बुटवल । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताबिनै सञ्चालन भइरहेका १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले जानकारी दिए ।
अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए ।
‘दर्ताबिनै स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानुनी रुपमा सञ्चालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’
प्रजिअ रानाले दर्ता गरी मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशनसमेत दिइएको जानकारी दिए । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै सञ्चालित थिए । ‘फार्मेसी सञ्चालनको अनुमति लिए पनि क्लिनिक सञ्चालनको अनुमतति नलिएको पाइएपछि बन्द गरिएको हो,’ रानाले भने ।

बन्द गरिएका क्लिनिकमा सिद्धार्थनगरमा सञ्चालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा सञ्चालित क्लिनिक, होमटाउन फार्मेसीमा सञ्चालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा सञ्चालित क्लिनिक, नेपाल चम्सा पसलमा सञ्चालित क्लिनिक छन् ।
यस्तै, जिविका मेडिकल प्रालिमा सञ्चालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यसैगरी, लुम्बिनी प्थालोजी र न्यू ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ ।
बन्द गरिएका क्लिनिक र ल्याब सिद्धार्थनगर १२, १३ र वडा ७ का रहेका छन् । यीमध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् ।
अनुगमनका क्रममा यी स्वास्थ्य संस्थामध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमति लिनुपर्नेमा नलिइ सञ्चालनमा ल्याएको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए । यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उनले जानकारी दिए ।
Facebook Comment
Comment