जसपा नेपालको महाधिवेशन

अध्यक्षमा उपेन्द्रलाई राजकिशोरले टक्कर देलान् ?

उपेन्द्र सर्वसम्मत रूपमा पुन: अध्यक्ष दोहोरिन चाहन्छन्, बिनाअवरोध अध्यक्ष छानिन चाहन्छन् । राजकिशोर पार्टी अध्यक्षमा उपेन्द्रलाई टक्कर दिन चाहन्छन् । उनले यसबारे आफूनिकटका नेतासँग शनिबार छलफल गर्न लागेका छन् ।

अध्यक्षमा उपेन्द्रलाई राजकिशोरले टक्कर देलान् ?

काठमाडौं । केही समयअघि मात्रै विभाजनको सामना गरेको जनता समाजवादी पार्टी, नेपाल महाधिवेशनमा होमिँदैछ । जसपाको महाधिवेशन जेठ २७ देखि २९ सम्म जनकपुरधाममा हुँदैछ ।

अहिले जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव छन् । उपेन्द्र सर्वसम्मत रूपमा पुन: अध्यक्ष दोहोरिन चाहन्छन्, बिनाअवरोध अध्यक्ष छानिन चाहन्छन् ।

तर, उपेन्द्रको यो चाहनामा राजकिशोर यादव ‘बाधक’ देखिँदैछन्; चर्चा यही छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिसमेत रहेका राजकिशोरले पार्टी नेतृत्वमा पनि आकाङ्क्षा देखाएका छन् ।

यसबारे नेपालभ्युजले राखेको जिज्ञासामा राजकिशोर धेरै बोल्न खोजेनन् तर, सङ्केत भने गरे । “पार्टीले भर्खरै विभाजन भोगेको छ । यस्तोमा पार्टीलाई एकजुट बनाएर लाने भन्नेमा नै केन्द्रित छौँ । त्यो कसरी हुन्छ भन्नेबारे छलफलरत छौँ,” राजकिशोरले भने ।

नेतृत्वमा तपाईंको आकाङ्क्षाचाहिँ हो कि होइन ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “अहिले कसरी हिँड्ने भन्नेबारे छलफलमा छौँ, भनिहालेँ मैले ।” त्यसो त राजकिशोर पार्टी अध्यक्षमा उपेन्द्रलाई टक्कर दिन चाहन्छन् । उनले यसबारे आफूनिकटका नेतासँग शनिबार छलफल गर्न लागेका छन् ।

यता पार्टी प्रवक्ता मनीष सुमन भने पार्टी अध्यक्षमा उपेन्द्र नै सर्वसम्मत हुने दाबी गर्छन् । “पार्टीभित्र अध्यक्षको एक्ला दाबेदार उपेन्द्रजी मात्रै हो, अरु दाबेदारी छैनन्,” उनले भने ।

राजकिशोरबारे सुनाउँदा प्रवक्ता सुमनले आफूलाई जानकारी नभएको बताए । तर, अध्यक्षमा उपेन्द्रबाहेक कोही नआउने जिकिर गरे । “उहाँ नै बिनाअवरोध अध्यक्ष चुनिनुहुन्छ, राजकिशोरजीको प्रसङ्ग थाहा भएन,” उनले भने ।

त्यसो त उपेन्द्रले पार्टी एकताका नाममा महाधिवेशन टार्दै आएका छन् । उनले आफ्नो पार्टी जीवनमा महाधिवेशनको सामना एकपटक मात्रै गरेका छन् ।

२०५४ सालमा एउटा सामाजिक संस्थाको रूपमा गठन भएको तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालको पहिलो महाधिवेशन २०६० साउन १० र ११ गते  विराटनगरमा भएको थियो ।

त्यहाँबाट यहाँसम्म आइपुग्दा फोरम जसपाको रूपमा छ । त्यसयता उपेन्द्रले विभिन्न पार्टीसँग एकता गर्दै महाधिवेशन टार्दै आएका छन् । उपेन्द्रले पहिलो महाधिवेशनको सामना गरेको २१ वर्षपछि दोस्रो महाधिवेशन खेप्दैछन् । जहाँ, राजकिशोरले टक्कर दिने आकाङ्क्षा देखाएका छन् ।

कतिपयले राजकिशोरले ‘बार्गेनिङ्ग’ गर्न खोजेको बताउँछन् । जसपाका एक नेताको ठम्याइ पनि यही छ । उनी राजकिशोरको नाम नलिइ भन्छन्, “कतिपय साथीले बार्गेनिङ्ग गर्न खोजिरहनुभएको हो कि भन्ने मेरो निष्कर्ष छ ।”

अशोक राईले पार्टी फुटाएपछि सङ्घीय परिषद् अध्यक्षको पद रिक्त छ । परिषद् अध्यक्ष उनै राई थिए । राईले पार्टीलाई दुई फ्याक बनाएसँगै परिषद् अध्यक्षसँगै अन्य पदाधिकारीको पद पनि रिक्त छ । ती नेताको अर्थ्याइ पनि यस्तै छ ।

जेका लागि भएपनि राजकिशोरले आकाङ्क्षा देखाएका छन् । उनको यो आकाङ्क्षा प्रतिस्पर्धासम्म पुग्छ कि बार्गेनिङ्गसम्म मात्रै, हेर्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved