निर्माण सकिएको चार वर्ष बितिसक्दा पनि सालझण्डी हाटबजार प्रयोगविहीन, लाखौं लगानी झाडीमा परिणत

निर्माण सकिएको चार वर्ष बितिसक्दा पनि सालझण्डी हाटबजार प्रयोगविहीन, लाखौं लगानी झाडीमा परिणत

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१० पानबारीमा निर्माण गरिएको सालझण्डी हाटबजार प्रयोगविहीन बनेको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा समेत हाटबजार अझै सञ्चालनमा आउन सकेको छैन ।

नगरपालिकाको ३८ लाख रुपैयाँ लगानीमा निर्माण भएको हाटबजार दुई चरणमा निर्माण सम्पन्न भएको थियो । हाटबजारस्थलमा सुविधा सम्पन्न शौचालय निर्माण र सडक स्तरउन्नतिको समेत काम गरिएको छ । उक्त स्थानमा व्यापारीहरूले चारैतर्फबाट व्यापार गर्न पाउने गरी १८ वटा सेड निर्माण गरिएको छ ।

अव्यवस्थित र परम्परागत रुपमा सञ्चालित हाटबजारलाई व्यवस्थित गर्दै आधुनिक बनाउने योजनाअनुरुप मुर्गिया, कलौनी र सालझण्डी गरी तीन स्थानमा हाटबजार बनाउने योजना बनेको सैनामैना–१० का वडाअध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । यही योजनाअनुरुप सालझण्डीलगायत ठाउँमा हाटबजार निर्माण गरिएको थियो ।

नगरका अन्य स्थान (मुर्गिया र कलौनी)का का हाटबजार सञ्चालनमा आएता पनि सालझण्डीको हाटबजार भने सञ्चालनमा आउन नसकेको हो । लाखौं लगानीमा निर्माण भएको हाटबजार सञ्चालनमा आउन नसक्दा अहिले उक्त स्थान ( हाटबजार) जंगलमा परिणत भएको छ । संरचनाभित्रै बोटबिरुवा उम्रिएर झाडी बनेको छ । निर्माण भएका सेड जीर्ण हुने अवस्थामा पुगेका छन् ।

अहिले निर्माण गरिएको हाटबजार पुर्वपश्चिम राजमार्गदेखि करिब ३०० मिटर पश्चिममा रहेको छ । नयाँ हाटबजार बस्तीबाट एकान्तमा रहेकाले व्यापारीले उक्त स्थानमा हाटबजार लगाउन नमानेको सैनामैना–१० का वडाअध्यक्ष घिमिरेले बताए । राजमार्गदेखि हाटबजार पुग्न बाटो सिधा जोडिए पनि बस्ती तर्फबाट वारपार गर्न घुमाउरो बाटो भएकाले समास्या भएको उनको भनाइ छ ।

‘हामीले सिधाबाटोका लागि सके पक्कीपुल नभए झालुङ्गेपुल बनाउनका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरेको भएता पनि अहिलेसम्म कतैबाट पनि समस्या सम्बोधन भएको छैन । पुल निर्माका लागि बजेट नभएकाले समास्या भएको छ’, उनले भने ।

सालझण्डीको पुरानो हाटबजार अहिले मुख्य राजमार्गकै छेउमा र बजारको भित्री बाटोमा सञ्चालन हुँदै आएको छ । जसका कारण स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको हो । साथै सवारी दुर्घटनाको जोखिमसमेत बढेको सरोकारवालाहरू बताउँछन् । अव्यवस्थित हाटबजारले बजारको साैन्दर्यतामा समेत असर पारेको स्थानीयको गुनासो छ ।

सैनामैना नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख सुरज न्यौपानेले भने हाटबजार सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि संघ, प्रदेश र पालिकाबाट बजेट नपरेकाले त्यसको बाँकी भौतिक संरचना निर्माण तथा सञ्चालन कार्य अघि बढ्न नसकेको गुनासो गरे ।

‘हाटबजार सञ्चालनका लागि आवश्यक थप पूर्वाधार विद्युत्, खानेपानी, बाउन्ड्री, नाली, इन्टरलक टायल पेभिङ, हाटबजार समिति बस्ने प्रशासनिक भवन निर्माणका लागि संघ, प्रदेश र पालिकाबाट बजेट परेन । यसले गर्दा बाँकी भौतिक संरचना निर्माण तथा सञ्चालन कार्य अघि बढ्न नसकेको हो,’ उनले भने ।

त्यसो त सालझण्डीको हाटबजारलाई व्यवस्थित र दिगो रुपमा सञ्चालनका लागि रात्रिकालीन हाटबजार, पार्क, सिमसार क्षेत्र, पोखरी र खोला छेउमा पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी एसियाली विकास बैंक (एडीबी)ले डीपीआर तयार गरिसकेको छ । तर काम भने अझै सुरु भएको छैन ।

‘एडीबीले आगामी आर्थिक वर्षमा आवश्यक प्रक्रिया पुर्याएर बाँकी रहेका सबै काम सुरु गर्ने प्रतिबद्धता जनाएका कारण हाटबजारसँगै पार्क पनि सञ्चालनमा आउने विश्वास भने अझै जीवितै छ,’ न्यौपानेले थपे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved