काठमाडौं। सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ।
पोखरामा बुधबार एक कार्यक्रमबीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नामसमेत परिवर्तन हुने भएको छ। क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामकरण गरिएको छ।
सम्झौताअनुसार केसी परिवारले एकेडेमीलाई लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने छ। सहयोग र दाताको भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशिको सहयोग आएको हो।
एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन्। उनीहरुको शिक्षादीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ। हालसम्म सहारा यूके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो।
एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ। यस्तै सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्ड कप माघ ६ देखि शुरु गर्ने तयारी गरेको क्लबले बताएको छ। फुटबल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ। सहारा क्लबले आफैले जग्गा खरिद गरेर पोखराको दोबिल्लामा एकेडेमी सञ्चालन गरिरहेको छ।
Facebook Comment
Comment