७८ महिनापछि मधेस सरकारबाट जसपा ‘विस्थापित’

प्रादेशिक संरचना लागू भएयता राजनीतिक स्थिरता कायम रहेको मधेस प्रदेश सभामा अब राजनीतिक अस्थिरताले प्रवेश पाएको छ ।

नेपालभ्युज

७८ महिनापछि मधेस सरकारबाट जसपा ‘विस्थापित’

काठमाडौं । प्रादेशिक संरचना लागू भएपछि २०७४ सालमा भएको पहिलो निर्वाचनपछि तत्कालीन प्रदेश नं. २ (हालको मधेस प्रदेश) मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल (हालको जनता समाजवादी पार्टी (जसपा), नेपाल) को सरकार बन्यो । र, त्यो सरकार प्रादेशिक कार्यकालको पूरै अवधि रह्यो । मुख्यमन्त्रीका रूपमा पाँचै वर्ष जसपा नेपालका नेता लालबाबु राउत रहे ।

यसपछि २०७९ मंसिर ४ गते दोस्रो निर्वाचन भयो । त्यसपछि पनि जसपा नेपालकै नेतृत्वमा सरकार बन्यो । मुख्यमन्त्रीका रूपमा जसपा नेपालका नेता सरोजकुमार यादव रहे । अर्थात् प्रादेशिक संरचना लागू भएपछि मधेसमा जसपा नेपालकै सरकार थियो । यसरी हेर्दा मधेस लगभग ७८ महिना जसपा नेपालकै नेतृत्वमा सरकार चल्यो ।

तर, बुधबार (आज) बाट जसपा नेपाल मधेस प्रदेशबाट ‘विस्थापित’ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज साँझ प्रदेशसभा बैठकबाट पाँचौँपटक विश्वासको मत लिएका थिए तर, पाएनन् । उनले ‘विश्वासको मत पाउँ’ भनी राखेको प्रस्तावको पक्षमा ५० सांसदले मात्रै समर्थन जनाए । उनलाई उनको दल जसपा नेपालसहित नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले पक्षमा मतदान गरे ।

यता नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीले भने विपक्षमा मतदान गरेका थिए । यसपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाएनन् । यससँगै उनी नेतृत्वको सरकार ढल्यो । अब त्यहाँ केन्द्रीय सत्ता समीकरणअनुसार एकठाउँ रहेका एमाले-माओवादी केन्द्र गठबन्धनले सरकार बनाउनेछन् ।

मधेस प्रदेशका मुख्यमन्त्री यादव पदमुक्त, पाएनन् विश्वासको मत

७८ महिनापछि प्रदेश सरकारबाट विस्थापित हुनुपरे पनि त्यसलाई सामान्य रूपमा लिएको जसपा नेपालका नेताहरूले बताएका छन् । “यसलाई सामान्य रूपमा लिएका छौँ । सरकार बन्ने, भत्किने एउटा लोकतान्त्रिक प्रणाली हो । त्यसकारण धेरै भन्नु केही छैन,” जसपा नेताहरूले प्रतिक्रिया दिएका छन् ।

मधेसमा अस्थिरता सुरु

जसपा नेपाल मधेस प्रदेशबाट विस्थापित भएसँगै अब त्यहाँ पनि राजनीतिक अस्थिरता सुरु भएको छ । प्रादेशिक संरचना लागू भएयता राजनीतिक स्थिरता कायम रहेको मधेस प्रदेश सभामा अब राजनीतिक अस्थिरताले प्रवेश पाएको छ ।

अरु प्रदेशहरूमा केन्द्रीय सत्ता समीकरण र फेरबदलले प्रभाव पारिरहँदा मधेसलाई त्यसले छुँदैनथ्यो तर, अब भने सम्भवत: मधेसलाई हरेक केन्द्रीय सत्ता समीकरण र फेरबदलले प्रभाव पार्नेछ । जे होस्, अब त्यसको सुरुवात भयो ।

अब मधेसमा पनि अस्थिरता !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved