फिल्मी शैलीमा प्रहरीलाई छलेर भाग्दा दुर्घटना, समातिए २० किलो गाँजासहित

फिल्मी शैलीमा प्रहरीलाई छलेर भाग्दा दुर्घटना, समातिए २० किलो गाँजासहित

जनकपुरधाम। धनुषामा भारतीय गाडीमा गाँजा तस्करहरू फिल्मी शैलीमा प्रहरीलाई छलेर भाग्न खोज्दा दुर्घटना भएको छ। दुर्घटनापश्चात् एक भारतीय नागरिक लागुऔषध गाँजा सहित पक्राउ परेका छन्।

शनिबार राती बी आर ३२ के ९१२७ नम्बरको स्कार्पियोमा सवार पाँच जना शंकास्पद व्यक्तिहरू महोत्तरीको बर्दिबासबाट ढल्केबरतर्फ आइरहेको विशेष सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर प्रदीप सुबेदीको कमाण्ड चेकजाँचमा खटिएको थियो।

चेकजाँचका क्रममा उक्त स्कार्पियोलाई ढल्केबर चेकप्वाइन्टमा चेकजाँचका लागि रोक्न खोज्दा उनिहरूले प्रहरीलाई छलेर गाडी जनकपुरतर्फ कुदाएका थिए। गाडी नरोकी भागेपछि प्रहरीले उक्त गाडीको पिछा गर्‍यो। प्रहरीले पिछा गरेपछि गाडीबाटै गाँजा भएको प्लाष्टिकको बोरा फालेर तीव्र गतिमा भाग्न खोज्दा उक्त स्कार्पियो नक्टाझिज स्थित बसही खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको इन्स्पेक्टर सुबेदीले बताए।

इन्स्पेक्टर सुबेदीकाअनुसार दुर्घटना हुनासाथ गाडीमा सवार पाँचै जना गाडीबाट कुदेर खेततिर भागेका थिए।

प्रहरी टोलीले गाडीबाट फ्याकेका गाँजाको ४ पोकालाई नियन्त्रणमा लिई भाग्नेहरूलाई खोजतलास गर्दा ऊखुबारीमा लुकेर बसेका एक जनालाई पक्राउ गर्न सफल भएको र अन्य चार फरार रहेको इन्स्पेक्टर सुबेदीले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत वडा नं ४ बस्ने २२ वर्षीय विजय कुमार महतो उनले‍ बताए।

प्रहरी निरीक्षक सुबेदीका अनुसार गाडीबाट फालेको पोकाबाट करीब २० केजी गाँजा बरामद भएको छ।

पक्राउ परेका महतो र गाडी समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved