खेलाडी-क्यान विवाद : अब कहिल्यै यस्तो नहोस्

क्यानले खेलाडीहरूको सेवा सुविधा सन् २०२२ देखि बढाउने, चार खेलाडीलाई गरेको कारबाही फिर्ता गर्ने, यो वर्षको वार्षिक सम्झौताको लागि भएको खेलाडी वर्गीकरणमा छुटेका तीन खेलाडीलाई प्रोत्साहन भत्ता दिने बाचा गरेको छ।

खेलाडी-क्यान विवाद : अब कहिल्यै यस्तो नहोस्

काठमाडौं। नेपाली क्रिकेट तत्कालका लागि ठूलो दुर्घटनाबाट बचेको छ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय, नेपाल क्रिकेट संघ (क्यान) र केही असन्तुष्ट खेलाडीबीच करीब दुई महीनादेखि चलिरहेको विवाद तत्कालका लागि समाधान भएको छ। आशा गरौं, नेपाली क्रिकेटको भविष्यलाई नै संकटमा पार्ने यस्तो विवाद अब नेपाली क्रिकेटमा कहिल्यै दोहोरिनेछैन।

यो विवादको तत्कालीन कारण क्यानको खेलाडी वर्गीकरण थियो। गत असोजमा क्यानको बोर्ड बैठकले खेलाडीसँग वार्षिक केन्द्रिय सम्झौताका लागि नयाँ वर्गीकरण सूची पारित गरेको थियो। तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्मको सम्झौताका लागि नयाँ वर्गीकरण सूची बनाएको थियो।

उक्त सूचीमा क्यानले खेलाडीहरूलाई तीन श्रेणीमा बाँडेको थियो। जसअनुसार राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीहरूले ‘ए’ श्रेणीमा पर्नेले मासिक ५० हजार, ‘बी’ मा पर्नेले मासिक ४० हजार र ‘सी’ मा पर्ने खेलाडीले मासिक ३० हजार तलब पाउने व्यवस्था गरिएको थियो।

यसपछि खेलाडीहरूलाई वार्षिक सम्झौतामा हस्ताक्षर गर्न लगाइयो। तर केन्द्रीय सम्झौतामा समावेश गरिएका १८ खेलाडीमध्ये केहीले हस्ताक्षर गर्नुअघि खेलाडी सम्झौताको बारेमा अध्ययन गर्न चाहे। तर क्यानले उपलब्ध गराएन।

वर्गीकरणमा भेदभाव भएको कारण देखाउँदै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसँगै केही खेलाडीहरूले सम्झौतामा हस्ताक्षर गरेनन्। यसअघि २० खेलाडीलाई वार्षिक केन्द्रीय सम्झौतामा राखिने गरिएको यो पटक क्यानले दुई खेलाडी कम गरेको, तीव्र गतिका बलर सोमपाल कामीलाई वर्गीकरणको ‘बी’ श्रेणीमा राखिएको, राष्ट्रिय टिममा परेका रोहित कुमार पौडेल, गुल्शन झा लगायतको नाम वार्षिक सम्झौता सूचीमा समावेश नभएको बिषयमा खेलाडीहरू सहमत थिएनन्।

यसपछि कार्तिक १७ गते वर्गीकरणमा चित्त नबुझेको बारेमा ज्ञानेन्द्र मल्लसँगै, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसमेत चार खेलाडीले एक मिडियामा असन्तुष्टि पोखेका थिए।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार क्यानले बनाएको समितिले खेलाडीहरूको प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीता जस्ता स्पष्ट मापदण्डअनुसार खेलाडीको वर्गीकरण गरिएको थियो र त्यसमा कुनै पनि गल्ती वा भेदभाव भएको थिएन।

गत वर्ष पनि क्यानले गरेको वर्गीकरणमा खेलाडीहरूले असन्तुष्टि जनाएका थिए। पछि क्यानले वर्गीकरणमा आफ्नो गल्ती स्वीकार्दै खेलाडीको श्रेणीमा पुनर्वालोकन गर्दै हेरफेर गरेको थियो।

तर यो पटक त्यस्तो भएन।

२५ कात्तिकमा क्यानले यो विषयमा आधिकारिक रूपमा संघमा नआइकन मिडियामा बोलेको भन्दै चारै खेलाडीसँग एक हप्ताको समय सिमामा लिखित स्पष्टीकरण माग्यो।

यसपछि खेलाडीहरूले क्यानसमक्ष लिखित स्पष्टीकरण मात्र बुझाएनन् की क्यान सामु विभिन्न प्रश्नहरू तेर्स्याउँदै ११ बूँदे ज्ञापनपत्र बुझाएर त्यसको जवाफको लागि सात दिने अल्टिमेटम पनि दिएका थिए।

क्यानलाई दिएको उक्त ज्ञापनपत्रमा खेलाडीहलाई वार्षिक सम्झौताका लागि गरिएको वर्गीकरणका आधारहरू के-के हुन्? यो वर्गीकरणका मापदण्ड किन पहिले नै खेलाडीहरूलाई देखाइएन? गत वर्ष भन्दा किन कम खेलाडीहलाई वार्षिक सम्झौतामा राखियो जस्ता प्रश्न क्यानलाई सोधिएको थियो।

त्यसैगरि विदेश खेल्न जाँदाको भ्रमण भत्ता घटाइएको, सात महीना अघिको ट्राई नेसन्स सिरिज जित्दाको घोषणा गरेको नगद पुरस्कार नपाएको, राष्ट्रिय टिमको जर्सिको प्रायोजन बापतको रकमको हिस्सा खेलाडीले नपाएको र खेलाडीको बीमा, उपचारको उचित व्यवस्था नभएको विषयमा पनि क्यानलाई प्रश्न गरिएको थियो।

उल्टो आफूमाथि प्रश्नको ओइरो लागेपछि क्यान झन् चिडियो र पहिलो पटकको स्पष्टीकरण चित्त नबुझेको भन्दै दोस्रो पटक पुनः स्पष्टीकरण माग्यो। खेलाडीहरूको दोस्रो पटकको स्पष्टीकरण पनि उस्तै आएपछि क्यानले अन्ततः २७ मंसीरमा कारबाहीको निर्णय गर्‍यो।

जसमा ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान तथा उपकप्तानको पदबाट पदमुक्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिइयो। त्यस्तै चारैजना खेलाडीलाई सन् २०२२ को वार्षिक खेलाडी सम्झौतामा शुरुको ६ महीनाका लागि समावेश नगराउने निर्णय गरेको थियो।

यसपछि राष्ट्रिय टिमका अधिकांस खेलाडी यी चार खेलाडीका पक्षमा उभिए। कारबाहीमा परेका खेलाडीहरूले पनि यसमा पनर्विचार नभएर आफूहरू राष्ट्रिय टिमबाट नखेल्ने सम्मको निर्णयमा पुग्ने घोषणा पनि गरे।

नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके आएपछि यो विवाद समाधान हुने दुवै पक्षको आशा थियो।

नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके नेपाल आएपछि क्यानले सन्दीपको कप्तान घोषणा गरेर पोखरामा बन्द प्रशिक्षण गर्ने घोषण गरेपछि नेपाली टिममा नै स्पष्ट विभाजन देखियो।

यसपछि पुबुदुसँगको सहकार्यमा क्यानको खेलाडी छनोट समितिले गत बिहीबार पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी हुन ३० खेलाडीको चयन गरेको थियो।

तर बन्द प्रशिक्षणमा उपस्थितिका लागि शनिबारसम्मको समय दिइएकोमा कुल ३० खेलाडीमध्ये १८ खेलाडीले मात्र प्रशिक्षणको लागि रिपोर्टिङ गरे। कारबाहीमा परेका चार खेलाडीसँगै कुल १२ खेलाडीले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने भनेर क्यानलाई लिखित जानकारी नै गराए।

यसपछि आइतबार क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके लगायतसँग ज्ञानेन्द्र मल्लले गरेको छलफल र सोमबार बिहान भएको दोस्रो चरणको छलफल सफल भएपछि विवाद समाप्त भयो।

यो विवाद अन्त्यमा संकट मोचकको भुमिका खेलेका प्रशिक्षक दासानायके बताउँछन्, “नेपाली क्रिकेटका केही मुद्दाहरू थिए । मलाई लाग्छ हामी यसलाई समाधान गर्न सक्षम भयौं। एउटा उद्देश्यमा हिँड्नका लागि क्रिकेट र राष्ट्रिय टोली पहिलो प्राथमिकता रहेको सबैलाई बुझेपछि सजिलै यो विवाद समाधान भयो ।”

छलफल अनुुसार क्यानले खेलाडीहरूको सेवा सुविधा सन् २०२२ देखि बढाउने, चार खेलाडीलाई लागेका ६ महीना वार्षिक सम्झौतामा नराख्नेगरि गरेको कारबाही फिर्ता गर्ने, यो वर्षको वार्षिक सम्झौताको लागि भएको खेलाडी वर्गीकरणमा छुटेका तीन खेलाडीलाई प्रोत्साहन भत्ता दिने बाचा गरेको छ।

विवाद समाधान पछि बन्द प्रशिक्षणमा फर्किएका ज्ञानेन्द्र भन्छन्,“विवाद समाप्त भएर नै हामी सबै जना यहाँ छौं। तर यो विवाद भन्दा पनि एउटा असन्तुष्टि हो जसलाई विवाद बनाइएको जस्तो मलाई लाग्छ। यसलाई हामी संघभित्र बसेर नै सल्ट्याउन चाहिरहेका थियौं। अन्त्यमा सबै कुराहरूलाई समेटेर, आ-आफ्नो ईगोलाई बाहिर राखेर, नेपाली क्रिकेटको भविष्यको लागि भनेर साथै महत्वपूर्ण प्रतियोगिता पनि आइरहेको छ, त्यसको लागि पनि एक ठाउँमा बस्नुपर्छ र हामीले नै नेपाली क्रिकेटलाई अगाडी बढाउनुपर्छ भनेर सहमति भयो। जे भयो भयो अवको दिनमा हाम्रो लक्ष्य भनेको अघि बढ्ने नै हो।”

हाल कप्तानको रूपमा सन्दीप नै रहने सहमति पनि भएकोछ।

अर्को वर्ष अष्ट्रेलियामा हुने विश्व कपको लागि नेपालले डेढ महीनापछि छनोट प्रतियोगिता खेल्दैछ। जसका लागि विवादको अन्त्यसँगै सबै ३० खेलाडी प्रारम्भिक टिममा जोडिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved