चितवनमा ९ हजारभन्दा बढी नयाँ मतदाता थपिए

चितवनमा ९ हजारभन्दा बढी नयाँ मतदाता थपिए
सांकेतिक तस्वीर

चितवन। जिल्लामा मतदाता नामवली संकलन कार्य तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामवली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामवलीमा नाम दर्ता गराएका छन्।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार १७ मंसीदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामवलीमा नाम दर्ता गराएका हुन्।

अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराएका छन्। ४ पुसदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा एक हजार ७८८ जनाले नाम दर्ता गराएको उनले जानकारी दिए।

उनका अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित एक हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराएका छन्।

दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन्। दोस्रो चरणअन्तर्गत मतदाता नामवली संकलन कार्य पुस १८ गतेसम्म सञ्चालन हुनेछ।

जिल्ला प्रशासन कार्यालय चितवनमा अभियानका क्रममा एक हजार ३९ जनाले नाम दर्ता गराएका छन्। जसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन्। जिल्ला निर्वाचन कार्यालयमा दुई हजार ६१३ जनाले नाम दर्ता गराएका हुन्। जसमध्ये एक हजार ३८१ पुरुष, एक हजार २३२ महिला रहेको कार्यालयको तथ्यांकले देखाएको छ।

अभियानकै क्रममा स्थायी वसोवास अन्य जिल्ला भएर चितवनमा आएर मतदाता नामवली संकलन गराउने ५७२ रहेका छन्। अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक/एक ओटा दर्तास्थल राखिएको छ।

जिल्ला निर्वाचन कार्यालयमा तीन ओटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामवली संकलन कार्यलाई तीव्र पारिएको कार्कीले जानकारी दिए। कार्यालयका अनुसार अभियान शुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामवलीमा नाम दर्ता गराएका थिए।

विसं २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता रहेका थिए। जुन नामवलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन्। विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ जना मतदाता रहेका थिए। मतदाता नामवलीमा नाम संकलनका लागि राजनैतिक दलले चासो दिन थालेको कार्कीको भनाइ छ।

उनले भने, “राजनैतिक दलहरुले मतदाता नामवलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता काम गरिरहनुभएको छ।” मतदाता नामवलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए। चितवनमा तीन निर्वाचन क्षेत्र रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved