महाधिवेशनले फर्काउला जसपाको गुमेको साख ?

जे होस्, गुमेको पार्टीको साख फर्काउनका लागि बहुमत महाधिवेशन प्रतिनिधिको सुझावअनुरूप नीति बनाउनुपर्छ तर, अध्यक्ष यादव त्यसरी तयार होलान् भन्नेमा स्वाभाविक शङ्का उत्पन्न हुन्छ । किन पनि भने यादवले त्यहीखाले राजनीतिक व्यवहार देखाउँदै आएका छन् ।

महाधिवेशनले फर्काउला जसपाको गुमेको साख ?

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सम्भवत: आफ्नो पार्टी जीवनकै सर्वाधिक कमजोर बनेको छ । २०६४ सालको पहिलो संविधान सभामा ५४ सिटसहित चौथो दलका रूपमा उपस्थित भएको यादवको दल अहिले ५ सिटमा सीमित छ ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले यादवको कार्यशैली र प्रवृत्तिमाथि प्रश्न उठाउँदै ७ सांसद लिएर जसपा गठन गरेका छन् । यसपछि यादव ५ सांसदको नेतामा सीमित हुन पुगेका छन् ।

यति मात्रै होइन, जसपा नेपाल ७८ महिनापछि मधेस प्रदेश सरकारको नेतृत्वबाट समेत विमुख हुनुपरेको छ । प्रदेश संरचना लागू भएपछि मधेस प्रदेश सरकारको नेतृत्व सम्हालिरहेको यादवको दलले भर्खरै मात्रै नेतृत्व गुमायो ।

७८ महिनापछि मधेस सरकारबाट जसपा ‘विस्थापित’

ठीक यहीबेला यादवको दल जसपा नेपालको महाधिवेशन हुँदैछ । जनकपुरधाममा सोमबार (आज) देखि जेठ ३० गतेसम्म चल्ने महाधिवेशनमा १३ सय प्रतिनिधि भेला हुँदैछन् ।

जसपा नेपालले यसलाई एकता महाधिवेशन भनेको छ । पार्टी जीवनमा नै कमजोर बनेपछि हुन लागेको यो महाधिवेशनले गुमेको साख फिर्ता गर्ने र राजनीतिक हानि पूर्ति गर्ने कस्तो नीति-कार्यक्रम ल्याउँछ ? यसबारे कतिपयमा उत्सुकता देखिन्छ ।

यसका साथै यो कसको नेतृत्वमा हुने भन्ने सवालसमेत सतहमा आएको छ । नेताहरूले अध्यक्षबाहेकका पदमा मात्रै प्रतिस्पर्धा हुने बताएका छन् । तर, अध्यक्षमा नेता राजकिशोर यादवले उपेन्द्र यादवलाई टक्कर दिनसक्ने समेत बताइन्छ । तर, राजकिशोर यादवले यसबारे केही बताएका छैनन् ।

अध्यक्षमा उपेन्द्रलाई राजकिशोरले टक्कर देलान् ?

जे होस्, मुख्य विषयचाहिँ कमजोर बनेको जसपा नेपालले महाधिवेशनपछि गुमेको राजनीतिक साख फर्काउन सक्छ कि सक्दैन भन्ने हो ।

२०६५ सालमा पहिलो महाधिवेशन ब्यहोरेका अध्यक्ष यादवले करिब १६ वर्षपछि दोस्रो महाधिवेशन गर्दैछन् । नेतृत्वबाट हट्नुपर्ने भयका कारण पनि हुनसक्छ, उनले अन्य साना पार्टीसँग एकता गर्दै महाधिवेशन टार्दै आएका थिए ।

पछिल्लो पार्टी विभाजनपछि पनि यादव पार्टी कमजोर बनेको स्वीकार्दैनन् । खासगरी मधेसमा पार्टी विभाजन नभएको जिकिर गर्दै आएका उनले भन्ने गरेका छन्, “पार्टी एकताबद्ध नै छ । जो साथीहरू हिँडे, उनीहरूको छुट्टै पार्टी छैन ।”

तर, यादवले जे भनेपनि उनको पार्टीबाट निर्वाचित सात सांसद हिँडेका छन् । १२ सांसदमध्ये ७ अर्थात् बहुमतले छाड्नु अपूरणीय क्षति हुँदै हो । त्यसो भए यो महाधिवेशनपछि जसपा नेपालले गुमेको साख फर्काउन सक्छ त ?

यसमा राजनीतिक विश्लेषक तुलानारायण साहलाई शङ्का छ । मधेसका दल मिलेर बस्नै नसकेको दृष्टान्त सुनाउँदै उनले भने, “एकठाउँ मिलेर बस्नै नसकेपछि कहाँबाट पार्टी बलियो बन्छ र गुमेका साख फर्कन्छ,” उनले भने, “भर्खरै महन्थ ठाकुर र राजेन्द्र महतोको हालत पनि देखिहाल्यौँ ।”

अर्का राजनीतिक विश्लेषक सुरेन्द्र लाभलाई पनि महाधिवेशनपछि जसपा नेपालले गुमेको साख फर्काउने विश्वास लाग्दैन । “यो महाधिवेशन औपचारिकतामा सीमित हुनेजस्तै देखिन्छ,” उनले भने ।

मधेसमा नेतालाई सत्ताबाहिर हुँदा मात्रै मधेसको याद आउने विश्लेषक लाभको ठम्याइ छ । उनले भने, “हामीकहाँ दलहरूको महाधिवेशन नेतामुखी नै हुन्छ । त्यहाँ महाधिवेशन प्रतिनिधिले भनेको कुरा खासै पास नै हुँदैन, नेताहरूले जे भन्छन् त्यही पारित हुन्छ । यस्तो अवस्थामा तल्लो तहका नेता/कार्यकर्ताले चाहेको हुँदैन र पार्टी बन्दैन । जसपा नेपालको यो महाधिवेशन पनि त्योभन्दा माथि उठ्दैन जस्तो लाग्छ ।”

निरीह उपेन्द्र !

विश्लेषक लाभले भनेझैँ जसपा नेपालको यो महाधिवेशनमा त्यस्तो खासै उलटफेर केही हुनेजस्तो भने देखिँदैन । अध्यक्षमा यादवले नै सर्वसम्मत रूपमा निर्वाचित हुन खोजेका छन् । त्यसअनुरूप उनले पार्टीका नेताहरूलाई निर्देशन गरेका छन् ।

तर, पार्टीभित्र यादवको कार्यशैली र प्रवृत्तिप्रति असहमति जनाउने नेताहरू छँदै छन् । तर, यो सङ्ख्या अहिले घटेको बताइन्छ । वैशाख २३ गते मात्रै अशोक राई, इस्तियाक राई, रेणु यादव, प्रदीप यादवलगायतले पार्टी छाडेपछि त पार्टीभित्र आलोचना गर्ने नेताहरू कम भएका छन् । यसकारण पनि अध्यक्षमा यादव आउन सक्छन् ।

जे होस्, गुमेको पार्टीको साख फर्काउनका लागि बहुमत महाधिवेशन प्रतिनिधिको सुझावअनुरूप नीति बनाउनुपर्छ तर, अध्यक्ष यादव त्यसरी तयार होलान् भन्नेमा स्वाभाविक शङ्का उत्पन्न हुन्छ । किन पनि भने यादवले त्यहीखाले राजनीतिक व्यवहार देखाउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved