काठमाडौं । नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० दिनसम्म चल्ने यो प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएलको विशेष आकर्षण भनेको नेपालका राष्ट्रिय खेलाडीहरूसँगै १६ विभिन्न देशका ४० अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता हो ।
भारतीय सुपरस्टार शिखर धवन र अस्ट्रेलियन अलराउन्डर बेन कटिङ जस्ता दिग्गज खेलाडीले लिगलाई अझै ग्ल्यामरस बनाएका छन् ।
उद्घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
एनपीएलका लागि कीर्तिपुर मैदानको बाउन्ड्री बढाउनेदेखि डिजिटल स्कोर बोर्ड, नयाँ विकेटसम्म बनाइएका छन् ।
एनपीएल आयोजनाले नेपाली समर्थक मात्रै हैनन खेलाडी पनि उत्तिकै उत्साहित छन् ।
मार्की खेलाडीदेखि अक्सनमा खेलाडी लिन हानाथाप नै भएको थियो ।

आठ टोलीको प्रतिस्पर्धा
प्रतियोगितामा सहभागी हुने आठ टोली :
- विराटनगर किंग्स
- जनकपुर बोल्ट्स
- चितवन राइनोज
- काठमाडौं गुर्खाज
- पोखरा एभेन्जर्स
- लुम्बिनी लायन्स
- कर्णाली याक्स
- सुदूरपश्चिम रोयल्स
सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि मैदानमै खेलिने छन् ।

टिकट मूल्य र प्रसारण
प्रतियोगिताको उद्घाटन खेलको टिकट भिआइपीका लागि ७ सय र साधारणका लागि ३ सय रुपैयाँमा तोकिएको थियो, जुन सबै बिक्री भइसकेका छन्। अन्य खेलहरूको टिकट दर यस प्रकार छ:
- लिग खेलहरू: साधारण – ३ सय, भिआइपी – ५ सय
- प्लेअफ खेलहरू: साधारण – ५ सय, भिआइपी – ७ सय
- फाइनल खेल: साधारण – ५ सय, भिआइपी – १ हजार
लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्क मा हेर्न सकिनेछ भने एक्सन स्पोर्ट्स एचडी युट्युब च्यानलमा पनि उपलब्ध हुनेछ।
पुरस्कार र आकर्षण
विजेता टोलीको पुरस्कार घोषणा हुन बाँकी भए पनि नेपाली खेलाडीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ६२ लाख रुपैयाँ बराबरको ओमोडा इ–५ कार प्रदान गरिनेछ ।
यो पुरस्कारले नेपाली खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

एनपीएलको महत्व
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो फ्रेञ्चाइज लिग नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय छवि निर्माणका लागि कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
विश्वभरका खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटप्रेमीलाई नयाँ अनुभव दिनेछ भने नेपाली युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा सिक्ने ठूलो अवसर हुनेछ ।
एनपीएलको यो सुरुवातले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ ।
Facebook Comment
Comment