प्रचण्ड भन्छन्, एमसीसीको प्रयोग गरेर गठबन्धन भत्काउन खोजिँदैछ’

एमालेको बलियो गुट-उपगुट प्रति सशंकित

नेपालभ्युज

प्रचण्ड भन्छन्, एमसीसीको प्रयोग गरेर गठबन्धन भत्काउन खोजिँदैछ’
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई उचालेर सत्ता गठबन्धन भत्काउन खोजेको आरोप लगाएका छन्। बुधबार सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल वैरागीको २२ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले प्रतिक्रान्तिकारीहरुले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

गणतन्त्र, संविधान र देशको रक्षाका लागि बनाएको गठबन्धन विरोधी शक्तिहरूले एमसीसी लगाएर भत्काउन लागेको प्रचण्डको आरोप छ। प्रचण्डले भने, ‘‘देशभित्र र बाहिरबाट गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। हामीले गणतन्त्र, संविधान र देशको रक्षाका लागि गठबन्धन भनेका छौँ। एकथरी एमसीसी लाइदिएपछि गठबन्धन भत्किन्छ भनेर लागेका छन्।’’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरू एमसीसी यथास्थितिमा पास गर्नु हुँदैन भन्ने पक्षमा रहेको बताए। ‘‘हामी यथास्थानमा एमसीसी हुँदैन भन्ने पक्षमा छौ’’, उनले भने, ‘‘तर, अर्को वर्ग गठबन्धन तोड्ने र प्रतिक्रान्तिलाई कसरी सघाउने भनेर घेरा हाल्ने प्रयासमा छ।’’

‘डलर भित्राएर एमालेले गुट-उपगुट बलियो बनाउँदै छ’
एमालेबाट अलग भएका माधवकुमार नेपालसँग निकटता बढाएका प्रचण्डले एमाले बलियो हुँदा आफूहरू संकटमा पर्ने आशय समेत व्यक्त गरे। विपक्षी दल एमालेले डलर भित्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको उनले आरोप लगाए।

प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीको नामको प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे। उनले भने, ‘‘एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य छैन। क्रान्ति गर्छौँ भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्नुपर्छ।’’

अहिलेको चुनावी प्रणालीबाट सामान्य मानिसले वडाको चुनावसमेत लड्न नसक्ने अवस्था भएको भन्दै निर्वाचन प्रणालीलाई बदल्नुपर्ने प्रचण्डको भनाइ छ। उनले त्यसतर्फ जाँदा सुनुवाइ नभए माओवादी केन्द्रले शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी ल्याउने बताए।

‘‘नयाँ आन्दोलन र विद्रोह चाहिएको छ, जसले हामी भित्रको फोहोर सफा होस्। आफूलाई बदल्न तयार हो कि होइन ?”, प्रचण्डले भने, ‘‘मैले ठीक गरेको छैन भन्नेतिर हाम्रो चिन्ता नै भएन, गल्ती त्यहीँ भएको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved