चिनीको मात्रा बढेपछि केजरीवाललाई इन्सुलिन दिइयो

नेपालभ्युज

चिनीको मात्रा बढेपछि केजरीवाललाई इन्सुलिन दिइयो

काठमाडौं । कथित मदिरा घोटाला प्रकरणमा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक इन्सुलिन खुवाइएको छ ।

आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

केजरीवाललाई मधुमेह र इन्सुलिनको आवश्यकतालाई लिएर आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा)बीच चर्को आरोपप्रत्यारोप भएको थियो ।

भारद्वाजले भने, ‘अन्तत: कारागार प्रशासनले मुख्यमन्त्रीलाई चिनी बढेको भन्दै इन्सुलिन दिएको खबर आएको छ। आज देशको राजधानीका मुख्यमन्त्रीलाई इन्सुलिनका लागि अदालत पनि जानुपरेको छ।’

‘भाजपा र केन्द्र सरकारका अधिकारीहरू भन्छन् सबै कैदी समान हुन्, तिहाडका सबै कैदीहरू इन्सुलिनको लागि अदालतमा जानु पर्छ ? के यसका लागि टिभी र पत्रपत्रिकामा बहस गर्नुपर्छ ?’ भारद्वाजले थप भने ।

म दैनिक इन्सुलिन माग्छु, तिहाड जेलले मिठाई खाइरहेको बयान दियो : केजरीवाल

भारद्वाजले अर्को ट्वीटमा भने, ‘आज यो स्पष्ट भयो कि मुख्यमन्त्री सही थिए, उहाँलाई इन्सुलिन चाहिएको थियो । तर, बीजेपी केन्द्र सरकार मातहतका अधिकारीहरूले जानाजानी उनको उपचार गर्दैनन्।’

तिहाड जेलका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले केजरीवाललाई एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ कम डोज इन्सुलिनको दुई चक्की खुवाइएको जनाएको छ।

सोमबार साँझ ७ बजे केजरीवालको रगतमा चिनीको मात्रा २१७ पुगेको अधिकारीहरूले जनाएपछि डाक्टरहरूले उनलाई इन्सुलिन दिने निर्णय गरेका थिए ।

यसअघि केजरीवालले तिहाड जेलका सुपरिटेन्डेन्टलाई चिठ्ठी लेखेर उच्च चिनी भएपनि इन्सुलिन नपाएको बताएका थिए ।

केजरीवाललाई मदिरा नीतिमा कथित घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो। उनी अप्रिल १ देखि तिहाड जेलमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved