गणेश रसिक : ‘लेकाली’ समूहबाट गायनमा, कविदेखि नियात्राकारसम्म

नेपालभ्युज

गणेश रसिक : ‘लेकाली’ समूहबाट गायनमा, कविदेखि नियात्राकारसम्म

काठमाडौं । आइतबार निधन भएका संगीत सर्जक गणेश रसिकको जन्म भोजपुरको छिनामाखुमा विसं २००४ असोज ४ गते भएको थियो । उनी ५० को दशकमा इलाम सरेका थिए ।

करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाएका थिए ।

उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरू, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

रसिकले हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका थिए । उनका केही रचना विद्यालयका पाठ्पुस्तकमा समावेश छ ।

साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए ।

रसिकको ७८ वर्षको उमेरमा आइतबार बिहान ११ बजे निधन भएको हो ।

उनी ललितपुरको हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका थिए ।

उनका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने सङ्गीतकार बुलु मकारुङले जानकारी दिए । उनको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

रसिकका छोरा र श्रीमतीको भने यसअघि नै निधन भइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved