सत्ता विमुखपछि प्रचण्डको रणनीति : समाजवादी मोर्चा

समाजवादी मोर्चा घोषणा भएको १ वर्षभन्दा बढी भयो । अहिले न घोषणा गर्दाको समयको जस्तो तामझाम छ, न कुनै आकर्षण र चर्चा । तर, सरकारबाट बहिर्गमनपछिको माओवादी र प्रचण्डका लागि भने यो फेरि ‘काम लाग्ने’ देखिएको छ । 

नेपालभ्युज

सत्ता विमुखपछि प्रचण्डको रणनीति : समाजवादी मोर्चा

काठमाडौं । सत्ताबाट बाहिरिँदै गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ परिस्थितिका लागि नयाँ रणनीतिको सङ्केत गरेका छन्, त्यो हो– समाजवादी मोर्चा ।

नेपाली कांग्रेस-नेकपा (एमाले) बीचको नयाँ सहमतिपछि आफ्नो नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चितप्राय देखिएपछि प्रधानमन्त्री प्रचण्डले तुरुन्तै ‘समाजवादी मोर्चा’ लाई सम्झिए । एमालेसँगको गठबन्धनमा रहुन्जेल उनलाई मोर्चा खासै जरुरी परेको थिएन ।

बुधबार समाजवादी मोर्चाको बैठक नै भयो, प्रधानमन्त्री निवास बालुवाटारमा । बैठकमा प्रचण्डले मोर्चाका नेताहरूलाई नयाँ राजनीतिक स्थितिको सरसर्ती आकलन सुनाए ।

बैठकमा सहभागी नेताहरूले प्रचण्डप्रतिको विश्वास पुन: जाहेर गरे । बैठकले ‘वामपन्थी दलहरूको विकल्पका रूपमा मोर्चाको पुनगर्ठन र विस्तार गर्ने’ निर्णय गर्‍यो ।

यसको अर्थ हुन्छ- समाजवादी मोर्चा अब विपक्षमा बस्ने कम्युनिष्ट तथा समाजवादी दलहरूको राजनीतिक मोर्चा हुनेछ । मोर्चालाई ब्युँत्याइएको मात्र छैन, ‘विस्तार गर्ने’ भनिएको छ । मोर्चामा को-को थपिएलान्, अहिले नै प्रष्ट छैन ।

तर, नयाँ बन्ने कांग्रेस-एमालेको संयुक्त सरकारको अवधिमा संसद्‌भित्रको मुख्य राजनीतिक विपक्षी अब सायद यही मोर्चा हुनेछ । सम्भवत: संसद्‌भित्र प्रमुख प्रतिपक्षको नेताको मान्यता पनि प्रचण्डले प्राप्त गर्नेछन् ।

दुई ठूला दल नै मिलेर सरकार बनाएपछि विपक्षको भूमिका तेस्रो ठूलो दलको काँधमा आउनु स्वाभाविक हो । समाजवादी मोर्चाको बैठक बोलाएर प्रधानमन्त्रीको पदमा रहँदै प्रचण्डले विपक्षी दलको नेताको भूमिका सुरु गरेको सङ्केत गरे ।

उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल पनि यो मोर्चामा थियो तर, बुधबारको बैठकमा दुवै जसपा (अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी) दुवै भने उपस्थित थिएनन् । बरु डा. बाबुराम भट्टराईबाट अलग भएका महिन्द्रराय यादव भने थिए ।

२०८० असार ४ गते ३ वटा कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र एक गैरकम्युनिष्ट पार्टी जनता समाजवादी पार्टी नेपाल मिलेर ‘समाजवादी मोर्चा’ बनेको थियो ।

राष्ट्रियसभा गृहमा ठूलै कार्यक्रमका बीच यसको घोषणा भएको थियो । घोषणाको केही महिनासम्म ताउरमाउर भयो । ४ दलबीच प्रदेश, जिल्ला र पालिका तहसम्म मोर्चा बन्ने/बनाउने क्रम चल्यो । समाजवादी मोर्चा घोषणा गर्दाको तामझाम निकै ठूलै थियो । लाग्थ्यो, राम्रै मनसायले केही नयाँ पो गर्न लागेको हो कि ?

मोर्चामा संलग्न दलहरूको प्रतिनिधि सभाभित्र ५४ सिट थियो । कांग्रेस-एमालेपछि यो निकै ठूलो शक्ति हुन्थ्यो । हुन त मोर्चाले एमालेलाई पनि सामेल हुन आग्रह गरेको थियो । तर, एमाले समावेश भएन ।

मोर्चाको उद्देश्य के थियो र त्यो कति सफल भयो ? आज फर्किएर हेर्दा सोचेजस्तो प्रभावकारी भएको भने पाइन्न । मोर्चाका आलोचक यसलाई ‘निरर्थक प्रयास’ वा प्रचण्डलाई ‘अभर पर्दाको हन्बेर्नो’ ठान्छन् । तथापि मोर्चाको अवधारणा भने नराम्रो थिएन ।

यसले वामपन्थी तथा समाजवादी राजनीतिक समूहहरूलाई एक ठाउँमा ल्याएर ‘समाजवादको माहोल तयार गर्न साझा प्रयत्न गर्ने’ उद्देश्य राखेको थियो ।

समाजवादी मोर्चाको अवधारणा कसको थियो, त्यो प्रष्ट छैन । तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्यो आफ्नो अवधारणा अरुले ‘चोरेको’ अर्थमा सार्वजनिक रूपमै स्वामित्व दाबी गर्दछन् ।

यो मोर्चामा आफूलाई नसमेटिएकोमा डा. भट्टराईले चित्त दुखाएका थिए । त्यो असन्तुष्टि उनमा अहिलेसम्म पनि बाँकी नै छ । मोर्चाको बैठकलाई दक्षित गर्दै डा. भट्टराईले सामाजिक सञ्जालमा एक थोत्रो झालको फोटो पोस्ट् गरेका छन् । उनले भनेका छन्, “अब समाजवादी केन्द्रको नयाँ ढोक्सा, ढडिया र जाली, त्यो पनि अरुबाट चोरेको ।”

त्यसो त त्यो समय डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) लाई माओवादी केन्द्रकै एक घटकजस्तो मानिन्थ्यो । गत आम निर्वाचनमा नेसपाले माओवादी केन्द्रको निर्वाचन चिह्न  ‘गोलाकारभित्रको हँसिया-हथौडा’ साझेदारी गरेको थियो ।

मूल पार्टी माओवादी केन्द्र नै मोर्चामा भइसकेपछि नेसपाभिन्नै किन हुनुपर्‍यो भन्नेसम्मको तर्क गरिएको थियो । डा. भट्टराई नेतृत्वको नेसपा अहिले विभाजित छ । यसका दुई सङ्घीय र दुई प्रादेशिकमध्ये ३ सांसद माओवादीतिरै छन् ।

‘समाजवादी मोर्चा’ डा. भट्टराईको अवधारणा थियो, अरुले चोरेका हुन् भन्ने चर्चाको खासै प्रासङ्गिकता भने छैन । किनकि राजनीतिक अवधारणा आम हुन्, त्यसमा कसैको ‘प्याटेन्ट’ वा ‘कपी राइट’ हुँदैन ।

तर, समाजवादी मोर्चाको अवधारणा र अभ्यासका कतिपय असङ्गति भने थिए । मोर्चामा कम्युनिष्ट र गैरकम्युनिष्ट दुवै विचारका दल थिए, जसको समाजवादबारेको बुझाइ एकै हुँदैन ।

अर्कोतिर जनयुद्धको ‘महापतन’ भयो भन्दै अर्को जनयुद्ध र सशस्त्र कम्युनिष्ट क्रान्ति गर्न हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसमेत मोर्चामा समेल छ ।

मोर्चाको संयोजक अहिले उनै विप्लव सी छन् । उनको पार्टी संसद्‌भित्रै छैन । तर, प्रचण्डसहित माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत विप्लवले समाजवादी मोर्चामा नेतृत्व गर्दैछन् ।

मोर्चाभित्रका दलहरूबीच मित्रतापूर्ण सहकार्य होला भन्ने पनि कतिपयको बुझाइ थियो । तर, त्यसो भएन । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गर्न प्रधानमन्त्री प्रचण्डले नै सहयोग गरेको अरोप लाग्यो ।

ओली-प्रचण्ड सहयोग र संरक्षकत्वमा अशोक राईले यादव नेतृत्वको पार्टी त्यही अवधिमा विभाजित गरिदिए । त्यसको पुष्टि गर्न प्रधानमन्त्री प्रचण्डले ‘सत्ता जोगाउन अनेक गर्नुपर्ने’ अभिव्यक्ति दिए ।

‘समाजवादी मोर्चा’ का सहकर्मी दलद्वारा पार्टी विभाजित गरिँदा उपेन्द्र यादव देशमा समेत थिएनन्, मन्त्रीकै हैसियतमा अमेरिका थिए । उनलाई अपमानजनक ढङ्गले सरकार छोड्नसमेत बाध्य पारियो ।

लगत्तै फर्किएर उपेन्द्र यादव कांग्रेस नेतृत्वको विपक्षी दलहरूको बैठकमा जान थाले । यता उनले समाजवादी मोर्चा औपचारिक रूपमा परित्याग गरेको घोषणा भने अहिलेसम्म गरेका छैनन् ।

अहिले अशोक राई समूह प्रचण्डबाट टाढिएको छ । यस अर्थमा प्रचण्ड र समाजवादी मोर्चालाई दोहोरो घाटा भएको छ । अशोक राईको चक्करमा उपेन्द्र यादवको साथ छुट्यो । तर, राईले पनि साथ दिएनन् ।

समाजवादी मोर्चा घोषणा भएको १ वर्षभन्दा बढी भयो । अहिले न घोषणा गर्दाको समयको जस्तो तामझाम छ, न कुनै आकर्षण र चर्चा । तर, सरकारबाट बहिर्गमनपछिको माओवादी र प्रचण्डका लागि भने यो फेरि ‘काम लाग्ने’ देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved