साढे ३ र ८ वर्षकी छोरी टुहुरा: अब कसले देला स्नेह र सहारा ?
गाडी चलाउँदा भुजेलको लापरबाही यतिसम्मको थियो कि, उनी एक हातले स्टेरिङ र अर्को हातले मोबाइल समातेर लाइभ गर्थे। स्पीड पनि तीव्र हुन्थ्यो । अन्धविश्वासको व्यापारले भाइरल बनेका उनले अप्रत्यक्ष सयौँ बिरामी र रोगीको स्वास्थ्यसँग खेलबाड गरिरहेका थिए । भाइरलको उन्मादमा सानो लापरबाहीले भयानक दुर्घटना भयो, गर्भको शिशुसहित दम्पतीकै दर्दनाक अन्त्य भयो ।
काठमाडौं । आफूलाई धर्मगुरुका रूपमा चिनाउने ‘झाँक्री’ प्रकाश भुजेलको जीवनशैली र व्यवहारमा प्रायः अन्धविश्वास र लापरबाहीपन झल्किन्छ ।
बिरामी निको पार्छु भन्दै दैनिक सयौंलाई झारफुक गर्ने उनले ‘अन्धविश्वास’ पालेका बिरामी र रोगीबाट मोटै रकम असुल्थे ।
अन्धविश्वासको व्यापार गरेर आर्जन गरेको धनबाट महङ्गो घर र गाडी जोडेका थिए । नेपाली मूल्य साढे २ करोडभन्दा माथि पर्ने ल्यान्डक्रूजर प्राडो किनेका थिए ।
महङ्गो गाडी भएकाले भिडिओ बनाएर रवाफ देखाउने उनको बानी थियो । महङ्गो गाडीमा रवाफ देखाउँदै सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने उनको चाहना थियो । त्यो पूरा पनि भयो । किनकि रमाइलोकै लागि भए पनि मानिसहरूको उनको भिडिओ हेर्थे ।
साथमा दुई चारजना केटाहरू लिएर हिँड्थे प्रकाश । उनी आफैँ गाडी चलाउँथे । गाडी चलाउँदै बेफिक्री मोबाइलमा लाइभ गर्थे । गाडी चढेको, सीटमा बसेको, सिटबेल्ड बाँधेकोदेखि गाडी कुदेपछि वरपरको दृश्य देखाउने उनको दैनिकी थियो ।
गाडी चलाउँदा प्राय: टिकटक वा फेसबूक लाइभ गर्नु र बेतुकका गफ दिनु भुजेलको दिनचर्या जस्तै थियो ।
सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्न निषेध हुन्छ । तर, उनमा यो नियम लागू थिएन । सामाजिक सञ्जालमा भाइरल भएकै कारण उनलाई बाटोमा देख्ने ट्राफिक प्रहरीले केही भन्दैनथे । दुर्घटनाको २ दिनअघि उनले गाडी चलाउँदै गरेको फेसबूक लाइभको लिङ्क यही हो ।
भाइरल भएकैले प्रहरीले गरेको अनदेखाको छुटको दुरुपयोग गर्दै उनी प्राय: एक हातले गाडीको स्टेरिङ र अर्को हातले मोबाइल समातेर हुइँकाउँथे । कहीँ कतै ट्राफिकले रोकिहालेमा पत्रकार परिचयपत्र देखाएर सजिलै उम्किन्थे ।
दुईचार कक्षा मात्र पढेका उनले एसएलसी उत्तीर्ण गरेको सर्टिफिकेट बनाएका छन् । सिन्धुपाल्चोकका उनले सानैमा पढाइ छाडेर गाडीमा खलासी बसेका थिए ।
तर, भुजेलले सुनसरीको एक स्कूलबाट एसएलसी पास गरेको सर्टिफिकेट पेस गरेर ‘टीभी पन्चली’ नाम गरेको एक युट्यूब च्यानलबाट पत्रकार परिचयपत्र लिएका छन् ।
उनको सर्टिफिकेट नक्कली भन्दै परेको उजुरीमा छानबिन भइरहेको छ । उनको लापरबाही त्यत्तिमा सीमित थिएन, गाडी चलाइको स्पीड पनि उस्तै हुन्थ्यो । त्यसमा पनि उनी गाडी चलाउन सिकारु नै थिए ।
अनुसन्धान अधिकारी भन्छन्, “उनले घरी लाइसेन्स घरी छ भन्छन्, घरी हरायो भनेका छन् । कसैलाई ल्याउन लगाउँछु भनेका छन् । अहिलेसम्म ल्याउनसक्नुभएको छैन ।”
***
बुधबार दिउँसो भुजेल १ बजे निवासबाट निस्किए । कागेश्वरी मनोहरा थली बस्ने उनी साँखुतिर लागे उनकै शैलीमा ।
बा १९ प २६९५ नम्बरको ‘ल्यान्डक्रूजर’मा दुईजना साथीहरू पनि थिए । उनी चालकको सीटमा बसे । एकहातले स्टेरिङ र अर्को हातले मोबाइल समाते । गाडी चलाउँदै भिडिओ बनाउँदै हुइँकिए ।
गाडीको स्पीड तीव्र थियो तर, उनको ध्यान सडकमा भन्दा भिडिओमा थियो । गाडी कागेश्वरी मनोहरा नगरपालिका क्रस भएर शङ्खरापुर नगरपालिका प्रवेश गर्यो । सीमा छुट्टाउने महादेवखोला पुल क्रस भएर इन्द्रायणी पुग्दा अगाडिबाट आयो, एक मोटरसाइकल ।
दुर्घटनामा ज्यान गुमाएका नगरकोटी दम्पती
बागमती प्रदेश -०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकल आफ्नै लेनमा थियो । स्थानीयको अनुसार भुजेलको गाडी लेन मिचेर दायाँतर्फ थियो ।
मोटरसाइकल नजिक आइसकेको थियो । तर, भुजेलले आफ्नो लेनमा गाडी ल्याउन नसकेर ठक्कर दिए । तीव्र गतिमा गुडेको गाडीले मोटरसाइकल ठक्कर दिएपछि हुत्तिएर बायाँपट्टि किनाराको घरमा ठोक्कियो ।
भुजेलको गाडीले ठक्कर दिएपछि मोटरसाइकलको अवस्था ।
गाडीले हानेपछि मोटरसाइकल १५ मिटर पर उछिट्टियो । मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा २ का ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी भुइँमा बजारिए । पछाडि सवार नारायण पत्नी सानुमायाको गर्भमा एक सन्तान हुर्किँदै थियो ।
भुजेलले एकहातले चलाईएको मोबाइल उछिट्टियो । घटनापछि भागेका भुजेलले बुधबार साँझ भाइ नाता पर्ने दीपक भुजेलको फेसबूकमार्फत लाइभमा आएका थिए । उनले स्वीकारेका छन्, “मेरो मोबाइल कता उड्यो, उड्यो ।” घटनापछि भागेका भुजेल साँझ पक्राउ परे ।
ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचारपछि धापासीस्थित ग्राण्डी अस्पताल लगियो । त्यही दुवैको निधन भयो ।
भिडिओ हेर्न-
नगरकोटी दम्पतीको पारिवारिक चिनजानका सागर थापाका अनुसार नारायण पत्नी सानुमायाको पेटमा पाँच महिनाको शिशु हुर्कँदै थियो ।
उनले भने, “दुर्घटनापछि सानुमायाको टाउको गम्भीर चोट थियो । गर्भका रहेको शिशु त्यही निधन भएको आशङ्का छ । धेरै रगत बगिरहेको थियो ।”
अस्पतालले समेत सानुमायाको पेटमा गर्भ रहेको बताएको छ । यसरी भुजेलको लापरबाहीले नगरकोटी दम्पती र पेटको बच्चाको ज्यान गयो ।
दुर्घटनाअघि प्रकाशको गाडी देखेका ब्रहमखेलका स्थानीय रामप्रसाद खड्का भन्छन्, “हामी सडकमा हिँडिरहेका थियौँ । परबाट गाडी हुइँकिँदै आयो । गाडीमा प्रकाश भुजेल थिए । अगाडिपट्टि बाटो क्रस गरिरहेको एउटा कारसँग झन्डै ठोक्किएन । आँखा छैन भन्दै हप्काएर अघि लागे ।”
त्यही उनको गाडीको तीव्रता र लापरबाही रोकिएको भए दुर्घटना नहुने स्थानीयको दाबी छ ।
त्यहाँबाट अली अगाडि गएपछि भुजेलले चलाएको गाडीले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दियो ।
मृतक नारायण दम्पती छोराको प्रतीक्षामा थिए । उनिहरूका आठ वर्ष र साढे ३ वर्षकी दुई छोरी छन् ।
नारायण र सानुमायाको निधनले आलापोट शोकमा डुबेको छ । बाबुआमा गुमाएका दुई सानी छोरीहरूलाई कसरी सम्हाल्ने भन्ने चिन्ता आफन्तमा छ ।
स्थानीयले प्रदर्शन जारी राखेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मी
उनीहरूले सधैँभरि स्नेहपूर्ण साथ र सहारा दिने अभिभावकको स्पर्श गुमाए । यसरी भुजेलको लापरबाहीले एउटा परिवारको जीवनलाई भयानक अन्त्यसम्म पुर्यायो ।
चालक भुजेलले लापरबाहीपूर्वक ओभर स्पीड चलाएको कारण दुर्घटना भएको कागेश्वरी २ का वडाध्यक्ष सुरज खड्का बताउँछन् ।
उनी भन्छन्, “गाडी झन्डै सयको स्पीडमा हुनुपर्छ । सडक पेटी नाघेर उडेर पसलमा गएर ठोक्किएको छ । ल्यान्डक्रूजरसमेत ब्रेक नलाग्ने भनेपछि कति स्पीड होला । पर गएर फलफूल पसल र किराना पसलमा पुग्यो । यसैले लापरबाहीपूर्वक चलाएको देखिन्छ ।”
पक्राउ परेका भुजेललाई बिहीबार प्रहरीले अदालतमा पेस गरेको छ । सवारी ज्यान मुद्दामा अनुसन्धानको लागि पहिलो चरणमा पाँच दिनको म्याद पाएको छ ।
Facebook Comment
Comment