गोरखा । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका छन् ।
बारपाक सुलिकोट गाउँपालिकाले बुधबार जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको शहीदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ,’ उनले भने ।
नेपाली जनता संविधानले निर्दिष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उनले बताए । संविधानले समाजवादको परिकल्पना गरेकाले पूर्वउपराष्ट्रपति पुनले समाजवाद प्राप्तिपछि मात्र शहीदहरूको सपना सार्थक हुने उल्लेख गरे । जनताका आवश्यक एकैचोटी पूरा हुन नसक्ने भए पनि पार्टीहरूले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उहाँले जोड दिए । –रासस
Facebook Comment
Comment