सर्वसम्मत नेतृत्वको खोजीमा एमाले, भीम रावलको काउन्टर

पार्टीभित्र आगामी १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरूले बताए पनि रावलको उम्मेदवारी घोषणाले यो सम्भव देखाउँदैन।

नेपालभ्युज

सर्वसम्मत नेतृत्वको खोजीमा एमाले, भीम रावलको काउन्टर

कठमाडौं।  नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने घोषणा गरे। गत मंगलबार आयोजित एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा रावलले कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएका थिए।

पार्टीभित्र आगामी १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरूले बताए पनि रावलको उम्मेदवारी घोषणाले यो सम्भव देखाउँदैन। तर बिहीबार (आज) चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष सर्वसम्मत हुने तर्क गरे।

विभाजनपछिको पहिलो महाधिवेशन भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयासमा पार्टी रहेको उनको भनाइ थियो।

हालै मात्रै विभाजन भएको पार्टीलाई यसले खासै प्रभाव नपारेको देखाउन पनि एमालेले १० औँ महाधिवेशनको तयारी सोही रूपमा गरेको छ। पार्टीभित्र अन्तर्विरोध र विवादले राम्रो सन्देश नजाले एमालेको बुझाइ छ। जसका कारण पनि ऊ सहमतिमा नेतृत्व छान्ने प्रयत्नमा छ।

महाधिवेशन मूल व्यवस्थापन समितिका उप-संयोजक रहेका सुरेन्द्र पाण्डे पनि नेतृत्व सर्वसम्मतिमा चयन हुने बताउँछन्। “नेतृत्वमा ओलीको विकल्प तत्कालन अरू देखिँदैन।” पार्टीको १० औँ महाधिवेशन एकताको महाधिवेशन हुने पार्टीका नेताहरू बताउँछन्। सर्वसम्मतिमा नै नेतृत्व चयन हुने उनीहरूको विश्वास छ।

माधव पक्षबाट आएका १० जनाको रणनीति अस्पष्ट 

एमाले नेताहरूले पार्टी नेतृत्व सर्वसम्मतिमा चयन हुने भन्दै गर्दा माधव नेपाल पक्षबाट एमालेमा समाहित भएका १० नेताहरूको रणनीति आगामी महाधिवेशनमा के हुन्छ स्पष्ट छैन। महाधिवेशन मूल व्यवस्थापन समितिका उप-संयोजक रहेका पाण्डेबाहेक नेताले खुलेर ओलीको पक्षमा बोलेका छैनन्। एकाध नेताले सार्वजनिक अभिव्यक्तिमा ओलीको सर्मथन गरेको देखिए पनि उनीहरूको आन्तरिक तयारीको विषय भने अझै स्पष्ट भइसकेको छैन।

१० बुँदे कार्यान्वयन हुने प्रतिबद्धतापछि माधव नेपाललाई छोडेर एमालेमै फर्किएका उनीहरू सहमति कार्यान्वयन नभएको बताउँदै आइरहेका छन्। सहमतिअनुसार पार्टीले ३ जेठ २०७५ को अवस्थामा फर्काउनुपर्ने सहमति भए पनि पूर्ण रूपमा सहमति लागू नभएको उनीहरूको गुनासो अझै छ।

पार्टी अध्यक्ष ओली पनि नेतृत्व सर्वसम्मत नै चाहन्छन्। केही समयअघि भएको पार्टीको वडा र पालिका तहको अधिवेशनलाई केन्द्रीय कार्यालयबाट उद्धाटन गर्दै पार्टी अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह नै गरेका थिए।

पार्टीपंक्तिले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भन्दै गर्दा उपाध्यक्ष रावलको अभिव्यक्तिले भने पार्टीभित्र केही असमञ्जस्यको अवस्था सिर्जना भएको देखिन्छ। एमालेले आसन्न महाधिवेशनमा सहभागी हुन विश्वभरका ६२ दलका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।

१० देखि १२ मंसीरसम्म चितवनमा आयोजना हुने पार्टीको १० औँ महाधिवेशनमा सहभागी हुन पार्टीले चीन, भारत, भियतमान, लाओस, क्युवालगायत देशबाट प्रतिनिधिलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको हो।

मित्रपार्टी, भाइचारा पार्टी र नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका सबै राष्ट्रका अतिथिलाई पार्टीले महाधिवेशनमा सहभागिताका लागि पत्राचार गरेको हो। एमालेको दशैँ महाधिवशेनमा सहभागी हुन १९ सय १९ जना प्रतिनिधि सहभागी हुँदैछन्। २७ कात्तिकमा हुन् निर्वाचनमार्फत उनीहरूको चयन हुनेछ। प्रतिनिधि चयनलगत्तै नेतृत्व चयनका लागि सहमतीय प्रणाली अपनाउने पार्टीले बताएको छ।

पार्टीको आगामी महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछ। जसमा १५ जनाको पदाधिकारी रहेने १५ देखि १७ असोजमा ललितपुरमा सम्मपन पार्टीको पहिलो विधान महाधिवेशनले निर्णय गरेको थियो। एमालेले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना रहने गरी पदाधिकारी चयन गर्नेछ।

उक्त विधान अधिवेशनबाटै ओलीले अध्यक्ष पदमा दोहोरिने संकेत गरिसकेका छन्। ओलीको संकेतलाई मलजल गर्नकै लागि विधान महाधिवेशनले ७० वर्षको उमेर हद लागू गरेको छ। ७० वर्ष उमेर पूरा नहुँदासम्म पदाधिकारीमा उम्मेदवारी दिन पाइने र पदाधिकारी रहँदै ७० वर्ष उमेर पुगे पनि पूर्ण कार्यकाल काम गर्न पाउने गरी विधान संशोधन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved