काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन आग्रह गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।
मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिन लागेकाले राप्रपाको सहयोगको अपेक्षा गर्दै देउवाले पत्र लेखेका हुन् ।
‘प्रदेशको नीत कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले जेठ २८ गते विश्वासको मत लिन लाग्नुभएको यस विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्न अनुरोधसहित कांग्रेसको तर्फबाट तपाईंलाई यो पत्र पठाएको छु’, देउवाको पत्रमा उल्लेख छ ।
राप्रपाले दिने विश्वासको मतले गण्डकी प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्न मात्र नभइ दलहरुबीच नयाँ विश्वास र सहकार्यको वातावरण बन्नेमा कांग्रेस विश्वस्त रहेको देउवाको भनाइ छ ।
तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले जेठ १४ गते दिएको परमादेश अनुसार पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
Facebook Comment
Comment