एमसीसीको विरोधमा साना दलहरू (फोटो फिचर)

नेपालभ्युज

एमसीसीको विरोधमा साना दलहरू (फोटो फिचर)

काठमाडौं। मंगलबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा अमेरिकी परियोजना एमसीसी टेबुल गराउने तयारी गरे पनि सत्तारुढ दलबीच सहमति भएन।

सत्तारुढ दलबीच नै एमसीसीका विषयमा सहमति नहुँदा आजको संसद बैठकमा यो विषयले प्रवेश नपाएको हो। हिउँदे अधिवेशनको दोस्रो बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ४ पुसमा सर्वदलीय बैठक बोलाएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुँदा अन्य राष्ट्रिय दलको मान्यता पाएका दल भने सहभागी थिए।प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दलबीच नै एमसीसीका विषयमा तीन धार देखिएको थियो।

सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका नेताहरू एमसीसी पारित गर्नुपर्ने पक्षमा थिए। सत्ता गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने एमसीसी अहिलेको अवस्थामा पारित गर्न नसकिने बताउँदै संशोधनसहित पारित गर्नुपर्ने पक्षमा उभिए। भने, नेकपा समाजवादी एकीकृत समाजवादीलगायत अन्य पार्टी एमसीसी पारित गर्न नहुने पक्षमा थिए।

सरकारको नेतृत्व गरेका गठबन्धन दलबीच नै एमसीसीका विषयमा साझा अवधारणा विकास हुन नसक्दा एमसीसीको चर्चा जति नै भए पनि यस विषय संसदमा प्रवेश गर्न सकेको छैन।

एमसीसीका विषयमा राष्ट्रिय राजनीतिक दलबीच सहमति हुन नसक्दा सडकमा एमसीसीको विपक्षमा प्रदर्शन हुँदै आएको छ। यसअघि २८ मंसीरमा बसेको संसदको हिउँदे अधिवेशनको पहिलो बैठकका दिन एमसीसी पारित गर्न नहुने पक्षमा प्रदर्शन भएको थियो।

मंगलबार संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्दै गर्दा पनि विभिन्न सरोकारवाला निकायले एमसीसीको विरोध गर्दै संसद भवनअघि बानेश्वरमा प्रदर्शन गरेका थिए। आजको संसद बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो।

यसैबीच एमसीसीको विरोधमा आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको छ। नेकपा (विप्लव) समूह, नेकपा (मसाल), वैज्ञानिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाललगायतले एमसीसको विरोधमा प्रदर्शन गरेका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved