काठमाडौं । चन्द्रमास पात्रोअनुसार हरेक सालजसो आषाढ शुक्ल द्वितीयाको दिन मनाइने जगन्नाथ रथ यात्रा आज (शुक्रबार) मनाइएको छ ।
शुक्रबार कमलादीबाट सुरु भएको रथयात्रा घण्टाघर, जमल, दरबारमार्ग, पुतलीसडक, भद्रकाली, वसन्तपुर हुँदै टुँडिखेलमा गएर सम्पन्न भएको छ ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार एकदिन भगवान जगन्नाथ (कृष्ण)सँग बहिनी सुभद्राले नगर अवलोकनका साथै द्वारका दर्शन गराउन आग्रह गरिन् । बहिनीको आग्रहअनुसार कृष्णले दाजु बलदेव (बलराम) लाई पनि साथमा लिएर नगर यात्रामा निस्किए । त्यही यात्राको सम्झनामा जगन्नाथ रथ यात्रा मनाउँदै आएको पाइन्छ ।
यो यात्राको आरम्भ भारतको उडिसा राज्यको पुरीबाट भएको हो । त्यहाँ भगवान् जगन्नाथको भव्य मन्दिरसमेत रहेको छ । जगन्नाथ पुरी नामले प्रसिद्ध उक्त धाम हिन्दु धर्मावलम्बीहरुको चार धाममध्ये एक हो ।
नेपालमा जगन्नाथ रथयात्राको आयोजना पहिलो पटक नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले वि.सं. २०३८ मा कमलादीबाट सुरु गरेको थियो ।
प्रत्येक वर्ष लोकप्रिय बन्दै गइरहेको यस रथयात्रा महोत्सव आजसम्म काठमाडौं, धरान, भक्तपुर, पाटन, बनेपा, जनकपुर, लहान, इटहरी लगायत नेपालका अन्य शहरहरुमा पनि आयोजना हुँदै आएको छ ।
हेरौं तस्वीर –

Facebook Comment
Comment