हेटौंडा। मकवानपुर प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजा र हातहतियारसहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सीखर्कस्थित ७६ वर्षीय जितबहादुर मोक्तानको घर तथा गोठमा खानतलासी गर्दा घरबाट अवैध भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा मोक्तानको गोठबाट १ हजार ५१५ किलो गाँजा र १३ किलो चरेश, गाँजालाई च्याप्ने काठको फर्मा १ थान, तराजु १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।
उनले उक्त हातहतियार र अवैध लागुऔषधसहित ७६ वर्षीय मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घलेलाई पक्राउ गरिएको बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Facebook Comment
Comment