एमसीसी उपाध्यक्षको भ्रमणले विवाद टुंग्याउने आशमा छन् प्रधानमन्त्री

एमसीसीसँगको सम्झौता संसद्बाट पारित गराउने क्रममा रहेका प्रधानमन्त्री देउवा दलहरुलाई सहमत गराउने प्रयत्नमा लागेका छन्। यही हप्तामा हुने एमसीसी उपाध्यक्षको भ्रमणले त्यसलाई बल पुर्‍याउनेमा उनी ढुक्क छन् ।

एमसीसी उपाध्यक्षको भ्रमणले विवाद टुंग्याउने आशमा छन् प्रधानमन्त्री
फाइल तस्वीर

काठमाडौं। संसद् अधिवेशन शुरु भएसँगै अमेरिकी अनुदान एमसीसीबारे विभिन्न अड्कलबाजी पनि चल्न थालेको छ।

यसबारे विभिन्न नेताहरूले आफ्ना विचार राखिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी सम्झौतालाई संसद्‍बाट अनुमोदन गराउनेतर्फ लागेका छन्। उनले आफ्ना दलका सांसदहरूलाई यसबारे नकारात्मक टिप्पणी नगर्न सुझाव दिएका कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्।

“हाम्रै पार्टी एमसीसीबारे प्रस्ट छ, हामीले नै यो सम्झौता गरेको हो”, भुसालले भनिन्, “मंगलबारको बैठकमा पनि प्रधानमन्त्री तथा सभापति देउवाले यसलाई अनावश्यक राजनीति नगर्नुपर्ने भन्दै कसरी अगाडि जाने भन्नेबारे चर्चा गर्नुभयो।”

देउवाको चासो देखिएसँगै यो परियोजना कसरी अघि बढ्छ भन्नेबारे सर्वत्र चासो देखिएको छ। कांग्रेसका नेताहरू भने यसबारे दलहरूबीच सहमतिमा तय हुने सम्भावना देखाउँछन्।

“संघीय संसद्को अधिवेशन शुरु भएको छ, अब दलहरूको बीचमा यसबारे एउटा सहमति हुन्छ होला”, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने।

ठाकुरको साथ

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीले मंगलबार नै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग एमसीसीलाई अगाडि बढाउने सम्बन्धमा कुराकानी गरेका थिए। प्रधानमन्त्री देउवाले एमसीसीमा सघाउन गरेको आग्रह अध्यक्ष ठाकुरले स्विकार गरेको स्रोतले बताएको छ।

प्रधानमन्त्रीको आकलनमा संसद्‍मा एमसीसी प्रस्ताव बढे नेकपा (एमाले), जसपा र लोसपाले पूर्ण समर्थन गर्ने सम्भावना छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले केही विरोध गरे पनि अन्ततः समर्थन पाउनेमा प्रधानमन्त्री देउवा विश्वस्त देखिन्छन्।

सबैको सहमति निर्माणका लागि सबै दलहरूसँग कुराकानी भइरहेको कांग्रेसकी सचेतक भुसाल बताउँछिन्। “यो प्रजातान्त्रिक देश हो,” भुसालले भनिन्, “प्रजातान्त्रिक देश भएका कारण अर्को प्रजातान्त्रिक देशसँग सम्झौता गर्न पछि पर्न हुँदैन।”

भुसालले एमसीसी परियोजनाबारे विभिन्न दलबीच उठेका विभिन्न प्रश्नबारे प्रस्ट पारिदिन नेपाल सरकाले एमसीसी मुख्यालयलाई पत्र पठाइसकेकाले चाँडै त्यसको जवाफ आउने पनि उल्लेख गरिन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार एमसीसीबारे उठेका विभिन्न ११ प्रश्नको जवाफ छिट्टै नै सार्वजनिक गर्ने तयारी भएको छ। यसै हप्ता एमसीसी उपप्रमुख फतेमा सुमार काठमाडौं आउन लागेकी छिन्। एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने गरी समर तीन दिनका लागि आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले गरेको छ।

उनले प्रधानमन्त्री देउवा सहित सबै राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको पनि बताइएको छ।

राजनीतिक दलका नेताहरूसँगको अन्तर्क्रियापछि पत्रकार सम्मेलन गरेरै समरले एमसीसीबारे उठेका प्रश्नहरूको जवाफ दिने बताइएको छ।

ओलीलाई सहमत गराउने प्रयत्न

सत्ता बहिर्गमन भएपछि एमसीसीको विपक्षमा देखिएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई सहमत गराउन नेपाली कांग्रेसले प्रयास गरिरहेको छ। केही दिनअघि प्रधानमन्त्री देउवाले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत ओलीसँग कुरा गरेका थिए।

कार्कीले ओलीसँग भेट्नुअघि एमालेकै अर्का नेता पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग पनि लामो छलफल गरिएको स्रोतले बताएको छ। यसरी गरिने अनौपचारिक भेटघाटले सहमतिको माहोल बनाउने कांग्रेसको विश्वास छ।

“सबै कुरा हल्ला गरेर हुन्छ भन्ने होइन”, कांग्रेस नेतृ भुसालले भनिन्, “दलहरूबीच हुने ट्रयाक टु संवाद पनि महत्त्वपूर्ण हुन्छ।”

भुसालले एमाले अध्यक्ष ओली एमसीसीको विपक्षमा उभिनै नसक्ने दाबी पनि गरिन्। “यो उहाँको नौतिकताले दिन्छजस्तो मलाई लाग्दैन। उहाँ आफैंले संसद्मा उभिएर कति पटक यसको पक्षमा बोलेको अभिलेख नै छ।”

दाहालको आरोप

एमसीसी परियोजना बढ्ने देखिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हरेक दिनजसो यसबारे टिप्पणी गर्न थालेका छन्। २२ भदौमा दाहालले एमसीसी जस्ताको तस्तै पारित गर्न नसकिने धारणा राखेका थिए। २३ भदौ बिहानै सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल वैरागीको २२ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले देशीविदेशी शक्तिहरूले वर्तमान सत्ता गठबन्धन भत्काकउनकै लागि एमसीसी परियोजना अहिले अगाडि बढाउन प्रपञ्च रचिएको आरोप लगाए।

शुरुदेखि नै दाहाल एमसीसी संशोधनसहित पारित हुनुपर्नेमा अडिग छन्। वर्तमान सतागठबन्धन बन्दा पनि देउवा र दाहालबीच यसबारे कुराकानी भएको कांग्रेस नेताहरू बताउँछन्।

कांग्रेसका एक शीर्ष नेताका अनुसार दाहालले एमसीसीबारे अलग्गै संकल्प प्रस्ताव ल्याएर अघि बढ्ने मार्ग सुझाएका थिए। प्रधानमन्त्री देउवा भने यही हप्तामा हुन लागेको एमसीसी उपप्रमुखको भ्रमणले धेरै विषयको टुंगो लगाउनेमा विश्वस्त छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved