खोप केन्द्रमा थामिनसक्नु भीड, संक्रमण फैलाउने अखडा बन्दै अस्पताल

खोप लगाउने केन्द्रमै स्वास्थ्य मापदण्ड पालना नहुँदा अस्पताल नै संक्रमण फैलाउने अखडा बन्ने जोखिम बढेको छ।

खोप केन्द्रमा थामिनसक्नु भीड, संक्रमण फैलाउने अखडा बन्दै अस्पताल

काठमाडौं। कोरोना भाइरसको तेस्रो लहर शुरु भएसँगै खोप केन्द्रमा ह्वात्तै भीड बढेको छ। सरकारले सार्वजनिक स्थल प्रवेशमा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको भीड बढेको छ, तर भाइरसविरुद्धको खोप लगाउने केन्द्रमै स्वास्थ्य मापदण्ड पालना नहुँदा अस्पताल नै संक्रमण फैलाउने अखडा बन्ने जोखिम बढेको छ।

यस्तै दृश्य देखिन्छ टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा। दुईओटा लहरमा एक मिटरको समेत दूरी नराखेर भीडभाडमा खोप लगाउन पर्खिरहेका देखिन्थे नागरिक। त्यहाँ न त स्वास्थ्य मापदण्ड पालनाका लागि प्रशासनले नै चासो देखाएको थियो न त खोपको प्रतीक्षा गरिरहेकालाई नै वास्ता। उक्त भीडमा भेटिए बागबजारका कृष्ण शर्मा, संक्रमण ह्वात्तै बढेपछि उनी खोप लगाउन आएका थिए।

संक्रमण बढेपछि खोप लगाउन आएका उनले सामान्य भौतिक दूरी पनि अपनाउन सकिरहेका थिएनन्। “कसैले पनि लाइन मिलाएका छैनन्, कसैले केही नभनेपछि चाहेर पनि दूरीमा बस्न सकिएको छैन,” उनले भने, “दुई मिटर बसेर लाइन लाग्ने ठाउँ नै नभएकाले भीडमै उभिनुको विकल्पै छैन।”

त्यही भीडमा भेटिएकी बौद्धकी सावित्री पौडेलको गुनाशो पनि त्यस्तै छ। कोरोनाबाट बच्न खोप लगाउन आए पनि यतैबाट कोरोना सर्ने हो कि भन्ने त्रासमा उनमा छ। “डर लागे पनि व्यवस्थापन अभावका कारण भौतिक दूरी अपनाउन सक्ने अवस्था नभएकाले भीडमै उभिएर पालो पर्खिनु परेको छ,” उनले भनिन्।

टेकूकै जस्तो अव्यवस्थित भीडभाड देखिन्छ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र नर्भीक अस्पातलमा पनि। नर्भीक अस्पतालको खोप केन्द्रमा खोप लगाउनका लागि सडक किनारमै भीडभाडमा उभिएकी थिइन् सूर्यविनायककी प्रमिला गिरी। ‘‘सडकमै लाइनमा बस्नुपरेको छ, यस्तोमा कसरी दूरी पालन गर्नु!,” उनले भनिन्, ‘‘कोरोनाबाट बच्न खोप लगाउन आएको जोखिम यतै बढी देखियो।”

लाइनभन्दा अलि पर उभिएका थिए पाटनका पासाङ तामाङ। उनी पहिले त खोप लगाउन पाटन अस्पताल गएका थिए, तर त्यता धेरै भीड भएका कारण उनी नर्भीक आइपुगेका थिए। कोरोना सर्छ कि भन्ने त्राससहित उभिएका उनले भने, “कोरोनाको खोप लगाउन आएको, झनै कोरोना सरेर पो घर पुगिन्छ जस्तो छ!”

छेउकै प्रसूति अस्पतालको खोप केन्द्रको अवस्था पनि त्यस्तै थियो। खोप लगाए जोखिम कम हुन्छ कि भन्ने आशामा लाइनमा बसेकी सुन्तली थापाले भनिन्, “भीड भएर के गर्नु! अब खोप त लगाउनैपर्‍यो।”

बल्खुस्थित वयोधा अस्पताल पुग्दा त्यहाँको अवस्था पनि उस्तै देखिन्छ। भीड व्यवस्थापनमा अस्पताल प्रशासनले तदारुकता नदेखाएको र नागरिक आफैले पनि सामान्य भौतिक दूरी कायम गर्न नसकेको कारण खोप लगाउने स्थल नै कोराना सार्ने जोखिम स्थल बनेको देखिन्छ।

कोभिड १९ बाट बच्न कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा नागरिक सचेत देखिए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने विषयमा भने चुकेको देखिन्छ। जसकारण खोप केन्द्र नै संक्रमणको जोखिम क्षेत्र बनेको देखिएका छन्।

सबै तस्वीर : पुरुषोत्तम पौडेल/नेपालभ्यूज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved