बुद्धचित्तमाथि अपराधीको आँखा : ‘मैले दाना पाइनँ भने कसैको हुँदैन’ भन्दै आएको थियो धम्की

३५ वर्ष लगाएर हुर्काएको रुख क्षणभरमा स्वाहा

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार अनुसन्धानका क्रममा एक महिनाअघि धम्की आएको थियो । “यदि मैले दाना पाइनँ भने त्यो कसैको हुँदैन” भन्ने आशयको धम्की आएको थियो

नेपालभ्युज

बुद्धचित्तमाथि अपराधीको आँखा : ‘मैले दाना पाइनँ भने कसैको हुँदैन’ भन्दै आएको थियो धम्की

काठमाडौं । पछिल्लो समय अपराधका शैलीहरू फेरिए । सुन्नै नसकिने घटनाहरू हुन थाले । सुन्ने र देख्नेकै भक्कानो छुटाइदिन्छ भने भोग्नेहरूको हालत के होला ? सोच्नसम्म मात्रै सकिन्छ ।

बुद्ध धर्मसँग जोडिएको पवित्र मालाको वृक्षसमेत अपराधको सिकार बन्यो । काभ्रेको रोसी गाउँपालिका ५ मा रहेको गुणस्तरीय दाना फल्ने झन्डै ३५ वर्ष पुरानो रुख आपराधिक गिरोहले काटिदियो । जुन रुखमा फल्ने दाना एक वर्षको लागि मात्रै ३ करोडमा रुपैयाँमा बेचिसकिएको थियो ।

मानिस यति क्रूर हुन थाले कि दन्त्य कथाहरूका पात्र राक्षसभन्दा कठोर र निर्दयी । किनकि बुद्धचित्तको बोट काटिँदा न त काट्ने अपराधीलाई फाइदा भयो, न त रुख धनीलाई । हरेक वर्ष करोडौँमा बिक्री गर्दै आएको मालाको रुख अज्ञात समूहले काटेको घटनाको नालीबेली ।

०००

काभ्रेको रोशी गाउँपालिका ५, सीसाखानीका ठाकुरानी तामाङको बारीमा बुद्धचित्तका करिब २० वटा रुख छन् । सबैमा ढकमक्क बुद्धचित्त फूल फुलेको छ । अबको एक महिनामा फल लटरम्म लाग्छ । साउनतिर दाना टिप्नुपर्ने हुन्छ । तर, बिहीबार राति गिरोहले मुख्य बोट नै काटिदियो ।

बोटको स्वामित्व ठाकुरानीका चारै जनाको सङ्गोलको हो । ठाकुरानीका चारजना छोराहरू छन् । जेठा शेरबहादुर, माइला तामाङ, धनबहादुर र निरबहादुर तामाङ छन् । शेरबहादुर काठमाडौं बस्छन् । उनी काठमाडौं नै थिए । घटना हुँदा बिहीबार घरमा धनबहादुर मात्र थिए ।

उनकी छोरी माइती आएकी थिइन् । २ जना बुहारी थिए । साना दुई/तीनजना केटाकेटी थिए । घर गाउँभन्दा अलि कोल्टे एकान्तमा थियो । राति १ बजेतिर बाहिर गाँइगुईं हल्ला सुनियो ।

धनबहादुर र परिवारले झ्यालबाट बाहिर हेरे । बाहिरबाट हतियार देखाउँदै कसैले चेतावनी दिँदै भन्यो, “बाहिर निस्कियौँ भने तिमीहरू मर्छौ ।’ बाहिरबाट ढोकामा चुकुल लगाएर थुनिदिएका थिए ।

बाहिर एक हुल मानिस थिए । लगतै बाहिरबाट विस्फोटको आवाज पनि आयो । त्यसपछि उनीहरू निस्कन सकेनन् । रुख काट्ने मेसिनको आवाज आयो । परिवारले थाहा पाए, “बदमासहरूले बुद्धचित्तको रुख सखाप पार्ने लागेछन् ।” धम्कीका बाबजुद बाहिर निस्कन खोजे । तर बाहिरबाट चुकुल लगाइएको थियो ।

काभ्रेमा अज्ञात समूहले काट्यो बुद्धचित्तको रूख, ३ करोडमा भइसकेको थियो बिक्री

विस्फोटको आवाज र रुख काट्ने मेसिनको आवाज आएपछि गाउँलेहरूले पनि बुद्धचित्तको रुख काट्न आएको चाल पाएका वडाध्यक्ष नीरध्वज तामाङले बताए । उनले नेपालभ्यूजसँग भने, “गाउँलेहरूले स्थानीय प्रहरी चौकीमा खबर गरे । प्रहरी आउँदा फूल फूल्दै गरेको बुद्धचित्तको ठुलो रुख ढलिसकेको थियो । रुख काट्ने गिरोह फरार भइसकेको थियो । प्रहरी आएपछि हेर्दा घरको ढोका अगाडि बम थियो । पछि आर्मी आएर डिस्पोज गरे ।”

२० वटा जति रुखमध्ये सबैभन्दा पुरानो रुख काटिएको हो । स्थानीय भन्छन्, “२० जति रुख थियो । तर, सबैभन्दा पुरानो रुख काटिएको छ । जुन तीस-पैँतीस वर्ष पुरानो थियो । अरू नयाँ बोटहरूमा थोरै फल्थ्यो । गुणस्तर पनि कम फल्थ्यो । तर, पुरानो बोटमा गुणस्तरीय दाना फल्थ्यो । त्यही बोट काटिदिएछन् । त्यहाँ बोराका बोरा दाना लाग्थ्यो । अघिल्लो वर्ष डेढ करोडमा बेचिएको थियो’ यसवर्ष तीन करोड रुपैयाँमा बेचिएको रहेछ ।”

ठाकुरानी तामाङको नामबाट अघिल्लो साल त्यही रुखबाटै ९० लाख रुपैयाँ कारोबार भएको कर तिरेको वडाध्यक्ष तामाङ बताउँछन् ।

उनले भने, “जति मूल्यमा बेचियो त्योभन्दा थोरै मूल्य राखेर कर तिर्दैआएका छन् । अघिल्लो साल एकै रुखबाट ९० लाखको कारोबार भएको भन्दै कर तिरेका थिए ।”

घटनास्थलमा जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट, हँसिया हतौडा अङ्कित झन्डा र मट्टितेल फेला परेको छ । तर, सोही समूहका कार्यकर्ता नै हुन् वा अरू कसैले ती वस्तु राखिदिएको हो भन्ने अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

उक्त रूख केही महिनाअघि नै करिब तीन करोड रुपैयाँमा बिक्रीसमेत भइसकेको खुलेको छ । समीर त्रिपाठी नामका व्यापारीलाई सो रूख ३ करोड रुपैयाँ ठेक्कामा लगाइएको पाइएको प्रहरीले जनाएको छ ।

बजारमा निकै राम्रो मानिने बुद्धचित्तको दाना त्यही रुखमा फल्यो । त्यसैले यो लिनलाई व्यवसायीबीच हानथाप हुँदै आएको थियो । शेरबहादुर तामाङले एक व्यापारीलाई त्यो रुख बेचेपछि उनलाई फोन तथा म्यासेज गरेर पटक-पटक बुद्धचित्त मालाका कारोबारीले धम्क्याएका थिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार अनुसन्धानका क्रममा एक महिनाअघि धम्की आएको थियो । “यदि मैले दाना पाइनँ भने त्यो कसैको हुँदैन” भन्ने आशयको धम्की आएको थियो ।

फागुन २२ मा फेसबूकमार्फत ‘गेम ईज ओभर’ भन्दै म्यासेज आएको प्रहरीले जनाएको छ । धम्क्याउने ती व्यक्ति पक्राउ परेको स्रोतले बताएको छ ।

नेपालसहित विश्वमा बौद्ध धर्मावलम्बीले बुद्धचित्तको माला मन्त्र जप्न प्रयोग गर्छन् । ठूला लामा गुरुहरूले यसको प्रयोग गर्दा शान्ति प्राप्ति हुने विश्वास बाँडेका कारण पनि माग बढेको हो ।

ल्हासा, तिब्बतलगायत चिनियाँ बजारमा यसको धार्मिक महत्त्व भएकाले अधिकांश नेपाली माला उतैतिर निकासी हुन्छ । त्यस्तै, तिब्बतमा बुद्धचित्तको दाना मात्र प्रयोग गरी ठूलो गुम्बा निर्माण भइहरेकाले यसको माग उच्च भएको लामा गुरुहरूले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved