‘बजेट पढ्ने बेलासम्म संसद्‌को अवरोध हट्छ’

नेपालभ्युज

‘बजेट पढ्ने बेलासम्म संसद्‌को अवरोध हट्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट पढ्ने बेलासम्म संसद्‌को अवरोध हट्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । “मलाई विश्वास छ कि आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ र संसद्‌को अवरोध हट्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने ।

संवैधानिक प्रावधानअनुरूप बजेट जेठ १५ अर्थात् पर्सिसम्म संसद्‌मा पेस हुनुपर्छ । प्रधानमन्त्री प्रचण्डले त्यस बेलासम्म संसद्‌को अवरोध हट्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामो समययता संसद् अवरोध गर्दै आएको छ । आजको बैठकमा कांग्रेस सांसदहरूको नाराबाजीकै बीच नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबारको संसद्‌ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड ।

कांग्रेसले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी रहेको दाबी गर्दै उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । कांग्रेसको अडान नकार्न नसकेर सत्तापक्षीय दलहरू समिति बनाउन सहमत त भएका छन् तर, समितिको कार्यादेश (टीओआर) अगाडि नै बन्नुपर्ने सर्त राखेका छन् ।

जसबमोजिम टीओआर बनाउन कार्यदल बनेको छ तर, टुङ्गिएको छैन । त्यहाँ कांग्रेसले टीओआरमा नै गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान राखेको छ भने सत्तापक्षीय दलहरू त्यसमा सहमत छैनन् । उनीहरूले गृहमन्त्री लामिछानेको नामको साटो उनी मुछिएको भनिएको सहकारीहरूको नाम राख्न भनेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यही आग्रह गरेका थिए । तर, देउवाले मानेनन् । यसपछि विषय ज्यूँका त्यूँ छ । यही मेसोमा प्रधानमन्त्री प्रचण्डले दुई दिनपछि संसद्‌को अवरोध हट्ने विश्वास व्यक्त गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved