काठमाडौं । गायक विशाल सोनीको गीत ‘मकै बारी दर्याम दर्याम’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आएको छ । उक्त गीत २ साताअघि मात्रै रिलिज भएको थियो ।
छोटो समयमै गीतलाई युट्युबमा ५ मिलियन (५० लाख) भन्दा बढी पटक हेरिएको छ ।
सामाजिक सञ्जालमा पनि यो गीतले राम्रै चर्चा पाइरहेको छ । विशेष गरी टिकटकमा यस गीतको ‘साउन्ड’ प्रयोग गरेर ५२ हजारभन्दा बढी भिडिओहरू बनिसकेका छन् । गीत निकै भाइरल भएपनि कतिपयले भने गीतको भाषालाई बुझेका छैनन् ।
यसबारे गायक सोनीले एक अन्तर्वार्तामा स्पष्ट पारेका छन्, ‘मकै बारी दर्याम दर्याम भन्नुको अर्थ मकै बारीमा गएर काँचो मकै खानु हो ।’
गीतमा ‘दर्याम दर्याम’, ‘कर्याम-कर्याम ’, ‘लहै’, ‘उइहुई’जस्ता स्थानीय र अभिव्यक्तिपूर्ण शब्दहरू प्रयोग गरिएका छन्, जसले गीतलाई थप रमाइलो र मनोरञ्जनात्मक बनाएको छ ।
गीतमा गायक सोनी र गायिका सुष्मा शाही ठकुरीको आवाज रहेको छ । अभिनयतर्फ भने एलिना रायमाझी र स्वयं सोनीले भूमिका निर्वाह गरेका छन् ।
Facebook Comment
Comment