बुटवलको साझा अस्पतालमा हेमोडायलासिस सेवा सञ्चालन

नेपालभ्युज

बुटवलको साझा अस्पतालमा हेमोडायलासिस सेवा सञ्चालन

बुटवल। बुटवलमा रहेको साझा अस्पताल प्रालीले मिर्गौला रोगीहरूको लागि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ। ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापासंगको सहकार्यमा तीन करोड बढिको लगानीमा शेवा शुरु गरिएको हो।

सोमबार एक कार्यक्रमका बीचमा अस्पतालका अध्यक्ष एवं मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले सेवाको शुभारम्भ गरेका हुन्। मिर्गौलाका बिरामीहरूलाई सुलभ उपचार दिने उद्देश्यले सेवा शुरु गरिएको अध्यक्ष खनालले बताए।

हाल ८ ओटा मेशिनबाट हेमोडायलासिस सेवा शुरु गरेको अस्पतालले भविष्यमा ५० ओटा मेसिन पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष खनालले बताए। नियमित डायलासिस गराउनुपर्ने बिरामीहरूले सर्वसुलभ सेवा पाउन नसक्दा बहिर जानुपर्दा उच्च आर्थिक व्ययभार पर्ने भएकाले निःशुल्क सेवा उपलब्ध गराउने खनालले बताए।

सेवालाई पूर्ण निःशुल्कका लागि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसमक्ष प्रकृया अगाडि बढाइसकेको अस्पतालका सञ्चालक डा. विनोद पराजुलीले बताए।

यस्तै अस्पतालले सोमबारदेखि एनआईसीयू र यूरो सर्जरी सेवा पनि शुरु गरेको छ।बुटवल क्षेत्रमा नवजात शिशु सघन उपचार केन्द्र (एनआईसीयू) अति कम रहेकाले निकै समस्या हुने गरेको महसुस भएकाले एनआईसीयू सेवा प्रारम्भ गरिएको डा. पराजुलीले बताए।

अत्याधुनिक मेशिनहरू जडित एनआईसीयू सेवाले नवजात शिशुहरूको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको अस्पतालले जनाएको छ।

प्रालिमा आईसीयू सेवा अर्थोपेडिक तथा ट्रमा सर्जरी सेवा, न्यूरो सर्जरी सेवा जनरल तथा ल्यापरोस्कोपी सेवा,पेडियाट्रिक सर्जरी सेवा, इएनटी सर्जरी सेवा, मेडिसिन सेवा, प्रसुति सेवा, युरो सर्जरी, रेडियोग्राफी सेवा,चौबिसै घण्टा इमर्जेन्सी सेवा लगायत विशेषज्ञ सेवाका साथै निसन्तान दम्पत्तिका लागि टेस्ट ट्युब बेबी सेवा पनि सञ्चालनमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved