अझै उठाइएन काठमाडौंका मुख्य चोकका फोहोर

नेपालभ्युज

अझै उठाइएन काठमाडौंका मुख्य चोकका फोहोर

चार दिनदेखि फोहोर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन।

१८ दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थाले पनि कलंकी, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहोरको डङ्गुर अझै उस्तै नै छ।

नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन।

लामो समयदेखि फोहोर संकलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ। आगामी तीन दिनभित्र यसअघि जम्मा भएर बसेका सबै फोहोर सिसडोल लगिने कामपा वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

अहिले साविकअनुसार नै फोहोर व्यवस्थापनको काम भइरहको छ। “धेरै दिनको संकलित फोहोर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमित रूपमा फोहोर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भने।

१८ दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहोर जम्मा भएको बताइएको छ।

गत मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायत बैठकले फोहोर उठाउने निर्णय गरेको थियो।

मंगलबारको बैठकले सिसडोलसम्म जाने बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहोर व्यवस्थापन हुन थालेको हो।

महानगरले गत साउन ३२ गतेदेखि नै सार्वजनिक रूपमा सूचना जारी गरेर नगरबासीलाई घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो। सो सूचना सार्वजनिक भएको १८ हप्तापछि फोहोर व्यवस्थापनको काम भएको हो।

सिसडोलमा २०६२ सालमा दुई वर्षको मात्र फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आइएको छ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएको छ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ।

निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। १६ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ।

काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved