‘तिम्रा आँखा आँखा मेरो खेल्ने आँगन
तिमी भित्रभित्रै मेरा जूनतारा छन्
इर्ष्यालु आँखा बगाउँछन् छहारा
तिमी मै म लहराउँछु तिमी सहारा’
शहरको कोलाहलभन्दा पर, एउटा सानो संसार बसाउन पुगेको जोडी। कुनै भीडभाड छैन, छैन कुनै ठेलमठेल र दौडधूप। त्यस्तो कुनै ठूला सपना पनि छैनन् त्यो प्रेमिल जोडीका। एकअर्काको सहारा बनिबसेका छन्। त्यहाँभन्दा पर कुनै जिन्दगी पनि छैन।
आफैमा खुशी यो सानो संसारमा मृत्युको बतास चल्छ। लैजान्छ प्रेमिकालाई। जीवनसाथीले नासो छोडेको छोरीसँगै अपूरो, अधुरो, मधुरो संसार छोडेर। प्रियसीसँग बिताएका सुन्दर विगतका याद सँगाल्दै छोरीको ओठमा खेल्ने मुस्कानसँगै रमाउन थाल्छन् प्रेमी।
दयाहाङ राई, नुमा राई र मिरुना मगर अभिनित म्युजिक भिडिओको दृश्य हो यो। ३३ वर्ष पहिले श्रवण मुकारूङले लेखेको यो गीत रेबत राईको स्वरमा पुनः रेकर्ड भएको छ, पुरुष स्वरमा। गायक राईको आधिकारिक च्यानलबाट मात्रै २२ लाख बढीले हेरिसकेका छन्।
बन्यो यसरी
‘अरूलाई कहाली मलाई त पहरा
तिमीमै म लहराउँछु तिमी सहारा’
बार्दलीमा झुण्डिएको रेडियोबाट पहिलोपटक यो गीत सुनेका थिए रेबत राईले। पहिलोपटकमै स्वर, शब्द र संगीतले आकर्षण गरेको सुनाउँछन् उनी। तर कहिल्यै आफ्नो आवाजमा रेकर्ड गराउने उनले कल्पनासम्म गरेका थिएनन्।
काठमाडौँ आए उनी। संगीतकार शान्तिराम राईसँग चिनजान भयो। बसाइ पनि नजिकै भएकाले चिया गफ पनि हुन थाल्यो। सुन्दै, गुन्गुनाउँदै गर्दा उनलाई आफ्नै आवाजमा यो गीत रेकर्ड गराउने रूचि जाग्यो। तर आँट गरेर भन्न सकेनन्।
“एकदिन आँट गरेर ‘दाइ म तारेभीर मेल भर्जनमा गाउँछु नि’ भनेँ”, रेबत सुनाउँछन्, “उहाँले तुरुन्तै भन्नुभयो “भइहाल्छ लु गाऊ न त…।”
अनि उनले गीतकार श्रवण मुकारुङलाई सम्पर्क गरे। मुकारुङबाट पनि स्वीकृति पाए। त्यसपछि गायिका पवित्रा सुब्बालाई पनि सम्पर्क गरे, फोन उठेन। सम्पर्क हुन नसकेपछि उनले फेसबुकमा म्यासेज गरे- ‘दिदी म तपाईंको एकदमै ठूलो फ्यान हो। मलाई तारेभीर एकदमै मन पर्छ। मेल भर्जनमा गाउने सोचेको, अनुमति दिनुहुन्थ्यो कि भनेर…।’
तर जवाफ आएन। व्यग्रताका साथ दिन कुर्न थाले। दिन बित्दै गए- एक, दुई, तीन, पाँच…। जवाफ नआएपछि गीत पाउने आशा मर्न थाल्यो।
करीब २० दिनपछि उनको मोबाइलमा म्यासेजको घण्टी बज्यो। पवित्राले गीत गाउन अनुमति दिएकी थिइन्। खुशीको सीमा रहेन।
भिडिओका लागि ‘जोखाना’ नाटकका निर्देशक किरण चामलिङलाई अनुरोध गरे। कलाकारमा दयाहाङ राईलाई प्रस्ताव गरे। श्रवण मुकारुङका प्रशंसक दयाहाङ पनि तयार भएपछि शुरू भयो सुटिङ। फर्पिङमाथिको डाँडामा चामलिङको कथानक र निर्देशनमा दुई दिन लगाएर भिडिओ तयार भयो।
यसरी लेखिएको थियो ‘तारेभीर’
उमेरले ५६ पुगेका मुकारुङ यो गीत लेख्दा २३ वर्षे लक्का जवान थिए। मुकारुङका लागि त्यो समय नै रुमानी थियो। हरेक दिन केही न केही लेखिरहन्थे, सबैथोक बिर्सिएर लेख्थे। २०४२ सालदेखि नै रेडियो नेपालमा रेकर्ड भएर बज्न थालिसकेका थिए उनका गीत।
एक साँझ, रत्नराज्यलक्ष्मी क्याम्पसबाट कोठामा फर्किए मुकारुङ र डायरीमा कोर्न थाले, ‘तिमी तारेभीर…।’
मैतीदेवीको बहालवाला साँघुरो कोठामा तयार भयो गीत। तर कुन प्रेमिल सम्झनामा उनले यी शब्द लेखेका थिए, अहिले उनी आफैलाई याद छैन।
“कुन भावनामा, कुन आवेग र संवेगमा मैले यो गीत लेखेँ, यादै छैन”, मुस्काउँदै भन्छन् उनी।
गीत त तयार भयो। तर अहिले जस्तो सजिलो थिएन रेकर्ड गर्न। गायक/गायिकाले समय लिएको ६ महीनादेखि एक वर्षसम्म लाग्थ्यो रेकर्डिङको मौका पाउन। त्यसमाथि कुनै गायकको अनुरोधमा लेखेका पनि थिएनन् उनले यो गीत। मनको एउटा गाँठो फुकाएर कागजमा अक्षर पोखे र त्यसै कोठाको एक कुनामा थन्काए डायरी।
संगीतकार शान्तिराम राई खोटाङबाट आएर काठमाडौंमा संघर्षरत थिए। श्रवण र शान्तिरामको सामान्य चिनापर्ची दोस्तीमा बदलिँदै गएको समय थियो त्यो। एकदिन श्रवण सँगै हुँदा शान्तिरामले ती शब्द सुने। गुन्गुनाउँदै निस्किए। केही दिनपछि श्रवण र शान्तिरामले सँगै बसेर धून बनाए, गीतमा शान्तिरामले संगीत भर्ने भए। गायिका मनिला सोताङले गीत रेकर्ड गर्ने पक्का भयो। यसैगरी केही दिन बितेर गए।
तर मनिलाको समय मिलेन। अन्य गायक पनि आए गए तर रेकर्डिङको प्रक्रिया अघि बढेन।
र यो त्यही समय थियो, धरानबाट काठमाडौं आएर पवित्रा गीतमै केही गर्छु भनेर संघर्ष गरिरहेकी थिइन्। उनले एल्बमको तयारी गरेकी थिइन्, एल्बमका लागि गीत तयार थिए। त्यसमा एउटा गीत थप्ने चाहना उनको थियो। सोही क्रममा पवित्राको भेट भयो मुकारुङसँग। पवित्रालाई गीत चाहिएको थियो। पवित्राको अनुरोधसँगै मुकारुङलाई झट्ट ४ वर्षअघि लेखेर बिर्सिराखेको त्यो गीतको सम्झना आयो।
संयोगले पवित्राको बसाइ पनि मैतीदेवीमै भएपछि शुरुमा त उनी भेटघाटकै लागि मात्र भनेर गएका थिए। तर जब पवित्राको स्वर सुने, उनले पवित्राको स्वरमा भेटे अरुणा लामाको फ्लेबर। र गीत दिन तयार भए उनी। त्यसपछि रेकर्ड भयो गीत, जसले पवित्रालाई नेपाली सांगीतिक क्षेत्रमा राम्रै स्थापित गर्यो। पहिलै एल्बमबाट राम्रो प्रशंसा बटुलिन उनले।
गीतका लागि उनले अहिलेसम्म गीतकारले रोयल्टी भने लिएका छैनन्। उनले मित्रताका हिसाबले गीत दिएकाले रोयल्टीको अपेक्षा पनि गरेनन्। तर पुरुष आवाजमा आएपछि उनी रेबतको प्रशंसा भने गर्छन्।
“मलाई गीत यसैले गाउनुपर्छ भन्ने हुन्न”, उनले भने, “रेबतले आफ्नै स्टाइलमा अर्गानिक रुपमा गाएको छ। नयाँ भर्जन पनि मलाई एकदमै मन परेको छ।”
सदावहार गीत
त्यसो त ‘तिमी तारेभीर…’ अहिले आएर चर्चित भएको होइन। यो त नेपाली संगीत आकाशमा सधैँ बजिरहेको र बजिरहने गीत हो। २९ वर्ष पहिला पवित्रा सुब्बाको यो गीत आउँदा पिरती गाँस्ने तरिका बेग्लै थियो।
प्रियजनको नाममा कोरा कागजमा दुई चार शब्द कोरेर जनाइन्थ्यो प्रेम। समाज पनि कहाँ स्वच्छन्द थियो र?
प्रेम अघोषित वर्जित थियो। लुकिछिपी भेट्नुपर्थ्यो। तर समय फेरियो। तरिका बदलियो। समाजको नजर पनि फराकिलो हुँदै गयो। तथापि यो गीतप्रतिको प्रेम उस्तै छ।
गीत लेख्दा भर्खरको जवान मुकारुङ उमेरका खुड्किला चढ्दै जाँदा ‘तिमी तारेभीर…’ भने झन्झन् नौजवान हुँदै गएको छ।
Facebook Comment
Comment