काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले जित हात पारेपछि शिखर धवनको अर्धशतक छायाँमा परेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा भारतका चर्चित क्रिकेटर धवनले बिष्फोटक ब्याटिङ गर्दै ४२ बलमै ५१ रन बनाएर अर्धशतक पूरा गरेका थिए ।
धवन ५ छक्का र ४ चौकाको मद्दतमा ५१ बलमा ७२ बनाउँदै अविजित रहेका थिए । उनको यही अर्थशतकको मद्दतले कर्णालीले काठमाडौंलाई १५० रनको लक्ष्य दिएको थियो ।
खेलको अधिकांश समय कर्णालीले जित्ने अवस्था थियो । तर अन्त्यतिर कप्तान करण केसी र सुमित महर्जनले सम्हालिएर खेलेपछि काठमाडौंले ३ विकेटको रोमाञ्चक जित हासिल गर्यो । कर्णाली पराजित भएपछि एनपीएलमा पहिलो अर्थशतक बनाएर झण्डै शतकनजिक पुगेका धवनको प्रदर्शन भने छायाँमा परेको छ ।
यसअघि सोमबार भएको खेलमा उनी जनकपुर बोल्ट्सविरुद्ध १४ रनमा आउट भएका थिए ।
धवनको टोली कर्णाली पराजित भएपछि अविजित ४० रन बनाएका काठमाडौंका सुमित महर्जन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
Facebook Comment
Comment