मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण विकास भएन : बाबुराम भट्टराई

नेपालभ्युज

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन्।

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारे।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे।

अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढन पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। उनले अर्थतन्त्र विकासका लागि व्यवसायीहरूले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए।

‘हामीकहाँ बडो उदेक लाग्दो कुरा के छ भने आफनो देशको विकासका जुन सापेक्षता छ। छरछिमेकमा आएको जुन परिवर्तन छ। अन्तराष्ट्रिय परिस्थिति जुन छ। त्यसलाई आकलन गरेर अर्थतन्त्रको क्षेत्रहरूबीचमा कसरी सन्तुलन मिलाउने र हाम्रो तुलनात्मक लाभ, प्रतिस्पर्धी लाभ कुन हो ? छुट्टयाएर अघि बढने कुरामा जानुपर्ने। सिद्धान्ततः सबैले भन्छन। तपाईहरूले त भन्नु हुन्छ। मेरो संकेत कता छ भने राज्यको नेतृत्व गर्ने भने राजनीतिले हो। राजनीति भनेको राजनीतिक दल र तीनका नेताले गर्ने हो। तर हाम्रो समस्या के हुन्छ भने हामी उही साउनका आँखा फुटेको गोरु सधैं हरियो देख्छ भनेर हिजो आन्दोलन गर्‍यौं। राणतन्त्र फ्याँक्यौं। पछि पञ्चायत फ्याँक्यौं। पछि राजतन्त्र फ्याक्ने संघर्षहरू गर्‍यौं। र अहिले हामी नयाँ चरणमा प्रवेश गरिसक्यौं”, भट्टराईले भने।

अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरूले ध्यान दिनुपर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved