सिक्किमको उदाहरण दिँदै लिङ्देनले भने : राजसंस्था नभए नेपाल पनि विलय हुन्छ

नेपालभ्युज

सिक्किमको उदाहरण दिँदै लिङ्देनले भने : राजसंस्था नभए नेपाल पनि विलय हुन्छ
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन्।

अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरासमेत औंल्याए। स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममाउनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दाबी गरे।

अध्यक्ष लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे। राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरूसँग सम्झौता गरेर संवैधानिक राजाको रूपमा आफूलाई उभ्याएको पनि उनले बताए।

स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उनले उल्लेख गरे। अध्यक्ष लिङ्देनले भने, “म केटाकेटी नै थिए। २०३२ सालतिर होला। जब सिक्किममा राजसंस्थाको अन्त्य भयो। जनताका प्रतिनिधिहरूले भन्नेले त देशै भारतमा विलाइदिए। ओहो, राजा भएन भनेत देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा पर्‍यो। राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो। आज पनि म त्यही जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा आज जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो।”

उनले थपे, “त्यसबेला भन्दा अझ मैले अहिले बढी बुझ्छु। किन, त्यस बेला त थोरैथोरै बुझे। ए, राजा हट्यो, सिक्किम पनि सकियो। एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो। तर अहिले यसो हेर्छु। सिक्किम भन्ने नाम पनि छ। त्यहाँको भूगोल पनि छ। त्यहाँको माटो कसैले बोकेर लगेको छैन। सिक्किम सिक्किमै छ। तर सिक्किम भन्ने देश त छैन। अहिले पछिल्लो दिनमा त्यहीँ खतरा हाम्रो देशले बोकिराखेको छ। त्यसका लागि नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता छ भनेर मैले भन्ने गर्छु।”

अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेताहरू भन्दा राजा बढी देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेका बताए।

कार्यक्रममा पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे। उनले स्वर्गीय राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved