एमाले महाधिवेशनपछिको चुनौती

नेतृत्वमा सर्वसम्मत ! दोस्रो तह व्यवस्थापनमा सकस

नेपालभ्युज

नेतृत्वमा सर्वसम्मत ! दोस्रो तह व्यवस्थापनमा सकस

काठमाडौं। आसन्न १० औं महाधिवेशनबाट नेतृत्वमा सर्वसम्मतिको प्रयत्न थालिएको नेताहरूले दाबी गरेका छन्। पार्टीका नेताहरूले नेतृत्व सर्वसम्मत तवरमा चयन हुने सार्वजनिक रूपमै बताउँदै आएका छन्।

यो पढ्नुहोस्

‘एमालेमा ओलीको विकल्प छैन, उहाँको आलोचना गर्ने व्यक्ति नेपाली होइन’

महाधिवेशन उद्घाटनस्थल अवलोकनका लागि चितवन पुगेका एमाले नेता प्रदीप ज्ञवालीले हिजो (बिहीबार) सञ्चारकर्मीमाझ नेतृत्वमा केपी ओली नै दोहोरिने बताए।  यस्तै पार्टीको संस्थापन इतर मानिएका नेता सुरेन्द्र पाण्डेले पनि नेतृत्वमा ओलीको विकल्प नदेखिएको अभिव्यक्ति दिएका थिए।

नेताहरूले नेतृत्वमा ओलीलाई प्रतिस्थापन गर्न सक्ने नेता नै नरहेको दाबी गर्दै गर्दा अध्यक्ष ओली पनि नेतृत्वमा पुनः दोहोरिने तर्खरमा छन्। तर दोस्रो तहका नेताहरूको व्यवस्थापनको प्रश्न भने मुख्य बन्दै गएको छ।

पार्टीको नवौं महाधिवेशनबाट महासचिवमा निर्वाचत ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षमा उठ्ने तयारीमा छन् भने विष्णु पौडेल, सुरेन्द्र पाण्डेलगायत नेताहरूले महासचिव पदमा दबेदारी गर्ने बुझिएको छ।

पाण्डे नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले पराजित भएका थिए। पौडेल एमाले र माओवादी एकतापश्चात् गठन भएको तत्कालीन नेकपाका महासचिव थिए। त्यसैले पनि यो पटकको महाधिवेशनमा यी दुवै नेताले महासचिवको दाबेदारी प्रस्तुत गर्ने आकलन गरिएको छ।

महासचिव पदमा यी दुवै नेताका अलावा अन्य नेताको पनि दाबेदारी पर्ने अपेक्षा गरिएको छ। महासचिव पदका लागि धेरै नेताले आकाक्षा राख्दै गर्दा पार्टीको विधानमा भने १ जना मात्रै महासचिव हुने गरिएको छ।

यही असोजमा सम्पन्न पार्टीको पहिलो विधान महाधिवेशनले पार्टीमा एक जना मात्रै महासचिव राख्ने निर्णय गरेको छ।

यस्तै तत्कालीन नेकपा विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी नेताहरूलाई व्यवस्थापन गर्ने कार्य पनि ओलीका लागि चुनौती बन्ने देखिन्छ। नेकपा विभाजनपछि एमालेमै रहेका रामबहादुर थापा, लोकराज भट्ट, टोमबहादुर रायमाझीलगायत नेताको व्यवस्थापन ओलीले कसरी गर्छन् त्यो महत्वपूर्ण हुनेछ।

पार्टी अध्यक्ष ओलीले पूर्वमाओवादी नेता रामबहादुर थापालाई बागमती प्रदेश इन्चार्जको जिम्मा दिए। यस्तै सुदूरपश्चिममा पार्टीका इन्चार्ज रहेका उपाध्यक्ष भीम रावलको ठाउँमा पनि पूर्वमाओवादी नेता लेखराज भट्टलाई उक्त जिम्मेवारी दिएका थिए। यद्यपि महाधिवेशनपछि बन्ने २२५ केन्द्रीय सदस्य र १५ जनाको पदाधिकारी समितिमा कस्तो भूमिका दिन्छन् वा दिँदैनन् त्यो महत्वपूर्ण हुनेछ।

पार्टी नेतृत्व सर्वसम्मतले चयन गर्ने बताउँदै गर्दा पार्टी पदाधिकारी चयनमा भने नेतृत्व पंक्तिलाई समस्या देखिने पार्टीका एक नेता बताउँछन्।

भन्छन्, “पार्टी नेतृत्वले सर्वसम्मतले नेतृत्व चयन गर्ने बताए पनि नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना कम देखिन्छ।” पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने संकेत गरेको तर्फ इंगित गर्दै ती नेताको यस्तो भनाइ आएको हो।

यो पढ्नुहोस्

सर्वसम्मत नेतृत्वको खोजीमा एमाले, भीम रावलको काउन्टर

यस्तै लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेताको भूमिका कस्तो हुने भन्ने प्रश्नले पनि महत्व राख्ने छ।

विधान महाधिवेशनको उद्घाटन सत्रलाई अस्वस्थताका कारण ओलीले पूरा सम्बोधन गर्न नसकेपछि शंकर पोखरेललाई ओलीले आफ्नो बाँकी लिखित भाषण वाचन गर्न लगाएका थिए। ओलीले पोखरेललाई आफ्नो बाँकी भाषण वाचन गर्न दिएको घटनालाई ओलीको उत्तराधिकारी पाखेरेल त होइनन् भन्ने कोणबाट पनि विश्लेषण भएको थियो।

आफ्नो उत्तराधिकारीका रूपमा प्रस्तुत गरेका पोखरेललाई ओलीले महाधिवेशनपश्चात कस्तो भूमिका दिन्छन् भन्ने कुराले पनि पार्टीको आगामी नेतृत्वको विषयमा धेरै कुरा प्रस्ट गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved