्टर, नर्स र सहयोगी कर्मचारी संक्रमित भएपछि प्रभावित बनेको छ। दैनिक कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य मन्त्रालयको आँकलन छ।

कसरी बिरामीलाई सेवा दिइरहेका छन् त राजधानीका मुख्य सात सरकारी अस्पतालले ? नेपालभ्यूजले त्यस विषयमा खोजीनीति गरेको छ ।

त्रिवि शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पतालमा करिब दुई हजार पाँच सय स्वास्थ्यकर्मी कार्यररत छन् । तीमध्ये तीन सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको अस्पतालको तथ्याङ्क छ । अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, “स्वास्थकर्मी नै महामारीको चपेटामा पर्दा बिरामीको उपचारमा चुनौती थपिएको छ।”

सरकारले त्रिवि अस्पतातमा कोभिड उपचारका लागि २ सय ५० जना नर्स र २० जना चिकित्सक खटाएको छ। अस्पतालका छातीरोग विशेषज्ञ एवम् कोभिड फोकल पर्सन  डा. नीरज बमले भने, “कोभिड वार्डमा काम गर्ने डाक्टरभन्दा पनि नर्सहरू धेरै संक्रमित भएका छन्। स्वाथ्यकर्मी नै संक्रमित बनेपछि उपचार सेवा प्रभावित भएको छ।”

केही दिन पहिले मात्रै एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित भएपछि दुई सयभन्दा बढी संक्रमितको उपचार गर्नसक्ने शिक्षण अस्पतालले स्वास्थ्यकर्मीको अभावमा ४० जना मात्र बिरामीलाई उपचार गरेको थियो । त्योभन्दा बढी हेर्न नसक्ने भएपछि शिक्षण अस्पतालका बिरामीलाई वीर अस्पताल ‘रिफर’ गरेको थियो ।

स्वास्थ्यकर्मीको अभावमा अहिले अस्पतालको उद्वार कक्ष (रेस्क्यु वार्ड) नै बन्द गरिएको छ । मेडिकल वार्ड पनि आधा मात्र क्षमतामा सञ्चालनमा गरिएको छ। डा. बमले नेफ्रो वार्डमा पनि बिरामी भर्ना पनि घटाइएको बताए।

अस्पतालले अपरेसन थिएटरमा काम गर्ने स्वास्थ्यकर्मी पनि संक्रमित बनेपछि इमर्जेन्सी गर्नुपर्ने बिरामीको मात्र अपरेसन गरिरहेको छ। त्यस्तै नर्सिङ कर्मचारी र सहयोगी नभएकाले केही वार्डहरू पूरै बन्द गरिएका छन्।

नर्सिङ कर्मचारी र हेल्पर नभएर केही वार्डहरू पनि बन्द गर्नुपरेको उनको भनाइ छ। उनी भन्छन्, ‘‘अस्पतालमा सेवा दिरहेका स्वास्थ्यकर्मीहरूले अरु बेला ६ देखि १० घण्टासम्म काम गर्नुपर्थ्यो भने अहिले १२ घण्टाभन्दा बढी सयमसम्म काम गरेरै भए पनि बिरामीको उपचार गरिरहेका छौं।”

संक्रमित बनेका केही स्वास्थ्यकर्मी लक्षण देखिन छाडेपछि काममा फर्किरहेकाले पनि केही सहज भएको उनको भनाइ छ। अस्पतालमा भर्ना गर्नैपर्ने हरेक बिरामीहरूको पीसीआर अनिवार्य गरेका कारण धेरै जना बिरामीहरूमा संक्रमण पुष्टि भइरहेको उनी बताउँछन्।

उसो त त्रिवि अस्पतालका धेरै स्वास्थ्यकर्मीमा संक्रमण देखियो भन्ने समाचार बाहिरिएपछि उपचार गराउन आउनेको संख्या पनि घटेको अस्पतालले बताएको छ। स्वास्थ्यकर्मी अभाव हुन नदिन अस्पतालले महिला र पुरुषका लागि दुईओटा  छुट्टाछुट्टै वार्ड बनाएकोमा अहिले त्यसलाई एउटै वार्डमा मर्ज गरेको छ।

वीर अस्पताल

सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल तोकेको छ। त्यसैले वीरले काठमाडौं उपत्यकाभित्रका १३ ओटा कोभिड अस्पताल र सबै प्रदेशका सात ओटा अस्पतालसँग समन्वय गर्दै आइरहेको छ।

अस्पतालमा एक हजार ५ सय स्वास्थ्यकर्मी छन्। अस्पतालका सहनिर्देशक डा. प्रज्वल श्रेष्ठ तीमध्ये करीब दुई सय संक्रमित बनिसकेको बताउँछन्। संक्रमित बढे पनि निको भएर फर्किनेको संख्या पनि उत्तिकै भएकाले अहिले सेवा प्रवाहमा केही सहज भएको उनले बताए।

‘‘शुरुमा स्वास्थ्यकर्मीहरू संक्रमित बन्दा अब के गर्ने, कसरी सेवा दिने भनेर निकै समस्या पर्‍यो, अहिले छुटाछुट्टै रहेका नन–कोभिड वार्डहरूलाई एकै ठाउँमा गाभेर थोरै स्वास्थ्यकर्मी राखेर सेवा दिइरहेका छौं,” उनले भने ‘‘तर कोभिड बिरामीहरूको उपचारमा कमी हुन दिएका छैनौँ ।”

अस्पतालमा सय ओटा आईसीयू र सय ओटा एचडीयू छन्। आवश्यक परेको खण्डमा पुरानो वीर अस्पताललाई पनि प्रयोगमा ल्याउने गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

सिभिल अस्पताल

मीनभवनस्थित नेपाल निजामति (सिभिल) अस्पतालमा १२ माघ बिहानसम्ममा १९० जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीहरू कारोना संक्रमित बनिसकेको अस्पतालका कोभिड फोकल पर्सन डा. विदेश बिष्टले जानकारी दिए।

“यस्तो प्यान्डामिकको समयमा अस्पतालका पिल्लर मानिने स्वास्थ्यकर्मी र सहयोगी नै संक्रमित बनेपछि उपचार सेवामा कति असर पर्न सक्छ होला ?,” डा. बिष्ट भने, “स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रवाह गर्न गाह्रो भए पनि डबल ड्युटी गरेर भए पनि बिरामी फर्काएका छैनौँ।”

सिभिल अस्पतालले धेरै स्वास्थ्यकर्मी संक्रमित बनेपछि थप चिकित्सकहरू पनि थपिएको उनले बताए।

पाटन अस्पताल

स्वास्थ्यकर्मीलाई पनि संक्रमित भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि सेवा  प्रभावित भएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यले कर्मचारीहरू संक्रमित बनेपछि सेवा प्रवाहमा केही चुनौती थपिएको बताए तर पनि अस्पतालले कुनै सेवा कटौती नगरेको जानकारी उनले बताए।

“अस्पतालमा ११ माघसम्म १ सय ५० जना स्वास्थ्यकर्मी संक्रमित बनिसकेका छन् । यसबाट चुनौती त थपियो तर  पनि नियन्त्रणबाहिर भने गइसकेको छैन,” उनले भने, “अहिले नै कुनै पनि सेवा रोकिहाल्नुपर्ने अवस्था आएको छैन्।”

कोभिड महामारी पुन: फैलिएपछि अस्पतालमा नन–कोभिडका बिरामीको चाप भने केही घटेको छ । त्यसैले त्यताका स्वास्थ्यकर्मीलाई पनि कोभिड वार्डमा खटाएर सेवा दिइरहेको उनले बताए।

डा. शाक्यका अनुसार, परिस्थिति सहज बनाउन स्वास्थ्यकर्मीको कार्यालय समायवधि पनि बढाइएको छ। पहिलो र दोस्रो लहरमा पनि स्वास्थ्यकर्मी संक्रमित बनेका थिए तर पनि अस्पतालले कुनै सेवा बन्द नगरी सेवा दिएको उनको भनाइ थियो।

टेकू अस्पताल

टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार, कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप पनि बढ्दै छ। उक्त अस्पतालले कोभिड महामारीको पहिलो लहरदेखि नै महत्वपूर्ण भूमिका खेल्दैआएको छ ।

“बिरामीको चाप पनि बढ्दै छ तर   ६१ जना स्वास्थ्यकर्मी नै संक्रमति भइसेकेका छन्,” उनले भने, ‘‘एकैपटक ६१ स्वास्थ्यकर्मी संक्रमित भएको भए सेवामा प्रभाव पर्थ्यो तर ३/४ जना गर्दै संक्रमित भएकाले स्वास्थ्य सेवामा त्यति प्रभाव परेको छैन। निको हुने बित्तिकै काममा फर्केर सेवा दिएकाले चाप धानिरहेका छौँ।”

६१ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा एक जना पनि अस्पताल भर्ना हुनु नपरेको पनि उनले जानकारी दिए। उनका अनुसार, संक्रमण पुष्टि भएको  सात दिनपछि स्वास्थ्यकर्मी पुन: सेवामा फर्किएका छन्।

सशस्त्र प्रहरी अस्पताल

प्रहरी उपरीक्षक डा. प्रवीण नेपालले दिएको जानकारीअनुसार, सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ११ माघसम्म  ९१ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

अस्पताल भर्ना हुनुपर्ने अवस्था नआएकाले सात दिनपछि स्वास्थ्यकर्मी पुन: सेवामा फर्किने गरेको उनले पनि जानकारी दिए। “कोरोना पोजेटिभ भएपछि सात दिन आराम गर्न दिएर बाँकी स्वास्थ्यकर्मीले डबल ड्युटी गरेर भए पनि सेवा दिइरहेका छौं,” उनले भने।

पछिल्लो समय बिरामीको चाप केही कम भएकाले सहज भएको उनले बताए। अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ८५ प्रतिशतले खोप लगाएकाले अप्ठ्यारो नभएकोमा खोप नलगाएका केहीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिनुपरेको जानकारी उनले दिए।

कान्ति बाल अस्पताल

कान्ति बाल अस्पतालमा ११ माघसम्म १९ जना कोरोना पोजेटिभ बालबालिकाहरू उपचाररत छन्। अस्पतालमा झण्डै पाँच सय स्वास्थ्यकर्मीहरू रहेको अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताए। अस्पतालका करीब ४० जना नर्स, १५ जना चिकित्सक र २० जना जति अन्य कमर्जारी संक्रमित बनिसकेको निर्देशक डा. रायमाझीले बताए।

‘‘यसरी स्वास्थ्यकर्मी संक्रमित बन्दा सेवा प्रवाहमा थप चुनौती थपिएको छ” उनले भने, ‘‘नन–कोभिड वार्डहरूलाई केही विस्थापित गरेर कोभिडका लागि छुटाएका छौँ, कम बिरामी भएका वार्डहरूलाई मर्ज गरेर एकै ठाउँबाट सेवा दिरहेका छौं र समूह समूह गरेर चिकित्सकहरू खटिएका छौं।” चिकित्सकहरूले जुमबाट पनि बिरामीहरूको स्वास्थ्य अवस्थाबारे छलफल भइरको जानकारी उनले दिए।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले अन्य भेरियन्टभन्दा ओमिक्रोन निकै संक्रामक भएका कारण अस्पताल, हेल्थडेस्क, विमानस्थल, सिडियो कार्यलयदेखि लिएर अन्य थुप्रै क्षेत्रका व्यक्तिहरू संक्रमित बनिरहेकाले आलोपालो काम गर्न निर्देशन दिएको बताए।

तेस्रो लहरमा बढी संक्रामक भए पनि गम्भीर समस्या ननिम्त्याउने भएकाले छिट्टै कामममा फर्किरहेको उनी बताउँछन्। जसका कारण सेवा बन्द गर्नुपर्ने अवस्था आएको छैन।

‘‘तुलनात्मकरूपमा अहिलेको अवस्था हाम्रो नियन्त्रणभित्रै रहेकाले अहिले नै आत्तिहाल्नु पर्ने अवस्था छैन्,” उनले भने। स्वास्थ्यकर्मी संक्रमित बनेपछि अस्पतालले सेवा दिनै सकेन भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved