बुबाआमा गुमाएका बालबालिका वडाध्यक्षले जिम्मा लिए

नेपालभ्युज

बुबाआमा गुमाएका बालबालिका वडाध्यक्षले जिम्मा लिए

दाङ। घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन्। वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफूले लिने बताएका हुन्।

घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा बनेका छन्। उनीहरूका बुबा मोहनलालको १० फागनु २०७७ मा कोइलाखानीमा काम गर्दा पुरिएर मृत्यु भएको थियो।

२०७८ मङ्सिरमा आमा शान्तिको पनि लडेर मृत्यु भयो। त्यसपछि चारैजना अभिभावकविहीन बनेका थिए। हाल दीपक कक्षा ४, शर्मिला २ र अशोक कक्षा १ मा अध्ययनरत छन्। बुबा-आमाको मृत्युपछि उनीहरू नियमित विद्यालय जान पाएका छैनन्।

बालबालिकाको दैनिकी कष्टकर बनेको थाहा पाएपछि घोराही–४ का वडाध्यक्ष सार्कीले आफ्नै लगानीमा लालनपालन र शिक्षादिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन्। मंगलबार टुहुरा घरमै पुगी उनले अन्न र न्यायो कपडा वितरण गरे।

बालबालिकाका काका भारतबाट फर्किएपछि घरको सल्लाहमा अभिभावकत्व लिने वडाध्यक्ष सार्कीले बताए। “बालबालिकाको भविष्य अँध्यारो नहोस् भनेर घरमै राखेर पढाउने सोच बनाएको छु”, उनले भने। चारै बालबालिकाको हाल सानीआमा चन्द्रकली विकले आफ्नै घरमा स्याहार गर्दै आएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved