आफ्नो पक्षबाट महामन्त्रीको साझा उम्मेद्वार बन्ने प्रयासमा गगन

पौडेल समूहमा सभापतिका लागि साझा उम्मेदवार तय गर्न बसेको बैठकले निष्कर्ष निकाल्न नसक्दै गर्दा थापाले भने आफूलाई साझा हिसाबमा प्रस्तुत गर्ने प्रयास गरेका हुन्।

नेपालभ्युज

काठमाडौं। कांग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका गगन थापाले पौडेल समूहबाट महामन्त्रीको साझा उम्मेदवार बन्ने प्रयास गरेका छन्।

पौडेल समूहमा सभापतिका लागि साझा उम्मेदवार तय गर्न बसेको बैठकले निष्कर्ष निकाल्न नसक्दै गर्दा थापाले भने आफूलाई साझा हिसाबमा प्रस्तुत गर्ने प्रयास गरेका हुन्। पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्।

यो समूहबाट १३ औँ महाधिवेशनमा महामन्त्री पदमा विजयी शंशाक कोइराला पनि सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका थिए। पछिल्लो समय भने शंशाकले आफू सभापतिको दाबेदार नभएको बताएका छन्। यद्यपि, यो समूहमा सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास सफल हुन सकेको छैन।

शंशाक र शेखरले सहमतिका लागि रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउन सकिने बताए पनि प्रकाशमान सिंह त्यसमा सहमत छैनन्। यो समूहले पौडेललाई सभापतिको साझा उम्मेदवार बनाएको खण्डमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका अर्का नेता विमेलेन्द्र निधिले पनि सहयोग गर्ने बताएका छन्।

यी सबैका बाबजुत सिंहले सभापतिमा आफ्नो दाबेदारी छोडेका छैनन्। सिंहले सभापतिमा आफ्नो दाबेदारी नछाड्दा शुक्रबारदेखि शुरु भएको महाधिवेशनमा हालसम्म यो पक्षबाट सभापतिको साझा उम्मेदवार खोज्ने प्रयास सफल भएको छैन।

महाधिवेशनमा पौडेल पक्षले सभापतिको साझा उम्मेदवार नबनाएको खण्डमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न नसकिने यसअघि नै बताइसकेको छ। देउवालाई कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला र उनको समूहले समर्थन गर्ने तय गरेका छन्। सिटौला समूहले महामन्त्रीमा प्रदीप पौडेललाई अघि सार्दै यो महाधिवेशनमा आफ्नो समर्थन देउवालाई हुने तय गरिसकेको हो।

सिटौला पार्टीको १३ औँ महाधिवेशनका ‘किङ मेकर’ हुन्। शुरुवाती चरणमा देउवा र पौडेलसँग सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला पहिलो चरणमा प्रयाप्त मत ल्याउन सकेनन्। दोस्रो चरणमा पुगेको मतदानमा सिटौलाले देउवालाई समर्थन गरेका थिए। यो महाधिवेशनमा पनि सिटौलाले देउवालाई नै समर्थन गर्दैछन्।

देउवा पक्ष महाधिवेशनमा सशक्त रुपमा अघि आउँदै गर्दा उनको प्रतिस्पर्धी अर्को समूह भने सभापतिको उम्मेदवार नै तय गर्न नसकेको हो। सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासबीच गगन थापाले भने समूहबाट सभापतिको दाबेदारी गर्दै आएका शेखर कोइराला र प्रकाशमान सिंह दुवै पक्षबाट महामन्त्रीको साझा उम्मेदवार बन्ने प्रयास गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved