तिलोत्तमा दलित ज्ञान उत्सव सम्पन्न, विभेद विरुद्ध एकताबद्ध हुने सङ्कल्प

तिलोत्तमा दलित ज्ञान उत्सव सम्पन्न, विभेद विरुद्ध एकताबद्ध हुने सङ्कल्प

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा आयोजित दुई दिने ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिबार सम्पन्न भएको छ। वैशाख २६ र २७ गते सञ्चालन भएको उत्सवले दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चितताका लागि विभिन्न बहस र छलफल आयोजना गरेको थियो।

उत्सवको समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले सदियौँदेखि पछाडि पारिएको दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन स्थानीय स्तरबाट भएका रचनात्मक कार्यक्रमहरूले विभेद विरुद्ध महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले लुम्बिनी प्रदेश सरकार दलित अधिकार ऐन ल्याउने अन्तिम तयारीमा रहेको जानकारी पनि दिए।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरलाई मानवताको सहर बनाउने अभियान अन्तर्गत दोस्रो वर्षको दलित ज्ञान उत्सव सफलतापूर्वक सम्पन्न भएको बताए।

वन तथा वातावरण समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले ज्ञान उत्सवमा बहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव आदानप्रदान र सामाजिक जागरणका विषयमा चर्चा भएको बताए। उत्सवले दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याएको र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन यो कार्यक्रम आयोजना गरेको कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए।

‘न्याय, समानता र अधिकार’ भन्ने नाराका साथ आयोजित दुई दिने ज्ञान उत्सवको उद्घाटन पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले गरेका थिए।

दलित ज्ञान उत्सवका मुख्य गतिविधिहरू:

पहिलो दिन ‘लुम्बिनी प्रदेशमा दलित समुदायको सशक्तिकरण, दलित अधिकार ऐन र राजनैतिक दलको भूमिका’ विषयमा नेपाली कांग्रेस लुम्बिनीका सचेतक जमुना ढकाल, एमालेका सचेतक तुलसी चौधरी र सामाजिक विकास समितिका संयोजक यमबहादुर गैरे नेपालीबीच पत्रकार अमृता अनमोलको सञ्चालनमा छलफल भएको थियो।

त्यस्तै, ‘राजनीतिक दल र दलित समावेशीकरणको सवाल’ विषयमा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँण, नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरे र नेकपा माओवादी केन्द्र रूपन्देहीका जिल्ला संयोजक निर्मल जीसीबीच पत्रकार दिनेश पाण्डेयको सञ्चालनमा छलफल भएको थियो।

‘दलित र उद्यमशीलता’का विषयमा उद्यमी जितु बौडेल, तारा सुनार र फणिन्द्र घेलेबीच जीवन परियारको सहजीकरणमा छलफल सम्पन्न भएको थियो।

दोस्रो दिन ‘संघीयतामा दलित सवाल र प्रतिनिधित्व’ विषयमा पूर्वमन्त्री मीन विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको सहभागितामा पत्रकार विनोद परियारले सहजीकरण गरेको छलफल भएको थियो।

‘प्रशासनिक संयन्त्रमा समावेशिता’ विषयक सत्रमा पूर्वसचिव डा. मानबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र इलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख रामचन्द्र अर्यालले आफ्ना धारणा राखेका थिए। यो सत्रको सञ्चालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन्।

यसैगरी ‘स्थानीय सरकारमा दलितमैत्री बजेट’ विषयमा बुटवल उपमहानगरका नगर उप–प्रमुख सावित्रादेवी अर्याल र अध्येता सुशील विके वक्ता रहेको सत्रमा पत्रकार टंक सुनारले सहजीकरण गरेका थिए।

अन्तिम सत्रमा ‘सामाजिक रूपान्तरणमा युवा’ विषयमा अध्येता गणेश श्रीपाली, अधिकारकर्मी संजय निगम, अधिकारकर्मी सुभाष नेपाली र तिलोत्तमा कार्यपालिका सदस्य राधा शाही ठकुरीबीच अध्येता हुमराज भुषालको सहजीकरणमा समूहगत छलफल भएको थियो।

दुई दिनसम्म चलेको ज्ञान उत्सवले दलित समुदायका विभिन्न सवालहरूलाई उजागर गर्नुका साथै विभेद विरुद्ध एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरेको सहभागीहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved