कतारका राजा अल थानी आज नेपाल आउँदै, विमानस्थल पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने

नेपालभ्युज

कतारका राजा अल थानी आज नेपाल आउँदै, विमानस्थल पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।

उनी साँझ साँढे ५ बजे काठमाडौं ओर्लिने कार्यतालिका छ । उनी फिलिपिन्सबाट बंगलादेशको भ्रमण गर्दै नेपाल आउन लागेका हुन् । अल थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्ने छन् ।

कतारी राजाले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गरेका छन् ।

अमिर शेख तमिमले बुधबार भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।

कतारी राजाको भ्रमणका क्रममा प्रधानमन्त्री र राष्ट्रपति दुबैले हमासले बन्धक बनाएको भनिएका कैलालीका विपिन जोशीको रिहाइकालागि आग्रह गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको सचिवालयले जोशीको रिहाइको विषयलाई प्रधानमन्त्री प्रचण्डले छलफलको बुँदामा समेटेको बताएको छ ।

कतारी राजाको सम्मानमा नेपाल सरकारले आज देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

थानीको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनी बुधबार राति नै नेपालबाट स्वदेश फर्किने छन् ।

अरब मुलुकबाट नेपालमा हुन लागेको यो नै अहिलेसम्मको उच्चस्तरको भ्रमण हो । नेपालबाट भने तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल कार्तिकमा कतारको भ्रमण गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved