काठमाडौं। अस्पताल भन्नासाथ तपाईंको मनमा के आउँछ? डाक्टर, नर्स, बिरामी ? होइन त ? तर त्यतिले अस्पतालको सेवा पूरा हुँदैन। स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्यकर्मीजस्तै महत्त्व हुन्छ, सफाइकर्मीको पनि। कोभिड महामारीको क्रममा जसरी पहिलो पंक्तिमा उभिएर स्वास्थ्यकर्मीहरूले संक्रमितहरूको जीवन जोगाउन प्रयत्न गरे त्यसरी नै अस्पताललाई स्वच्छ राखेर स्वास्थ्य सेवा प्रवाहमा साथ दिए अस्पतालका सफाइकर्मीले। संक्रमणको जोखिम उनीहरूलाई पनि थियो। तर, हिम्मत हारेनन्। आफ्नो जिम्मेवारी पूरा गर्ने तिनै स्वास्थ्य सहयोगीहरूको कथा हो यो।
शोकका साक्षी
थाहा थियो उनलाई काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड संक्रमितहरूको उपचार भइरहेको छ। थाहा पाउँदा पाउँदै पनि उनले सोहि अस्पतालमा काम गर्ने जमर्को गरिन्।
काठमाडौं डल्लु निवासी २३ वर्षीय आशा श्रेष्ठ अहिले टेकु अस्पतालको कोभिड वार्डमा सहयोगीको रुपमा आबद्ध छिन्।
माघ ०७६ मा नेपालमा पहिलो कोभिड संक्रमित फेला परेसँगै सरकारले विभिन्न सरकारी अस्पताललाई ‘कोरोना अस्पताल’मा परिणत गर्दै कर्मचारी थपेको थियो। त्यसैक्रममा उनी पनि टेकु अस्पतालमा सफाइकर्मी हुन आइपुगेकी थिइन।
पहिला त उनले कोरोना भाइरस ‘हावाबाट पनि सर्छ’ भन्ने सुनेकी थिइन् रे। त्यसैले संक्रमितको नजिक जाँदा पटक–पटक डर नलागेको होइन। तर हिम्मत बढाउँदै गइन्। संक्रमितलाई राखिएको आइसीयू वार्ड सफा राख्न छोडिनन्।
“आफ्नै उमेरकाको मृत्यु भएको देख्दा कतिपटक त काम गर्दागर्दै रोएँ” – आशा श्रेष्ठ, टेकु अस्पताल
“शुरूमा त निकै डर लाग्थ्यो। आफू भन्दा पनि परिवारमा कसैलाई केही हुने हो किन भन्ने हुन्थ्यो”, शुरुवाती अनुभव सुनाउँदै आशा भन्छिन्, “शुरुशुरुमा त पीपीई लगाएर आठ, नौ घण्टा काम गर्न पनि निकै गाह्रो भयो। अहिले भने बानी परिसकेको छ।”
कोभिडको कारण निधन भएकाहरूको दृश्यले भने उनी निकै अत्तालिइछन्।
कोभिड महामारीको पहिलो लहरमा संक्रमितको संख्या थोरै थियो। मृतक पनि कम। मृतकमध्ये अधिकांश ज्येष्ठ नागरिक वा दीर्घ रोगी थिए।
दोस्रो लहर भने पहिलोजस्तो रहेन। अस्पतालमा चाप बढ्यो। सरसफाइमा पनि चुनौती थपियो। काम गर्ने समय पनि बढ्यो। संक्रमितको संख्या ह्वात्तै बढ्यो। मृत्यु हुनेको पनि। मृतकमध्ये युवा पनि प्रशस्तै थिए।
आफ्नै उमेरका संक्रमितको मृत्यु भएको देखेर आशा अत्तालइिन्।
“आफ्नै उमेरकाको मृत्यु भएको देख्दा कतिपटक त काम गर्दागर्दै रोएँ”, उनी सुनाउँछिन्।
कोभिडकै कारण एउटा परिवारकै निधन भएको घटनाले भने उनलाई चिमोटिरहन्छ। अझै पनि उनको आँखा वरिपरि त्यो परिवारको दृश्य घुमिरहन्छ।
“आमा, बुबा र २८ वर्षे छोरा संक्रमित भएर आएका थिए। छोरा लाहुरे रैछन्। आएकै दिन बाबु र छोरालाई आईसीयूमा राखेर उपचार शुरु भयो। आमा भने क्याबिनमै थिइन् केही दिनपछि उनलाई पनि आईसीयूमा लगियो। शुरुमा आमा र बुबाको मृत्यु भयो। छोरालाई त्यो खबर सुनाइएन। पाँच दिनपछि त छोराको पनि मृत्यु भयो”, आशा भन्छिन्, “अब परिवारमा एउटी छोरी मात्रै छिन्।”
यो घटनाले उनलाई धेरै पिडा दियो। बिर्सन खोज्दा पनि नसकेको सुनाउँछिन् उनी।
पहिला निजी अस्पतालमा काम गर्ने आशाको टेकु अस्पतालमा काम गर्दाको अनुभव बेग्लै छ।
“सरकारी अस्पतालमा निजीमा भन्दा स्वास्थ्यकर्मीदेखि सबैजना सहयोगी भावका छन्”, उनी भन्छिन्।
२० वर्षदेखि नै अस्पतालमा सहयोगीका रुपमा काम गर्न थाले पनि कोभिड महामारीपछि मात्रै आशा टेकु अस्पतालमा जोडिएकी हुन्।
कोभिड महामारीका कारण सरसफाइमा चुनौती थपिएको सुनाउँछिन् उनी। भन्छिन्, “अहिले जसरी पहिले मास्क, पन्जा र लगाएका लुगाहरू फुकालेर फरक–फरक ठाउँमा राख्ने गरिदैन थियो। भुँइ सफा गर्दा पनि अहिले त पहिलेको जस्तो नर्मल पानीले मात्र सफा गरिदैन। लगाएका बुटदेखि, कपडा सबै क्लोरिन पानीमा डुबाउनु पर्छ।”
अस्पतालले काम गरिसकेपछि लगाएका सबै लुगाहरू कसरी खोल्ने, लगाउने तालिम दिएको उनले बताइन्। संक्रमणबाट जोगिनका लागि मैले हरप्रयास गरेकैले अहिलेसम्म संक्रमणबाट जोगिन सकेको उनी सुनाउँछिन्।
भन्छिन्, “म सँगै काम गर्ने धेरै साथी संक्रमित भए, म अहिलेसम्म जोगिएकी छु।”
जोखिमका साथ सहयोगीका रुपमा अस्पतालमा दिन–रात खटिँदा गर्व महशुस भए पनि आशालाई तलब थाप्दा भने नरमाइलो लाग्दोरैछ। अरू अस्पतालका उनीजस्तै सहयोगीको पारिश्रमिक बढ्दा टेकु अस्पतालमा भने पुरानै तलब कायम छ।
“काम अनुसारको परिश्रमिक भइदिएको भए राम्रो हुन्थ्यो”, आशा भन्छिन्, “सरकारले जोखिम भत्ता भने दिरहेको छ यसले गर्दा केहि सान्त्वना मिलिरहेछ।”
बदलियो दैनिकी
ललितपुर कुसुन्ति बस्ने शान्ति गजुरेल (३५ वर्ष) १४ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहयोगिकारुपमा आवद्ध छिन्।
कोभिड महामारी आएसँगै दैनिकी नै फेरिएको सुनाउँछिन् उनी। “पहिले ६ घण्टा काम गरे पुग्थ्यो अहिले १२ घण्टा गर्नुपर्छ”, भन्छिन् उनी।
आशालाई जस्तै उनलाई पनि शुरुमा त पीपीई लगाएर काम गर्न निकै गाह्रो भयो। बिस्तारै बानी पर्दै गयो। बानी परेर के गर्नु ? अस्पतालमा संक्रमितको संख्या थपिँदै गयो। र, उनको डर पनि बढ्दै गयो।
“पहिला त कोरोना संक्रमितसँग नजिकिएर काम गर्छु भन्ने थाहा पाएर आफन्त पनि बाटोमा देख्दा मुख बटारेर हिँड्थे। पछि आफैँ संक्रमित भएपछि भने फोन गरेर अस्पतालमा बेड मिलाइदिन भन्न थाले।” – शान्ति गजुरेल, पाटन अस्पताल
संक्रमित राखिएकै वार्डमा शान्तिले सरसफाई गर्नुपर्छ अहिले। लामो समयसम्म अस्पतालमा काम गर्दा पनि पुरानो दैनिकीमा फर्किन सकेकी छैनन् उनी। पहिलो लहरको केही समय त उनी घर जान पनि सकिनन्। घरमा भएका स–साना छोराछोरी र वृद्ध सासु–ससुरालाई संक्रमण होला भन्ने भयले।
त्यसो त उनी आफैँ पनि संक्रमित भइन्। श्रीमान् र दुई छोराछोरी सबै संक्रमित भएर अस्पताल बस्नुपर्यो।
“धन्न कुनै जटिल समस्या भएन”, भन्छिन् उनी।
महामारीको डेढ वर्षमा शान्तिले निकै उतारचढाव देखेकी छिन्।
“पहिला त कोरोना संक्रमितसँग नजिकिएर काम गर्छु भन्ने थाहा पाएर आफन्त पनि बाटोमा देख्दा मुख बटारेर हिँड्थे”, उनी सुनाउँछिन्, “पछि आफैँ संक्रमित भएपछि भने फोन गरेर अस्पतालमा बेड मिलाइदिन भन्न थाले।”
संक्रमितहरूको उपचारमा संलग्नलाई सरकारले जोखिमभत्ता दिइरहेको भए पनि आफूहरूले भने गत महीनाबाट मात्रै पाउन थालेको बताउँछिन् उनी।
‘जागिर छोड्नेसम्म सोचेँ’
१३ वर्षदेखि पाटन अस्पतालमै सहयोगीका रुपमा काम गर्दै आइरहेकी रामेछापकी राधा बुढाथोकी (३२) लाई पनि पीपीई लगाएर काम गर्ने बानी पार्न निकै गाह्रो भयो। क्लोरिन पानीले सफा गर्न त अहिले पनि सकस नै छ।
“सफा गर्दा केमिकलहरू पानीमा मिसाउनुपर्छ, त्यसको बाफमात्र घाटिमा पर्यो भने सास फेर्ने गाह्रो हुन्छ। नाक बन्द हुने, घाँटि दुख्ने हुन्छ”, उनी सुनाउँछिन्।
“छोरीलाई संक्रमण भएपछि जागिरै छोड्ने सोचेँ ।” – राधा बुढाथोकी, पाटन अस्पताल
कतिसम्म भने उनले काम समेत छोड्ने विचार गरिन्। आफू संक्रमित नभए पनि १४ वर्षे छोरी संक्रमित भएपछि उनले त्यस्तो सोचेकी थिइन्।
“आइसीयू वार्डमा सरसफाइ गर्दा संक्रमितहरू छटपाएको देख्थेँ। मेरो छोरीलाई पनि त्यस्तै गाह्रो हुनेहोला जस्तो लाग्थ्यो”, राधा सुनाउँछिन्, “मसँगै गएको भाइरसले पो छोरीलाई संक्रमित बनाएको हो कि भन्ने लागेर जागिर नै छोड्दिन्छु भन्ने सोच पनि आयो। तर परिवारले छोड्न दिएन।”
तर समस्या त अर्को पनि थियो।
कोभिड संक्रमणकाले सुरुवाती दिनमा घरबेटीले उनलाई कचकच गरिरहे।
“शुरुमा त केही भनेका थिएनन् पछि वरिपरिकाले थाहा पाएपछि भने घरबेटीले किचकिच गर्न थाले”, राधा भन्छिन्, “छरछिमेकीले उकासेपछि ‘हामी पनि संक्रमित भइयो भने के गर्ने’ भनेर कचकच गर्थे। कामबाट थाकेर घर जाँदा बाटोमै छरछिमेकीले अस्पतालमा काम गर्ने मान्छेलाई अब टोलमै राख्ने होइन भनेको सुन्दा त कोठा सर्न मनलाग्थ्यो। तर न कोठा सर्ने समय थियो न त भनेजस्तो कोठा नै पाइन्थ्यो।”
भिडिओ
‘महामारीमा जीवन’ शृंखलाः
१. जिन्दगी बिथोलिदियो महामारीले, दुःखमा झन् सास्ती दियो सरकारले
२. दुःखका साथी भएनन् राजनीतिक दल
३. तिम्रा किताब खोइ त?
४. राहतको आशमा थिए दमकका सुकुमबासी, सरकारले डोजर चलायो
५. कोभिडले खोस्यो गाँस, त्यसैमा तिनाउले थपेको त्रास