रोस्ट्रममा स्वर्णिम पुग्दा कांग्रेसको स्वर झन् चर्को, ‘औचित्यहीन विरोध’ भन्दै स्वर्णिमको खेद

वाग्लेले सम्बोधनका क्रममा जब बीपीको नाम लिए, कांग्रेस सांसदहरूको नाराबाजी झन् चर्को बन्यो । मानौँ, उनीहरूको प्रिय वस्तु कसैले हडपेर लैजान आँटेको छ ।

नेपालभ्युज

रोस्ट्रममा स्वर्णिम पुग्दा कांग्रेसको स्वर झन् चर्को, ‘औचित्यहीन विरोध’ भन्दै स्वर्णिमको खेद

काठमाडौं । नेपाली कांग्रेस छाडेर धेरै नेता राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे । तर कांग्रेस पंक्तिबाट स्वर्णिम वाग्लेले जति सार्वजनिक आलोचना सायदै अरुले खेप्नुपर्‍यो । वाग्लेप्रति कांग्रेसमा रहेको तिक्तता आइतबारको प्रतिनिधि सभा बैठकमा पनि प्रकट भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधि सभा बैठकमा छलफल हुँदै थियो । त्यसैक्रममा रास्वपाका सांसद वाग्लेले समय पाए ।

त्यतिञ्जेल नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो । सभामुखले अर्थमन्त्री बर्षमान पुनलाई आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्न समय दिएपछि नै कांग्रेसका सांसदहरू वेल घेराउ गर्न अघि बढेका थिए । तैपनि मन्त्री पुनले नाराबाजीका बीच सर्वेक्षण पेश गरेका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम टेबल गरेका थिए ।

नाराबाजी जारी रहँदा रोस्ट्रम पुगेका थिए, वाग्ले । सुरुवातमा मूल विषय (नीति तथा कार्यक्रम)तिर नलागी उनी कांग्रेसको अवरोधको प्रतिवाद गर्नतिर लागे । भन्न थाले, ‘यो असहज वातावरणमा यसरी गरिमामय संसद्‌मा उपस्थित भएर बोल्नुपर्ला जस्तो मलाई लागेको थिएन ।’

अनि उनले कांग्रेसका शिखर पुरुष बीपीको सम्झना गरे । ‘नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा, मेरा त राजनीतिक आदर्श, बीपी कोइरालाले ६५ वर्षअगाडि स्थापित गर्नुभएको मानकलाई आज… आज… आज यो अवस्थामा, यो अवस्थामा पुर्‍याउनलाई यो लज्जास्पद… यो लज्जास्पद… यो लज्जास्पद… यो लज्जास्पद, यो औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ, मेरो घोर खेद छ’, उनी भनिरहेका थिए ।

वाग्लेले सम्बोधनका क्रममा जब बीपीको नाम लिए, कांग्रेस सांसदहरूको नाराबाजी झन् चर्को बन्यो । मानौँ, उनीहरूको प्रिय वस्तु कसैले हडपेर लैजान आँटेको छ ।

चर्को आवाजसँगै कांग्रेस सांसदहरूले वाग्लेकेन्द्रित ‘हुटिङ’ गरेको प्रतिनिधि सभाको प्रत्यक्ष प्रशारणमा पनि देखिएको थियो । त्यसक्रममा उनीहरू वाग्लेतर्फ फर्केर हात पनि उठाइरहेका थिए ।

वाग्लेले पनि आफ्नो आवाजलाई थप ठूलो बनाएर बोलिरहेका थिए । कांग्रेसको नाराबाजीलाई ‘संसद्को ओझ, संसद्को गरिमा, संसद्को उपादेयतालाई असान्दर्भिक बनाउने कदम’ भन्दै उनले असहमति सुनाए ।

उनले सहकारीको समस्या समाधान गरिनुपर्ने बताए । उनले सहकारीमा बचत गर्ने ७४ लाख बचतकर्ताहरूको समस्या समाधान गर्ने हो कि व्यक्तिकेन्द्रित खराब नजिर बनाउने ? भन्दै कांग्रेसप्रति प्रश्न तेर्स्याए ।

मूल विषय छाडेर बोल्न थालेपछि सभामुखले वाग्लेलाई मूल विषयमा केन्द्रित भएर अभिव्यक्ति दिन सचेत गराए । तर उनले आफ्नो धारणा पूरा गरेरै छाडे ।

‘संसदीय छानबिन समिति बनाउन सहमति भइसकेको छ’, वाग्लेले भने, ‘यो औचित्यहीन र कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन । (संसदीय छानबिन समितिको) टीओआरमा नेगोसियसन चलिरहेको छ । एउटा दुइटा शब्दमा गएर अड्किएको छ । यो औचित्यहीन कर्मकाण्डका लागि म खेद प्रकट गर्न चाहन्छु ।’

सभामुखले दोस्रो पटक पनि विषय केन्द्रित हुन आग्रह गरे । त्यसपछि भने उनले नीति तथा कार्यक्रमको बचाउ गर्न थाले । नीति तथा कार्यक्रमप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको जानकारी पनि गराए ।

२०७९ मा कांग्रेसले तयार पारेको घोषणापत्रको मस्यौदा उपसमितिको संयोजक थिए वाग्ले । निर्वाचनमा टिकटको आकांक्षी रहेको भए पनि पाएका थिएनन् । २०८० वैशाखमा हुँदै गरेको उपनिर्वाचनअघि उनी रास्वपा प्रवेश गरेर निर्वाचित पनि भएका थिए । त्यसपछि नै उनी कांग्रेसको तारोमा पर्ने गरेका छन् । उनले पनि कांग्रेसपछि कटाक्ष व्यक्त गर्ने गरेका छन् । आइतबारको प्रतिनिधि सभामा त्यसैको प्रतिबिम्ब देखिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved