गहुँ खेतमा खरानी हाल्न गएकी महिलाको बीभत्स हत्या, हत्यापछि गहना लुटपाट

नेपालभ्युज

गहुँ खेतमा खरानी हाल्न गएकी महिलाको बीभत्स हत्या, हत्यापछि गहना लुटपाट

जनकपुरधाम। सप्तरीमा एक महिलाको बीभत्स हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा महिलाको शव फेला परेको हो। फेला परेको शव छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीया भुटनीदेवी यादवको रहेको प्रहरीले जनाएको छ।

भुटनी देवी आइतबार साँझ गहुँ खेतमा खरानी छर्न भनी गएकी थिइन्। खरानी छर्न गएकी उनी राति अबेरसम्म नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए। तर आज बिहान उनको शव हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

भुटनीको टाउकोमा बियरको बोतलले हानेर हत्या गरेको हुन सक्ने स्थानीयहरूले अनुमान गरेका छन्। घटनास्थलमा तीन वटा बियरका बोतलमध्ये दुई वटा फुटेको र एउटा फालिएको अवस्थामा फेला परेको छ।

भुटनीलाई हत्याराहरूले लछारपछार गरी उनले लगाएको नाकको फुलीसहित अन्य गरगहना पनि लुटेका पीडितका परिवारजनले जनाएका छन्। भुटनी दूध बेचेर गुजारा गर्दै आइरहेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले घटना कसले र किन गरेको खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

यसअघि छिन्नमस्ता गाउँपालिकामा २ जना व्यक्तिको घाँटी रेटी हत्या भएको थियो। केही दिन पहिले पनि छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीको एक जना वृद्धको पनि घाँटी रेटी हत्या गरिएको थियो।

पछिल्ला घटनाको सूक्ष्म अनुसन्धान गरी हत्याराहरूलाई पक्राउ गर्न नसकेका कारण हत्याराहरूको मनोबल झनै बढदै गएको देखिएको छ। हत्याराहरूले दिनदहाडै खुलेआम घाँटी रेटेर हत्या गरिरहेको स्थानीयहरूले गुनासो पोखेका छन्।

प्रहरीले छिट्टै अनुसन्धान गरी दुवै घटनाका हत्याराहरूलाई कारबाही गर्नुपर्ने तथा सप्तरीको सुरक्षा व्यवस्था कडा गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved