दशैं : गाउँ फर्किने ‘पुस्तेनी’ पर्व

दशैं : गाउँ फर्किने ‘पुस्तेनी’ पर्व
तस्वीर: गोपेन राई

‘ती पल्ला घरे लाहुरे दाइले
परदेशको कोसेली बाँड्दैछन्
लाहुरेनी भाउजू मुसुमुसु हाँस्दै
भित्र र बाहिर गर्दैछिन्’

१७ वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो कालजयी गीत आज पनि दशैंमा गुन्जिने लोकप्रिय गीत हो। दशैं नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन्। मुगलानबाट लाहुरे दशैंमै घर फर्किन्छ। सुनसान गाउँ गुलजार बन्छ। निरस अनुहार उज्यालिन्छ।

त्यस्तै ‘असार’ कवितामा भूपि शेरचनको लाहुरे पनि छोटो बिदा लिएर दशैंमै घर फर्किन्छ।

रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा शुरू भएदेखि दशैं घर फर्किने पर्वको रूपमा स्थापित भएको हो। अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दशैं घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो। त्यसैले गोर्खा भर्तीजत्तिकै पुरानो छ दशैंको यो सांस्कृतिक विम्ब।

उहिल्यै बुवा हजुरबाहरू ब्रिटिस लाहुरे हुँदाताका नै उनीहरूले दशैंलाई घर फर्किने पर्वको रुपमा स्थापित गरे। अरुबेला बिदा नपाइँदा पनि चाडबाडका बहानामा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्यो र यसरी दशैं घर फर्किने चाडका रुपमा स्थापित भयो।

तर घर फर्किने चाडका रूपमा दशैं स्थापित भएको करीब ६० वर्ष भएको संस्कृतविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति डा. जगमान गुरुङको ठम्याइ छ। गाउँ छाड्ने क्रम बढेको ५० देखि ६० वर्षजति भएको उनले बताए। मुगलानी र गोठालाहरूबीच व्यथा बिसाउने चौतारो दशैं बनेको उनी तर्क गर्छन्।

“गोठालो साथीलाई कोसेली बोकेर लाहुरे घर फर्किन्छ, गोठाले साथीले कुखुरा काटेर उसको सत्कार गर्छ,” उनी भन्छन्, “चाडबाडमा दुई दिन मात्रै भए पनि बसौँ भनेर आएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ।”

यसरी बिस्तारै दशैं गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको उनको तर्क छ।

दशैंलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ। हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दशैंमा घर फर्किन्थे। रोजगारीका सिलसिलामा परदेसिन बाध्य साधारणजनले दशैं भरिभराउ हुन्थे। यसरी बाध्यताले परदेशिएकाहरू घर फर्किने चाडका रूपमा दशैं स्थापित भएको ठम्याइ छ लेखक रामलाल जोशीको।

“मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन,” उनी भन्छन्, “त्यसैले अरुबेला जो जहाँ भए पनि दशैंको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दशैंको बेला रौनक छाउँछ।”

अघिल्लो वर्ष त हजुरबासँग टिका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दशैंमा घर फर्किनैपर्छ भन्ने मानसिकता आम मानिसमा घुसेको उनी बताउँछन्।

“अघिल्लो वर्ष मैले हजुरबासँग दशैंमा अन्तिमपटक टिको लगाएँ,” उनले भने, “त्यो टिको नलगाएको भए मलाई जिन्दगीभर पछुतो लाग्थ्यो होला।”

रोजगारीका लागि परदेशिएकाहरूले लामो बिदा नपाउने र यातायात लगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेशिएकाहरू एकैपटक दशैंमा घर फर्किन्थे। तर अहिले यातायात, सडक, पूर्वाधार लगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ।

तथापि, हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दशैंमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ। शहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदुर, श्रमिकहरू प्रायः दशैंमा घर फर्किन्छन् नै।

असोज महीनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने यस चाडलाई राज्यले नेपालीहरूको प्रमुख चाडका रुपमा स्थापित गरेको छ। देश गणतान्त्रिक धर्म निरपेक्ष भइसक्दा पनि दशैं राष्ट्रिय चाडकै रुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ। यसैले पनि दशैंमा गाउँ फर्किने संख्या ठूलो हुन्छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड संक्रमणको डर उत्तिकै रहे पनि घर फर्किनेको संख्यामा कमी आएको छैन। परिवेश फेरिए पनि पुस्तौँदेखि दशैंमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले चाडबाड नजिकिएसँगै नाकामा घर फर्किनेको भीड बढ्दै गएको बताए।

अहिले पढाइ र कामको सिलसिलामा काठमाडौंलगायत देशका ठूला शहरमा बहालमा बस्ने विद्यार्थी, मजदुर र श्रमिकहरू दशैंका बेला उसैगरी घर फर्किरहेको देख्न सकिन्छ।

सर्लाहीकी ४० वर्षीय प्रेम देवी राई काठमाडौंस्थित बल्खुमा घर फर्किने गाडी पर्खिरहेकी छन्। वर्षौंदेखि कालिमाटीको भैंसी सेडमा काम गर्ने उनी दुई छोरीसहित दशैंकै लागि घर जान लागेकी हुन्। कामको सिलसिलामा काठमाडौं आएकी उनी दशैंपछि पुन: काठमाडौं नै फर्किने बताउँछिन्। उनले दशैंमा परिवारका लागि काठमाडौंबाट काेसेलीहरू पनि बोकेकी छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दास यो वर्ष अघिल्लो वर्षको तुलनामा केही बढी मानिस काठमाडौँबाट बाहिरिने अनुमान गरिएको बताउँछन्। अघिल्लो वर्ष कोभिडका कारण भएको निषेधाज्ञाका कारण धेरै मानिस गाउँमै भएकाले काठमाडौंबाट वार्षिक २० लाख बढी बाहिरिने संख्या १२ लाखमा झरेको थियो।

अहिले निषेधाज्ञा खुकुलो भई धेरै मानिस काठमाडौँमा भएको र खोप पनि लगाएकाले गाउँ फर्किने संख्या बढ्ने अनुमान त्यसअनुसार यात्रु सहायता कक्ष, अग्रिम टिकटको व्यवस्था र जनशक्ति परिचालन गरिएको उनले बताए।

बद्लिदो संस्कृति, बढ्दो विकृति

मिठो मसिनो खाने, कमेरो लगाएर घर शृंगार्ने (रंग्याउने), शुभकामना आदानप्रदान गर्ने, चंगा उडाउने, पिङ खेल्ने, दुर्गा भक्तिपूजा गर्ने, मान्यजनसँग आर्शिवादको टीका थाप्ने आदि यो पर्वका विशेषता हुन्।

तर दशैं विस्तारै फेरिँदै गएको छ। भकारीमा अन्नबाली भित्र्याएसँगै भित्रिने पर्व दशैं अहिले मेसिनरी सामान भित्र्याएर शुरु हुन्छ। दशैंको शुभकामना व्यापारिक कम्पनीले विज्ञापनका रुपमा गर्ने गरेका छन् भने संस्कृति लोप हुँदै गएको छ।

अहिले दशैंका बेला आकाशमा चंगा उड्न छाडेका छन्, गाउँघरमा पिङ पनि लोप हुँदै गएका छन्। यसलाई सांस्कृतिक विचलनको नाम दिन्छन् संस्कृतविद् एवं प्रज्ञा प्रतिष्ठानका उपकूलपति गुरुङ।

जमानाअनुसारको परिवर्तन बताउँदै यसलाई आफैमा गलत भन्न नहुने तर संरक्षण गर्नुपर्ने संस्कृति भने विस्तारै लोप हुँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन्। अहिले ठूला गाउँमा पनि १५ प्रतिशतभन्दा बढी मान्छे नभएको र वृद्धहरूले गाउँ रुघेर बसेका उनले बताए। नेपाली संस्कृतिसँगै गाउँको एउटा इतिहास नै खतरामा भएको उनको भनाइ छ।

धेरैले रामको अयोध्या विजय दशैंको इतिहास रुपमा लिएर दशैं हिन्दूहरूको चाडका रुपमा पनि व्याख्या गर्ने गरेका छन्। तर डा. गुरुङ शक्ति र हतियारको पूजा गरी मनाइने दशैं नेपालीहरूको मौलिक चाड भएको बताउँछन्।

कतिपयले हिन्दूहरूको चाड भन्ने गरे पनि यसमा उनी सन्तुष्ट छैनन्। नेपालबाहेकका देशमा नेपालमा जस्तो दशैं नमनाइने भन्दै उनी यसलाई नेपालीको मौलिक पर्वका रुपमा लिनुपर्ने बताउँछन्। कोरियाका केटी बिहे गरेर बसेको गाउँको मान्छेले कोरियामा जमरा थापेको बताउँदै यो हाम्रो सांस्कृतिक विरासत भएको उनको भनाइ छ।

हरेक स्थानमा हरेक क्षेत्रमा केही न केही विकृति हुने बताउँदै उनी दशैंका पनि विकृति भएको र बढ्दै गएको बताउँछन्। रूखका हाँगाबिँगा मिलाउँदै गएजस्तो र धानमा धानजस्तै देखिने झार पन्छ्याएजस्तै संस्कृति र विकृति छुट्याउन सक्नुपर्ने उनी बताउँछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved