तुलसीपुरमा चोरीका सामग्रीसहित दुई जना पक्राउ

नेपालभ्युज

तुलसीपुरमा चोरीका सामग्रीसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर

दाङ। तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार छन्।

उनीहरू लामो समयदेखि तुलसीपुर–६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनीहरूले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेका र यस क्षेत्रमा हुने सबै चोरीका काम उनीहरूले नै गर्दै आएका अर्यालले बताए। अहिले दुवैलाई पक्राउ गरेको र अर्का एक जनाको खोजी जारी रहेको उनको भनाइ छ।

सीसी क्यामेराको निगरानी र अन्य अनुसन्धानबाट उनीहरू शंकास्पद देखिएपछि प्रहरी निरीक्षक झलक शर्माका नेतृत्वमा गएको प्रहरी टोलीले कोठामा छापा मार्दा चोरी गरेका विभिन्न सामग्री भेट्टिएको र यसपछि बरामदसमेत गरेको थियो। उनीहरूको कोठाबाट माछाजस्तो आकार भएको दापसहित खुकुरी एक थान, राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप एक थान, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देखिने बाला एक थान, चाँदीको सिक्री एक थान, फलामको हतियार नोख एक थान, फलामको तीन फिट तीन इन्च लामो सरिया एक थान,रा१प ५४७३ नंको मोटरसाइकलको दर्ता किताब थानलगायत बरामद गरिएको छ।

अहिले यी सामग्रीका मालिक आएर आफ्नो सामान पहिचान गर्ने गरेको समेत प्रहरी नायब उपरीक्षक अर्यालले बताए। उनीहरू यसअघि पनि पक्राउ परेर छुटेका समेत प्रहरीले बताएको छ। माघीकै दिन राति तुलसीपुरको सल्यान रोडका पसल चोरी गर्नेसमेत उनीहरू नै रहेका प्रहरीले बताएको छ। पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन्। चोरी नियन्त्रण कार्य प्रहरीका लागि चुनौती बन्दै गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved