चितवनमा थपिए नौ हजारभन्दा बढी मतदाता

चितवनमा थपिए नौ हजारभन्दा बढी मतदाता

चितवन। जिल्लामा मतदाता नामावली संकलन कार्य तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार १७ मंसीरदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्। अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराएका छन्। पुस ४ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा एक हजार ७८८ जनाले नाम दर्ता गराएको उनले जानकारी दिए।

उनका अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित एक हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराएका छन्। दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन्। दोस्रो चरणअन्तर्गत मतदाता नामावली संकलन कार्य पुस १८ गतेसम्म सञ्चालन हुनेछ।

जिल्ला प्रशासन कार्यालय चितवनमा अभियानका क्रममा एक हजार ३९ जनाले नाम दर्ता गराएका छन्। जसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन्। जिल्ला निर्वाचन कार्यालयमा दुई हजार ६१३ जनाले नाम दर्ता गराएका हुन्। जसमध्ये एक हजार ३८१ पुरुष, एक हजार २३२ महिला रहेको कार्यालयको तथ्यांकले देखाएको छ। अभियानकै क्रममा स्थायी बसोबास अन्य जिल्ला भएर चितवनमा आएर मतदाता नामावली संकलन गराउने ५७२ रहेका छन्।

अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक/एक वटा दर्तास्थल राखिएको छ। जिल्ला निर्वाचन कार्यालयमा तीन वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली संकलन कार्यलाई तीव्र पारिएको कार्कीले जानकारी दिए। कार्यालयका अनुसार अभियान शुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए।

५ पुस २०७७ मा निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता रहेका थिए। जुन नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन्। २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ जना मतदाता थिए।

मतदाता नामावलीमा नाम संकलनका लागि राजनीतिक दलले चासो दिन थालेको कार्कीको भनाइ छ। उनले भने, “राजनीतिक दलहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न फारम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता काम गरिरहनुभएको छ।”

मतदाता नामावलीमा नाम दर्ता गर्न सक्कल नागरिकता, बसाइसराइ प्रमाणपत्र, विवाह दर्ताजस्ता आवश्यक कागजपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए। जिल्लामा तीन निर्वाचन क्षेत्र छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved