गोकर्णेश्वरमा घन्किँदै नेपथ्य

नेपालभ्युज

गोकर्णेश्वरमा घन्किँदै नेपथ्य

काठमाडौं । चर्चित साङ्गीतिक समूह नेपथ्यले आफ्नो अमेरिका भ्रमणअघि गोकर्णेश्वरमा कन्सर्ट गर्न लागेको छ । यही चैत ३० गते “ग्राउन्ड अफ इभेन्ट्स” को आयोजनामा दुई वर्षपछि नेपथ्यले नेपालमा कन्सर्ट गर्न लागेको हो ।

यसअघि २०७९ पुसमा ब्यान्डले भृकुटीमण्डपमा कन्सर्ट गरेको थियो । केही महिनाअघि अस्ट्रेलियाको सिड्नीमा लगातार दुई वटा कन्सर्ट गरेर नेपथ्य टोली स्वदेश फर्किएको छ ।

आयोजक “ग्राउन्ड अफ इभेन्ट्स” का अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार करिब १ करोड रुपैयाँको लागतमा गोकर्णेश्वरमा कन्सर्ट आयोजना गर्न लागिएको हो । करिब ७ हजार दर्शक अट्ने खुल्ला मैदानमा यो कन्सर्ट गरिने छ । जसमध्ये अहिलेसम्म करिब ५ हजार टिकट बिक्री भैसकेको श्रेष्ठ बताउँँछन्  ।

आयोजकले “अर्लिबड बुकिङ अफर” शिर्षकमा रु १ हजारको दरले अग्रिम टिकट बिक्री गरेको थियो । श्रेष्ठका अनुसार अहिले उक्त अफर समाप्त भएको र अब रु १५०० को नर्मल टिकट मात्र बाँकी रहेको छ ।

दर्शकहरुको सुविधाको लागि नेपथ्यको वेबसाइट, इसेवा र स्थानीय आउटलेटबाट टिकट किन्न सकिनेछ ।

नेपथ्यका अनुसार गोकर्णेश्वरको कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् ।

कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोक नजिकैको खुला मैदानमा हुनेछ । अहिले धमाधम स्टेज बनाउने काम भैरहेको छ ।

आयोजकका अनुसार कन्सर्ट हुने दिन बेलुका ४ बजेदेखि नै दर्शकलाई मैदान प्रवेश गराइने छ । नेपथ्यको प्रस्तुति भने साँझ ६:३० बजेदेखि सुरु हुनेछ ।

गोकर्णेश्वरको कार्यक्रमपछि नेपथ्य आफ्नो शृङ्खलाबद्ध प्रस्तुती लिएर आगामी महिना अमेरिका जाने तयारीमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved