पशुपति शर्माको नयाँ गीत ‘झोले’, भन्छन्- यसपटक डराउनेवाला छैन
नेपालभ्युज
काठमाडौं । लोक तथा दोहोरी गायक पशुपति शर्माले समाजमा विद्यमान राजनीतिलगायत विभिन्न खालका विकृतिहरूमाथि व्यङ्ग्य गर्दै नयाँ गीत सार्वजनिक गरेका छन्— झोले त तैँ, झोले त मै ।
बिहीबार युट्युबमा सार्वजनिक गरेको उक्त गीत सार्वजनिक भएको चार घण्टामा करिब ७० हजारभन्दा धेरैपटक हेरिएको छ ।
समाजमा घटेका घटनाहरूलाई टपक्क टिप्दै गीतका टुक्कामा उनेर भाका हाल्न माहिर गायक शर्माले प्राय: यस्तै विकृतिमाथिका व्यङ्ग्यात्मक शैलीमा गीतहरू लेख्छन्, गाउँछन् । यतिबेला राजनीतिक वृत्तमा ‘झोले’ प्रकरण चर्चामा छ । शर्माले ढिलो नगरीकनै ‘झोले’ गीत सार्वजनिक गरिसकेका छन् । राजनीतिक घटनाक्रमले नै उनलाई यो संयोग जुराइदिएको छ । ‘केही टुक्का र भाका त मैले पहिल्यै लेखेर तयार पारेको थिएँ । बीचमा राम्रा ठाउँहरू घुम्नुपर्छ भन्ने लागेर डोल्पातिर ट्रेकिङमा गएँ । केही दिन ढिला भयो,’ शर्मा भन्छन्, ‘ढिला भए पनि व्यङ्ग्यसँगै सन्देश दिन सकियोस् भन्ने हो । दर्शक श्रोताले हेरिहाल्नुहुन्छ ।’
उनको गीत लेखाइ र राजनीतिक घटनाक्रमको संयोग छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले गएको जेठ १७ गते काठमाठौंमा आयोजित पार्टीनिकट बुद्धिजीवी परिषद्को महाधिवेशनमा सम्बोधन गर्ने क्रममा आफू ‘झोले’ का विषयमा अभिव्यक्ति दिएपछि यतिबेला यो सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।
उक्त कार्यक्रममा ओलीले भनेका थिए, ‘सही कुरालाई समर्थन गर्दा झोले ? मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हित, राष्ट्रको हित र इज्जतको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र परिवर्तनको झन्डा माथि उठाउने एउटा झोले हुँ ।’
ओलीले यो अभिव्यक्ति दिएको पर्सिपल्ट आफैँले सामाजिक सञ्जालमा आफ्नो तस्वीरसहित ‘म झोले हो’ लेखिएको पोस्टर सार्वजनिक गरे । त्यसपछि उनको सचिवालय र एमालेमा उनीनिकट नेता कार्यकर्ताले सामाजिक सञ्जालमा पोस्टर बनाएरै प्रचार थाले— ‘म झोले हो’ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा निर्वाचनताका चलाएको अभियान ‘मै भि चौकीदार’ को दुरुस्तै नक्कल गरिएको पोस्टर एमाले नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि त्यसको व्यापक आलोचना भइरहेको छ । एमालेभित्रकै ठूलो पङ्क्तिले पनि आफू झोले नभएको भन्दै अर्को अभियान चलाएको छ— ‘म झोले होइन, एमाले हो’ । यही झोले प्रकरणमा एमालेसँगै अरू पार्टीनिकट र स्वतन्त्र व्यक्तिहरूसमेत जोडिएका छन् । झोलेको चर्चा जारी छ ।
तर, गायक शर्मालाई भने यो ‘झोले’ प्रकरणले आजित बनाएपछि उनले गीत बनाएका छन् । ‘सबैले अरूको राम्रोलाई खराब देख्ने, आफ्नो खराबलाई पनि राम्रो देख्ने प्रवृत्ति भयो । समाजमा अनेकौँ विकृति छन् । यहाँ तँ झोले कि म झोले भनेर बहस हुन थाल्यो,’ शर्मा भन्छन्, ‘आफूलाई यस्तो देख्यो कि सृजना फुरिहाल्छ ।’
शर्माले गीतमा कुनै राजनीतिक दल, तिनका नेता र कार्यकर्ताको आलोचना गरेका छैनन् । छन् त केवल चोटिला शब्दहरूले व्यङ्ग्य । आमनागरिकले समाजका कर्ताहरूसँग प्रश्न नउठाएकोमा उनको चित्त बुझेको छैन । ‘जे भेट्यो त्यही, जो भेट्यो उही सही’ भन्ने आम नागरिकलाई नै खराब भन्दै नेतृत्वदायी भूमिकामा रहनेहरूमाथि उनले व्यङ्ग्य कसेका छन् ।
नेताको गुणगान गाउने नि तैँ
तिनैको पछि लाउने नि तैँ
भ्रष्टलाई देउता मान्ने नि तैँ
र्यालीमा ढुँगा हान्ने नि तैँ
केपी नि सही, देउवा नि सही
प्रचण्ड सही, रवि नि सही
खराब त तैँ, खराब त मै
त्यससँगै हरफमा उनको व्यङ्ग्य छ —
आफ्नो पार्टी त गन्हाउँदा नि सही
जनतालाई भेडा बनाउँदा नि सही
मन ला’को जे-जे बोले नि सही
नाँगो भई सबै खोले नि सही
कांग्रेस नि सही, एमाले सही
माओवादी सही, रास्वपा सही
झोले त तैँ, झोले त मै
शर्माले राजनीतिमाथि मात्रै व्यङ्ग्य गरेका छैनन्, आफ्नै पेसामाथि पनि व्यङ्ग्य गरेका छन् । छाडा गीत जति पनि हिट भएको र उत्ताउलो हुँदा जता पनि फिट भएको उनको भनाइ छ । साथै, सञ्चार माध्यममा भाइरलका नाममा भइरहेको पात्र, प्रवृत्ति र विकृतिमाथि पनि शर्माले प्रश्न गरेका छन् ।
अनेक अनेकका औतारी आउँछन्, युट्युबर तिनकै पछाडि लाउँछन्
तिनैका भिडियो हेर्ने नि तैँ, सेलिब्रेटीजस्तो घेर्ने नि तैँ
उनले कर्मचारीदेखि न्यायालयसम्मलाई व्यङ्ग्य प्रहार गर्न बाँकी राखेका छैनन् ।
कर्मचारी पनि नेतैका छन्,
गतिलो ठाउँमा त्यतैका छन्
लुट्ने जतिले लुटेकै छन्,
अपराधी पनि छुटेकै छन्
राजनीतिमाथि व्यङ्ग्य कसरे सामान्य दर्शक श्रोताले बुझ्ने रमाइला शैलीका गीत लेख्ने शर्माले जीवनमा दर्जनौँ गीत लेखेका छन्, गाएका छन् । अधिकांश ती गीतहरू ‘हिट’ पनि छन् । साहित्यिक सृजनाहरू भावका कारण मात्रै होइन, कहिलेकाहीँ सन्दर्भका कारण पनि बढी हिट हुँदा रहेछन् । यस्तै संयोग गायक शर्माको जीवनमा पनि परेको छ । यसअघि उनले एउटा यस्तै व्यङ्ग्यात्मक शैलीको गीत ल्याएका थिए । जुन गीतमा यति विवाद भयो कि शर्माले उक्त गीतलाई युट्युबबाटै हटाउनु परेको थियो ।
२०७५ सालको फागुनमा तत्कालीन नेकपा एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपाको सरकार थियो । प्रधानमन्त्री थिए — केपी शर्मा ओली । संविधान कार्यान्वयनमा आएपछि सम्पन्न पहिलो आमनिर्वाचनपछि बनेको उक्त सरकारका पालामा अनेक खालका ‘काण्ड’हरू सार्वजनिक भइरहेका थिए । राज्य संयन्त्रबाट भइरहेका मनपरी र भ्रष्टाचारका विषयहरू सार्वजनिक भइरहेका थिए । आममानिसमा असन्तुष्टि चुलिँदो थियो ।
त्यही समयमा गायक शर्माले एउटा गीत सार्वजनिक गरेका थिए—
लुट्न सके लुट कान्छा
लुट्न सके लुट,
अरू देशमा पाइँदैन
नेपालमै हो छुट
लोकदोहोरी क्षेत्रमा चल्तीका ट्रेन्ड सेटर गायक शर्माले उक्त गीत युट्युबमा सार्वजनिक के गरेका थिए, उनीमाथि अनेकौँ धम्कीहरू आए । व्यक्तिगत रूपमा पनि र सार्वजनिक रूपमै पनि । तत्कालीन नेकपाको युवा सङ्गठनका प्रमुख रमेश पौडेलले सामाजिक सञ्जाल फेसबुकमै उक्त गीतमाथि आक्रोश पोखे । सोही पार्टीको एउटा सङ्गठनले त विज्ञप्ति नै जारी गर्यो । त्यसपछि २०७५ फागुन ३ गते युट्युबमा राखेर २४ घण्टा पनि नबित्दै युट्युबको टप ट्रेन्डिङमा पुगेको उक्त गीतलाई पशुपतिले हटाउनु पर्यो ।
उनलाई गीत गाएर कसैलाई चोट पुर्याउनु थिएन, न त कसैको बदनाम नै गर्नुथियो । केवल आममान्छेका मनमा लागेका बह र असन्तुष्टिलाई टिपेर गीत बनाउनु थियो ।
‘लोकगीतले लोकका मर्म बोक्नुपर्छ र समग्र समाजमा घटेका घटनालाई गीतमार्फत अभिव्यक्त गर्नुपर्छ भन्ने लाग्छ,’ शर्मा भन्छन् ।
अघिल्लोपटक व्यङ्ग्यात्मक शैलीमा गीत लेखेर गाएपछि धम्की खेप्नु परेका गायकलाई यसपटक भने कसैको चिन्ता छैन ।
‘धम्की आए पनि म डराउनेवाला छैन,’ यसपटक निर्धक्क सुनिन्छन् गायक शर्मा ।
आफ्ना सृजनामा गरिने व्यङ्ग्य कहिल्यै पनि व्यक्ति केन्द्रित नभई पात्र प्रवृत्तिमा केन्द्रित हुने उनी बताउँछन् ।
‘मैले समग्र पक्षलाई व्यङ्ग्य गरेको हुन्छु,’ शर्मा भन्छन्, ‘यो गीतमा पनि आफ्नै गीत-सङ्गीत क्षेत्रमा समेत जे छ त्यही भनेको छु । मिडियालाई पनि भनेको छु । मैले जे देखेको छु, त्यसैलाई लेख्ने र गाउने प्रयास गरेको छु ।’
आममानिसलाई उपभोक्ता बनाएर विभिन्न क्षेत्रमा बिक्री भइरहेका खराबीमाथि मात्रै आफूले व्यङ्ग्य गरेको उनको भनाइ छ ।
शर्मा गीतमा व्यङ्ग्य त गर्छन्, तर जसलाई लक्षित गरेर व्यङ्ग्यात्मक गीत लेख्छन् र गाउँछन् उनीहरूलाई भने त्यस्ता सृजनाले छुँदोरहेछ भन्ने बुझाइमा छन् ।
कसैले बुझेर/नबुझे झैँ गरे पनि कसैले गीत लेखेकै कारण धम्काए पनि आफ्नो कर्ममा स्वतन्त्र भएर लागि रहन भने छोड्ने पक्षमा छैनन् गायक शर्मा ।
‘बुझ्न त सबैले बुझ्छन्, तर केही थाहा नपाएजस्तो गर्छन्,’ शर्मा भन्छन् ।
Facebook Comment
Comment